अन्तवार्तामनोरन्जनसमाचार

भएका पैसा सकिदैछ, आउने बाटो बन्द छ : निर्देशक पोखरेल

पोखरा। म्युजिक भिडियो निर्देशक हुन् विभोर पोखरेल । उनले हालसम्म एक हजारको हारहारीमा म्युजिक भिडियो निर्देशन गरिसकेका छन । पुख्र्योली घर सर्लाही भएका ३८ वर्षिय पोखरेल जनकपुर जन्मे हुर्के । सानैबाट कलाकारितामा बढी रुचि राख्ने उनलाई क्रिकेट खेल्न र संगीत सुन्न औधी मन पर्छ । म्युजिक भिडियो निर्देशनमा उनी लागेको १२ वर्ष नाघिसक्यो । अबको उनको लक्ष्य चलचित्र निर्देशनमा स्थापित हुने हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ का कारण उनले काम गर्ने क्षेत्रमा समेत अन्यौलता छाएको छ । उनै निर्देशक विभोर पोखरेलसँग पोखरा न्यूज डट कमका लागि राजाराम पौडेलले गरेको कुराकानी :–

कोरोनाले म्युजिक भिडियो निर्देशन क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?

अहिलेको समस्या ब्यक्तिगत, सामाजिक वा कुनै भूगोल विशेषको होईन, मानवजगत कै सामुहिक समस्या हो । अस्तित्व माथी कै लडाइँ भएको कारण सबै ब्यक्ति, क्षेत्र यसको शिकार हुनुपरेको छ । आज लगभग तीन महिना बित्यो, हाम्रो पेशा पनि पुर्णरुपले लकडाउनमा छ । भौतिक दुरि, कोभिड-१९ विरुद्ध लड्न अपरिहार्य भएका कारण हाम्रो पेशा त्यसको चपेटामा पर्नु स्वभाविक पनि हो । धेरै जनाको सामुहिक मेहनतको जरुरत पर्दछ, एउटा गीतको भिडियो बनाउन, वा चलचित्र बनाउन । हामी निर्देशन गर्नेले आफ्नो सोचलाई पर्दामा उतार्न धेरैका सीप, परिश्रम र ज्ञानलाई जोड्नु पर्ने हुन्छ । जब सामाजिक दुरिमा बस्नुपर्ने बाध्यता हुन्छ, त्यसले एउटा निर्देशकको सोचलाई पनि लकडाउन हुन बाध्य पार्दछ ।

यो समस्यासँग कसरी जुध्न सकियला ?

मेरो बुझाइमा समस्या भनेको जिवनको एउटा अंश हो, जसले कुनै पनि ब्यक्तिलाई जिवनभर छड्नेवाला छैन तर तिनको प्रकृति ब्यक्ती वा समयानुसार फरक फरक हुने गर्दछ । अहिलेको कोभिड १९ ले सृजना गरेको समस्या भने गहिरो छ र यसको प्रभाव लामो समयसम्म रहिरहन पनि सक्दछ, त्यसको निर्धारण आउने दिनहरुले गर्ने नै छ ।

कर्म बिना बाच्न सकिन्न किनकी हाम्रो अस्तित्व कर्मसँग जोडिएको छ । जब समस्या आउँछ, त्यसले समाधानका बाटाहरु पनि क्रमिक खोल्दै जान्छ नै । अब हामी पनि लामो समय यसरी बस्न सक्दैनौ । मामको लागि नै भएपनी कर्म तिर लाग्नै पर्छ । सबै कुरो सामान्य नहुन्जेल आफ्नो क्षमतालाई घरै बसेर बडाउने, नयाँ–नयाँ प्रविधिलाई नजिकबाट बुझ्ने, अरुहरुको काम हेर्ने र आफ्ना कमि कमजोरीलाई चिन्ने आदि गरियो भने पक्कै आउने दिनमा हामीलाई धेरै फाईदा दिने नै छ किनकि समस्या नै प्रगतीको मार्गदर्शक हो जस्तो मलाई लाग्छ । यो बाहेक सानो समूह मिलेर पनि काम गर्दै जान सकिन्छ वा घरै बसेर पनि आफुले जानेको कुरोलाई युट्युब वा यस्तै माध्यमबाट गर्दै जान सकियो भने केही हदसम्म आर्थिक लाभ पनि हुन सक्दछ ।

कोरोनाले हामीलाई सिकाएको सकारात्मक पक्ष केही छन् ?

समस्या आफैमा गलत मात्र हुँदैन । यसले मान्छेलाई संघर्ष गर्न पनि सिकाउँछ । परिवर्तित समय र सोचमा स्वयमलाई ढाल्न पनि सिकाउँछ । समस्याले हरेकको अगाडि सयौं बाटाहरु खोल्दिन्छ तर सम्यम र धैर्यता अपरिहार्य छ ।

अनि नकारात्मक पक्ष नी ?

समस्याको रुप नकारात्मक हुन्छ । हरेक ब्यक्तिको सोच र बिचार एउटै हुदैन तेहि भएर धेरै लडेपछी उठ्न सक्दैनन् । समस्याले आउने दिनहरु प्रष्ट पार्न सहयोग गर्छ भने वर्तमानमा चाहिँ दुस्ख नै दिन्छ । अहिले कोभिड १९ ले गर्दा हरेकको मनमा त्रास छ । के हुनि हो, कसो हुनि हो ले मनमा डेरा जमाएको छ, सायद हामी पनि त्यसबाट अछुतो छैनौ किनकी अहिलेको समस्या कति लामो हुन्छ भनेर यकिनका साथ भन्न सक्ने अवस्था छैन । भएका पैसा सकिदैछ र आउने बाटो बन्द छ । ब्यक्ति आफू मात्र हुदैन, उसको परिवार पनि हुन्छ र सबैको दायित्व बहन गर्नुपर्ने भएका कारण यसले मानसिकरुपमा पनि हानी पर्न सक्दछ । घरैमा थन्किनु पर्ने र दैनिकी खाली हुँदा, स्वास्थमा पनि नोक्सानी हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

अबको बाटो के हुन सक्छ ?

मेरो ब्यक्तिगत बुझाईमा समाजमा धेरै परिवर्तन आउन सक्ने सम्भावना छ । हाम्रो सोच र कदम परिवर्तन हुन सक्छन् । मान्छेहरुले पेशा परिवर्तन गर्ने सम्भावना पनि उत्तिकै छ । हाम्रो पेशाको कुरा गर्दा, धेरै लामो असरबाट गुज्रिनु पर्ने भएका कारण यकिन साथ कुनै निर्णयमा पुग्न सकिने सम्भावना अहिले छैन । तर आफुले जानेको कुरोलाई मर्न दिनु चाहिँ हुदैन हामीले । हाम्रो पेशा मनोरञ्जनको ठुलो माध्यम हो र यदाकदा सामाजिक दायित्व पनि बहन गरि राखेको हुन्छ । मान्छेलाई हौसला दिने, सकारात्मक तवरले आफ्नो सामाग्री पस्कदै अघि बढ्यौ भने समय आफू अनुकुल अझ चाडो हुन सक्छ ।

पुरानै अवस्थामा फर्किने सम्भावना कतिको छ ?

हाम्रो युगले भोगेको सम्भवत यो पहिलो बिश्वब्यापी समस्या हो । कल्पना र यथार्थ फरक हुन्छन् । बितेको समय मृत हुन्छ त्यो अर्थमा हेर्दा अब आउने समय नौलो नै हुन्छ । तर ब्यवहारिक रुपमा हेर्ने हो भने म धेरै आशावादी छु कि चाडैं समाज सामान्य बन्दै जाने छ । जुन रौनक हिजो थियो त्यो अझ परिस्कृत भएर आउने छ । यदि यो कोभिड १९ को असर २,३ महिना भित्र समाधान हुँदै गयो भने, छिट्टै सबै सामान्यरुपमा जाने छ तर त्यसको निर्धारण यो समस्याको समयसीमामा भरपर्ने हुन्छ । अनि अर्को कुरो हामी मनुष्यको स्वभाव कुनै पनि कुरोमा चिरस्थाई प्रकृतिको हुँदैन । हामी कुनैपनी कुरो धेरै चाडैं बिर्सन्छौ । जसरी ७२ सालको भुकम्प आज एकादेशको कथा जस्तै बन्यो, यो कोभिड १९ पनि क्रमिक हाम्रो मस्तिष्कबाट हराउँदै जान्छ जस्तो मलाई लाग्छ ।

अब थोरै प्रसंग बदलौ, लामो समय भयो तपाई म्युजिक भिडियो निर्देशनमा लागेको, तपाईले निर्देशन गरेको म्युजिक भिडियो कती पुगे ? 

यो १२ वर्षको हारहारीको समयमा लगभग १ हजारको हारहारीमा पुग्यो, मलाई निर्देशनमा चिनाएको गीत प्रकाश तिमिल्सिनाको खल्ली भन्ने गीत थियो । रिवेल क्रियसनमा इनहाउस डाइरेक्टर भएर काम गर्ने मौका पाए । त्यहिबाट खल्ली भन्ने गीत बनाएपछि मानीसले चिने । त्यसपछि क्यारियर अगाडी बढ्यो । धेरै पछि कमल खत्रीको तस्विर भन्ने गीत निर्देशनले स्थापित हुन सघायो ।

नेपाली म्युजिक भिडियोको ट्रेन कस्तो छ ?

मैले एनलक टाइम त्यो पनि टेलिभिजन कार्यक्रम कल कान्तिपुरमा एउटा गीत प्रसारण भयो गायक हिट हुने समयमा क्यारियर सुरु गरे । हामीलाई भिजुअल कसैले बनाउन दिँदा पनि त्यो कल कान्तिपुरमा बज्छ कि बज्दैन सोध्र्थे । उनीहरुलाई अन्त बजे नबजेको भन्दा कान्तिपुरमा बज्नुपर्छ भन्ने हुन्थ्यो । हामी टेलिभिजनको ट्रेनबाट आयौँ । म आउँदा पनि गाह्रो थियो । म मिडियाको मानिस पनि थिइन । कान्तिपुर मिडियामा, इमेज टेलिभिजनमा, च्यानल नेपालमानै मेकर हुनुहुन्थ्यो । हामी बाहिरको मानिसलाई खासै पतयउदैनथे । लगानी गर्ने मानिसले प्रतिफल खोज्छ । मैले त्यतिबेला गायक भरत सिटौलाको माध्यमबाट धेरैलाई चिन्न पाए । कम लगानीमा बनाउनेहरु म कहाँ आउथ्यो । त्यो पनि मेरा लागि अवसर थियो । पछि रिवेल क्रियसनमा इन हाउस भएपछि रिवेलको काम भयो ।

काम देखाउने अवसर पाए । अहिले डिजिटल संसार आएको छ । हिजोको प्रमोसन गर्ने शैलि र अहिलेको प्रमोसन गर्ने शैलिमा फरक छ । प्रोमोको लागि समेत सुट गथ्र्यौ विज्ञापनको लागि । अहिले युट्युब आयो । ट्रेन्डिङ को कुरा छ । टिकटक छ । धेरै चिज छ । अहिले सिस्टमनै परिवर्तन भएको छ । अहिले म भन्दा पछाडि आएका भाइहरु हिट छन् । म छैन । उनीहरुले अहिलेको समयलाई बुझेर काम गरे । मेरो क्रियटिभिटि अहिलेको समय भन्दा पुरानो आयो होला । अब म सफल हुन मैले अबको जेनेरेसलाई फलो गर्नुपर्ने हुन्छ । अहिले म नयाँ पुस्तासँग उठबस गरिरहेको छु । समय अनुसार आफुलाई अपडेट गराउने हो । बल्ल सफल भइन्छ । म म्युजिक भिडियोको क्रेज भएको समयमा आए । आलोक नेम्वाङ, भुषण दाहाल चर्चामा भएको समय हो । क्रियटिभ काम त्यतिबेला हुन्थ्यो । अहिले प्रविधिने सजिलो बनायो ।

म्युजिक भिडियोमा काम गर्दाको चुनौती ?

चुनौती धेरै छ, क्रियटिभिटि जसमा पनि हुनसक्छ । कति आफैले सबै गर्दा हिट भएको र कति लाखौँ खर्च गर्दा पनि असफल भएका छन् । लगानी गर्ने वित्तिकै चिज राम्रो हुने होइन । क्रियटिभिटि कसरी दिनु हुन्छ त्यो महत्वपूर्ण हो । क्रियटिभिट छ भने चल्छ छैन भने चल्दैन । यति वर्ष अनुभव छ भनेर मात्र पुग्दैन ।

करियर अगाडि बढाउन अबको योजना के छ ?

अबको योजना भनेको चलचित्रमा निर्देशन गर्ने हो । म्युजिक भिडियो पश्चात कहाँ जाने त भन्दा चलचित्रनै ठुलो प्लाटफर्म हो । अहिलेसम्म ५ मिनेटको संसार थियो हामीले देखाउने । अब २ घण्टा हारहारीको दुनियामा जानेनै लक्ष्य छ ।

चलचित्र निर्देशनमा प्रस्ताव आएको छ, वा मात्र योजना बनाउनु भएको हो ?

मैले आजभन्दा आठ वर्ष अगाडिनै चलचित्र निर्देशन गरेको हो । विविध कारणले गर्दा त्यो आएन । ‘म अनि तिमी’ भन्ने चलचित्र थियो जुन अहिलेसम्म प्रर्दशन भएन । फाइनान्सियल कारण पनि रोकियो । काम सकिएको थिएन । जो निर्माता हुनुहुन्थ्यो उहाँले काम नसकिदै नसकेर छोड्नुभयो । धेरैपछि रिवेल क्रियसनले बाँकी लगानी म गरिदिन्छु सिध्याउ भनरे गगन दाईले भनेपछि गरेउ । तर त्यो चिजको दिन आएको थिएन होला । एउटा एउटा बाधा अर्चन आइराख्ने । त्यो लगभग रेडि छ । कुनै दिन आयो भने युट्युवमा आउँला । हलमा चल्दैन होला । हलमा रिलिज भयो भने मेरो करियरलाई पनि घाटा हुन्छ जस्तो मालई लाग्छ । किनकी त्यो अञ्जानमा बनाइएको चिज थियो ।

बिचमा धेरै चलचित्रको लागि कुराहरु आउथ्यो । तर मेरो सोच विभोर पोखरेल निर्देशक हो चलचित्रको भनेर दुई जनाको अगाडि नाम आउनु ठुलो कुरा जस्तो लाग्दैन । तर काम हेरिसकेपछि यसले त राम्रै चिज बनाएको रहेछ है भनोस् भनेर नै अहिलेसम्म सेल्फ स्टडिमा छु । म्युजिक भिडियो बेसबाट आएका निर्देशकहरु कोहि पनि सफल हुनुहुन्न । आलोक नेम्वाङ, प्रसन्न पौडेल, सिमोस सुनुवार, सुव्रत आर्चाय, विशाल भण्डारी लगायत धेरैले गरे । किन म्युजिक भिडियोको निर्देशकको चलचित्र चल्दैनत । भोली म पनि त्यहि हो । मरो चलचित्र किन हेरिदिने त । हामी निर्देशकमा केही कमजोरी छ है । हामी सायद ५ मिनेटको संसारमा मात्र हराउँदा रहेछौ । २ घण्टासम्म एक्सप्लान गर्न सायद नसकेको होला । हलमा दुईघण्टासम्म बाध्नुपर्ने हुन्छ । त्यसैले मैले यो बिचमा अध्ययन गरिरहेको छु । चलचित्र निर्माणको बारेमा पढिरहेको छु । सम्भवत एउटा विषय राम्रो पाएको छु । अबको वर्ष चलचित्र गर्ने टार्गेट राखेको छु ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x