बागलुङमा ‘हिल-सिप खेल मैदान’ तयार

बागलुङ । ताराखोला गाउँपालिका–५ ठूलो हिलेमा खेल मैदान निर्माण गरिएको छ । प्रदेश सरकारको रु २० लाख बजेटमा ‘हिल–सिप खेल मैदान’ तयार भएको हो ।

छिटपुटबाहेक सबै काम सकिएको निर्माण समितिका अध्यक्ष रामबहादुर पाइजाले बताए । खेल मैदान ४५ मिटर लामो र ४० मिटर चौडा छ । ‘फुटसल’, भलिबललगायत खेललाई लक्ष्य गरी मैदान बनाइएको हो ।

खेल मैदान छेउछाउ प्राकृतिक ‘प्यारापिट’, शौचालय, मञ्च आदि संरचना खडा गरिएको छ । वरिपरिबाट तारजालीको घेराबार छ । “यो वर्षको बजेटबाट लगभग काम सकियो, अरु पूर्वाधार थप्दै जाने योजना छ”, अध्यक्ष पाइजाले भने । स्थानीयवासी तेजेन्द्र श्रीसबाट रु दुई लाखमा जग्गा खरिद गरेर खेल मैदान बनाइएको हो । खेल मैदान निर्माणमा मिर्मिरे युवा क्लवका युवासहित गाउँले मिलेर श्रमदान गरेका थिए । गाउँमै ठूलो र व्यवस्थित खेल मैदान बनेपछि युवा वर्ग बढी उत्साहित छ ।

खेल गतिविधिदेखि मेला, जात्रा आयोजना गर्न पनि सहज हुने देखिएको छ । खेल मैदानमा अन्य पूर्वाधार थप्न गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष प्रकाश घर्तीले बताए । “वडाकै ठूलो खेल मैदान बनेको छ”, उनले भने, “त्यसलाई अझै व्यवस्थित र सुविधायुक्त बनाउँदै लैजान्छौँ ।” सङ्घ सरकारको रु ४० लाख बजेटमा वडा नं ४ दोगाडीमा गाउँपालिकाकै ठूलो खेल मैदान निर्माणको चरणमा छ । उक्त खेल मैदानलाई आगामी आवमा गाउँपालिकाले पनि रु ४० लाख बजेट छुट्टाएको छ ।

“गाउँपालिका स्तरीय रङ्गशालाकै रुपमा त्यसलाई विकास गर्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “खेल पूर्वाधारसँगै खेलाडी उत्पादन र संरक्षणमा हाम्रो विशेष जोड छ ।” युवा वर्गलाई खेलकूदमा आबद्ध गरी उनीहरुको प्रतिभा पहिचान गर्न विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button