तनहुँका स्थानीय तहले छाडा चौपायाको संरक्षण गर्न थालेपछि..

तनहुँ। तनहुँका स्थानीय तहले छाडारुपमा छाडिएका चौपाया संरक्षण गर्न थालेपछि लोपोन्मुख बन्दै गएका गिद्ध संरक्षणमा सहयोग मिल्न थालेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाले छाडा रुपमा छाडिएका चौपाया सङ्कलन गरी संरक्षण गर्न थालेपछि लोपोन्मुख गिद्ध संरक्षणमा प्रत्यक्ष सहयोग पुग्न थालेको हो ।

गौ संरक्षण केन्द्रमा राखिएका बुढा गाई, गोरु मरेपछि त्यसलाई फ्याँक्ने र गाड्ने गरेका कारण सिनो खान विभिन्न जातका गिद्धहरु आउने गरेका छन् । पछिल्लो समय मरेका सिनो खान नपाउँदा वातावरणीय संरक्षण गर्ने गिद्धहरु लोप हुँदै गएको अवस्था रहेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित घारी महतरा भन्ने स्थानमा तारबार गरी १ सय १० वटा छाडा चौपायालाई व्यवस्थित गरिएको छ । नगरपालिकाको सहयोगमा भौतिक संरचना तथा गाईवस्तुलाई दाना पानीलगायतको क्षेत्रमा नगरपालिकाले सहयोग गर्दै आएको छाडा गौ संरक्षण केन्द्रकी संयोजक एवं कार्यपालिका सदस्य गीता महतले जानकारी दिइन।

छाडा छाडिएका चौपायाले कृषकको बालीनाली खाइदिने, सवारी दुर्घटना गराई दिने, शहर क्षेत्र फोहोर गरिदिने लगायतका समस्या आउन थालेपछि नगरपालिकाले संरक्षण गर्ने नीति लिएको हो । करिब पाँच सय क्षेत्रफलमा तारबार गरी गौ संरक्षण कार्य गरिएको छ । उनले भनिन, “गौ संरक्षण केन्द्रमा बिजुली नहुँदा बाघले करिब ३५ वटा चौपाया मारेपछि फ्याँकि दिँदा त्यसक्षेत्रमा गिद्ध आउन थालेको हो ।” “पहिला पहिला एउटा गिद्ध देख्न पनि गाह्रो हुन्थ्यो”, उनले भने “अहिले तीन/चार सय विभिन्न जातका गिद्ध सजिलै देख्न सकिन्छ ।”

नगरपालिकाद्धारा गौ संरक्षण केन्द्र स्थापना गरी छाडा चौपाया व्यवस्थापन गर्न थालेपछि विभिन्न क्षेत्रबाट बूढा भएका, दूध दिन छाडेका, बिरामी भएका चौपाया ल्याउँदा धान्न गाह्रो भएकाले अहिले नगरपालिका क्षेत्रका मात्रै पशु चौपाया ल्याउने व्यवस्था गरिएको महतले बताइन । नगरपालिकाले दुई जना हेरालो राखेर चौपाया पशुको रेखदेख कार्यको व्यवस्था मिलाएको छ । गौ संरक्षण केन्द्रमा स्थानीय जातका बढी चौपाया ल्याउने गरेका छन् भने उन्नत जातका पशु अन्तिम चरणमा पुगेपछि मात्रै ल्याउने गरेको सो केन्द्रले जनाएको छ । नगरपालिका क्षेत्रमा रहेका करिब बाह्र सय रोपनी सार्वजनिक क्षेत्रफलमा ती गाईवस्तुलाई चराउने व्यवस्था मिलाइएको नगरपालिका कार्यालयले जनाएको छ ।

त्यसैगरी व्यास नगरपालिकाको कार्यालयले व्यास नगरपालिका–१० स्थित परेवा रह शिशुवा भतेरीमा छाडा तथा वृद्ध पशु व्यवस्थापन केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमा हाल सानाठूला ५० वटा छाडा पशुलाई व्यवस्थापन गर्दै आएको छ । केन्द्रमा बूढा भएका गाईवस्तु मरेपछि गाड्ने गरे पनि स्थानीयवासीले नगाड्न भनेपछि यत्तिकै राखि दिँदा गिद्ध आउन थालेको व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले बताए ।

अहिले दिनमा ५० देखि एक सयसम्म चार पाँच किसिमका गिद्ध आउने गरेका छन् । उनले भने “मरेका सिनो खान पाउने भएपछि गिद्धको संरक्षणमा ठूलो टेवा मिलेको छ ।” गिद्धको संरक्षणका साथै स्यालले स्थानीयवासीको कुखुरा खाइदिएर दुःख दिनसमेत छाडेको उनले जानकारी दिए । जथाभाबी छाडिएका चौपायालाई व्यवस्थित गरी संरक्षण गर्न थालिएपछि सवारी दुर्घटनामा न्यूनीकरण, बालीनाली खाइदिने, अव्यवस्थित फोहोर व्यवस्थापनमा सहज भएको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा करिब दुई सय रोपनी क्षेत्रफलमा तारबार गरी गौ संरक्षण कार्य थालिएको हो । बन्दाबन्दीको समयमा तराईबाट पराललगायतका दाना व्यवस्था गर्न कठिनाइ भए पनि अहिले विभिन्न सामाजिक अभियन्ताहरुले गौ संरक्षणमा सहयोग गर्न थालेको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए। पशु व्यवस्थापन कार्य थालिएसँगै अहिले छाडारुपमा छाडिने पशुमा न्यूनीकरण आएको छ । उक्त केन्द्रमा व्यास नगरपालिका क्षेत्रभित्रका बेलबास, गुणादी, कर्लुङ, सत्रसय, फराकचौर, शिशाघाटलगायतका क्षेत्रबाट चौपाया पशु ल्याउने गरेका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button