असार १५ : धान दिवस मनाइँदै, मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त

पोखरा ।  आज असार असार १५ गते प्रत्येक वर्ष झैँ  आज खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गतेको  मन्त्रिस्तरीय निर्णयबाट २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका असारे गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका  थिए भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

यसैबीच  धान दिवस २०७७, को उपलक्ष्यमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले  सम्पूर्ण किसान लगायत स्वदेश तथा विदेशमा रहनुभएका दिदीवहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्  ।

शुभकामना  मार्फत मुख्यमन्त्री गुरुङले  नेपालका  धार्मिक एवं साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजवुत वनाउन महत्वपूर्ण योगदान दिँएको उल्लेख गर्दै धान दिवसले पनि विविध धर्म सँस्कृति मान्ने सम्पूर्ण नेपालीका वीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा व्यक्त गरेका छन्  ।

आजको दिनले  कृषि तथा कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाई समुन्नत एवं समृद्ध अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याउन  सम्पूर्णमा  प्रेरणा मिलोस  भन्ने कामना  समेत मुख्यमन्त्री गुरुङले गरेका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button