भिरै खोजेको हो र केपी पुस्ता ?

पोखरा । म नेकपाको कार्यकर्ता विष्णु गौतम, पोखरा महानगरपालिका वडा नं १९ पुरञ्चौर स्थायी ठेगाना पोखरा पृथ्वी नारायण क्याम्पसमा आशींक प्राध्यापक । तर अपसोच आजसम्म मैले पार्टी सदस्य लिएको छैन कारण पनि सहज नै छ , मलाई कसैले नेकपाको पार्टी सदस्य लेल भनेकै छैनन् किन भने कि त केपी पक्ष आउँछन् कि त माधव नेपाल पक्ष, माओवादी त बल्ल अस्ति नेकपा वनेको हो । मेरा पक्षका यी सबै कुरा यस कारण जानकारी दिएको हो कि म नेकपा हुँदा हुँदै पनि नेकपाको पहिलो पुस्ता जस्तो बोलीको भर नहुने र बेइमानी छैन नपत्याए छड्के गर्दा हुन्छ भनेर मात्रै दिएको हो ।

यसलाई लेख, आर्टिकल, विचार वा अन्य कुनै पनि आमसञ्चार माध्यममा प्रयोग गरिने शब्दको विशेषण नलगाईकन पढ्नुभयो भने प्रत्येक वाक्यमा कोही न कोही नेपाली नेकपा भेट्नु हुन्छ । त्यसैले यो मेरो नितान्त व्यक्तिगत विचार वा भावना हो जो नेतृत्वको अकर्मण्यता र लिडेढिपीका कारण उम्लन्छ, आकाशको बादल जस्तै कहाँ वर्षन्छ असिना बनेर थाहै हुँदैन र मिलनमा शालीन बन्छ समुन्द्र जस्तै । आज भावना अलि उम्लिएकाले केही असहज र अव्यवहारिक वा अन्य यस्तै शब्द प्रयोग गर्न पर्ने खालको पनि बन्ला तर मन नपर्ने व्यक्तिवादी हनुमान वा अरिङगालहरुले नपढेकै बेस ।

म जन्मले नै नेकपा हो तर नेकपाको टुट र फुटले कति वटा गुटको नेकपा भए भन्ने त याद छैन तर पनि मसाल, माले, एमाले र माओवादी हुँदै अहिले सबै भन्दा शक्तिशाली नेकपा भएको हो । त्यो पनि सिङ्गल होइन डबल । जसले नेतृत्व गरे उनीहरू अव भिर खोज्ने उमेरका भए, कोही किड्नी सापटी लिएर श्वास फेर्छन् त कोही रगतको समुन्द्रमा पौडिएर चोखिएका छन् । त्यसैले अव पनि उनीहरूबाट सकारात्मक कुराको अपेक्षा गर्नु भनेको खेतको अलिमा गाडिएको वुख्याच्याले बाँदर धपाउनु जस्तै हो । त्यसैले यो नै सबै भन्दा उत्तम समय हो वुख्याच्या पुस्तालाई सम्मान गर्ने ।

यसो भनिरहँदा प्रश्न घनश्याम भुसाल, शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षामान पुन तर्फ सोझिन्छ । के उनीहरूमा यो दम छ त नेकपाको बागडोर समाउने ? कि उनीहरू पनि उचालेको कुकुर हुन् अव सोच्ने वेला आएको छ । आफैले गरेको सहमति पनि पालना गरेर अगाडी बढ्न नसक्ने वुख्याच्याहरुवाट त्यति विधि आशा गर्नु हामी आम समर्थक तथा कार्यकर्ताको रोग नै हो । सामान्य मुस्कानमै हामी जघन्य अपराध जन्य क्रियाकलापहरू बिर्सँदै उनीहरूको पक्षमा जिन्दावादको नारा लगाउन कुनै कसुर वाकी राख्दैनौँ ।

अव भाषणवादको युग अन्त्य भए जस्तो लाग्छ । तिम्रा भन्दा उत्कृष्ट भाषण सामाजिक सञ्जालमा सहजै भेटिन्छ त्यसैले अव काम गर्ने युग हो । हामीलाई अव नेता चाहिँदैन नेतृत्व सम्हाल्न सक्ने भिजन भएको सक्षम नागरिक चाहिएको छ । जो जेल होइन जनता वाट अनुमोदित होस् त्यो पनि काम गरेर । जेल बसेको योगदानको सम्मानमा हामीले धेरै पटक पार्टी र देशको नेतृत्व समेत दिन दायाँबायाँ नसोची भोट हालेकै हो । त्यसैले अव सल्लाहकार वन, मन्दिरको मूर्ति भएर बस्न सकेमा हामी पूजा गर्छौ नत्र नालीमा बग्ने गिटी नबन ।

मलाई पनि लाग्दैन मेरो पहिलो पुस्ता नालीमै बग्न लायक छ । मेरो र मेरो दलको नेतृत्व आजका दिन सम्म नालायकहरूले नै गरेका थिए भनेर अरू कसैले प्रमाणित गरिदियो भने कति रोला यो मन । म चाहन्छु मेरो सुन्दर पोखरालाई चिर्दै बग्ने पवित्र नदी सेतीको जल जस्तै पवित्र छन् मेरो पहिलो पुस्ता । यदि तिमीहरू शक्तिको ताजुक लगाउँदै आपसमा आफ्नै शरीरका कपडा खोल्छौ भने त के भनौँ र हामी लाजले आँखा छोप्न बाहेक के नै गर्न सकिएला र ?

जो पोइ होला जस्तो थियो त्यही जेठाजु परेपछि पनि केही गर्न सकिँदो रहनेछ । पछिल्लो समयमा देशका कतिपय स्थानमा देखिएको सडक आन्दोलनहरू जेठाजुजस्तै वने । उनीहरू विधि, आवश्यकता, आलोचना र आत्मालोचनाको पक्षमा पहिलो पुस्तालाई दबाब दिनुपर्नेमा उल्टै जुठो पिरोका सोझो गर्दै छन् । नेकपा भित्रको विवाद आन्तरिक रूपमै मिलाउने हो सडक सङ्घर्षले मिलाउने हो र ?
युवा शक्ति केपी राख्न र फाल्ने खेलमा आन्दोलन गर्छ उसले विधिको कुनै कुरा गर्दैन ।

मानौँ केपी गुटकाले केपीको भजन गाउँछन् अरूले केपीको विरोध । बिचरा नेकपाका कार्यकर्ताहरू उता न उता भएका छन्, आफ्नै घरमा आगो लाग्दा त्यही आगोको तापमा पिल्सिन बाध्य छन् । एउटा कुरा भन्न मन लाग्यो केपीका पक्षमा उत्रिने स्वतन्त्र नामका अरिङ्गालहरू प्रधानमन्त्री स्वरोजगार, वा अन्य लाभमय पद वा गुटको फाइदा नलिएका कोही भए हाजिर होऊ म तिमीले लिएको लाभको नालीबेली खोलिदिने छु । अनि कुनै पनि लाभ लिन नपाएको कुण्ठा पोख्नेहरूको पनि त ठुलै जमात छ नि हैन र ? सायद उनीहरू अन्य नेताको घेरा बन्दीमा केपी पर्दा जुगांमा ताउ लगाउँदै होलान् ।

गण्डकी प्रदेश केपी पक्षको सबै भन्दा राम्रो स्थान तर विडम्बना आज पोखरामा केपीको पक्षमा उत्रिने जम्मा जम्मी पाँच दर्जन मान्छे देख्दा टीठ लागेर आयो । यत्तिजावो मान्छे त कुनै चोकमा सपेराले देखाउने सर्प नाचमा पनि हुन्छन् । आज सोच्दै छु के केपीको खास गण्डकी वाट खसेकै हो त ? कि म पहिल्यै देखि भ्रममा थिए गण्डकी नेकपाको होइन केपी गुटको किल्ला हो भन्नेमा ।

नेपाली उखान मान्छे बुढो भए निहुँ खोज्छ, गोरु बुढो भए निहुँ खोज्छ । हो अहिले पहिलो पुस्ताले विभिन्न बहानामा निहुँ खोजेका छन् । आफ्ना आफ्ना पक्षका कुरा गरेका छन् तर उनीहरू सबैले बुझ्नु पर्ने कुरा के भने आम भोटरले के चाहेका छन् ? दावीका साथ भन्न सक्छु आम जनताले पहिलो पुस्ताको बिदाइ नेकपा सुदृढीकरणको एक मात्रै विकल्प हो ।

न कोरोना, न राष्ट्रियता, न रोजगारी, न सुशासन, न शान्ति, न विधि, न कानुन यस्तो पनि कुनै देश हुन्छ र ? प्रश्न ग¥यो विरोधी सम्झने परिपाटी । जनता भोकले मर्ने नेता जोक राख्दै अकुत कमाउन र टोकरीको राजनीतिमा व्यस्त रहने । अव हामी पशुपतिनाथ र विन्ध्यवासिनीको भरमा वुख्याच्याहरुलाई सिंहदरबार र बालुवाटार मा राखेर देश चलेको हेर्न चाहन्नौ ।

त्यसैले दोस्रो पुस्ता आँट गर हिम्मत जुटाऊ गुट त्याग अनि नेकपा वन अनि पार्टी र देश चलाऊ । कम्तीमा म जस्ता नेकपाका साधारण भोटरलाई पनि नेकपा हुनुमा गर्भानुभूति गराऊ । हामी जस्तालाई पनि नेकपाको सदस्यता दिने वातावरण बनाऊ । जय देश । जय नेकपा ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button