कोरोना भाइरस संक्रमणको महसुस गर्नु भयो ? यी हुन् ९ प्रमुख लक्षण

पोखरा । विश्वव्यापी महामारी कोरोना भाइरसले हालसम्म विश्वभर करिब १ करोड २० लाख मानिस संक्रमित भइसकेका छन् । त्यस्तै भाइरसबाट मर्नेको संख्या ५ लाख ३० हजार पुग्नै लागेको छ । नेपालमा पनि १५ हजार बढीमा कोरोना पुष्टि हुँदा ३४ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।

नेपालमा कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेको वा फैलिन बाँकी नै रहेको निर्क्योल नभए पनि दिन प्रतिदिन कोरोना संक्रमित बढ्दै जाँदा जोखिम भने सबैमा बढेको बुझ्न सकिन्छ । जोखिम बढे पनि यसै अनुपातमा कोरोनाको परीक्षण नहुँदा पुष्टि भएका संक्रमितको संख्या र यथार्थ संक्रमितको संख्यामा ठुलै फरक भएको विज्ञहरुको राय छ । कोरोनाको निजी परीक्षणका लागि पनि सरकारले ५५ सय शुल्क तोक्दा सर्वसाधारण माझ यो परीक्षण त्यति सुलभ नहुने मान्न सकिन्छ ।

यस्तो अवस्थामा कोरोना संक्रमण हुँदा देख्न सकिने लक्षणहरु के के हुन् त ? अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी)ले बताए अनुसार कोरोना संक्रमण भएको २ देखि १४ दिन सम्ममा देख्न सकिने ९ प्रमुख लक्षणहरु यस प्रकार छन् :

१. स्वाशप्रश्वासमा कठिनाई – स्वाशप्रश्वासमा कठिनाई हुनु कोरोना संक्रमणको मुख्य लक्षण नभए पनि यो कोरोना भाइरसको सबैभन्दा गम्भीर लक्षण हो । संक्रमितलाई छातीमा कस्सिएको जस्तो महसुस हुनु र लामो सास लिन नसक्नुले कोरोना संक्रमण तर्फ इङ्गित गर्ने विज्ञहरुको राय छ ।

२. ज्वरो – ज्वरो कोरोना भाइरसको मुख्य लक्षण हो । तर ९९.५ डिग्री फरेनहाइटसम्म तापक्रम बढ्नु ज्वरो नभएको विज्ञहरुको भनाई छ । त्यस्तै बिहानको समयमा लिइएको तापक्रमले पनि ज्वरो छुट्ट्याउन नसकिने उनीहरुको भनाई छ । मध्यान्हमा तापक्रम लिदाँ सबैभन्दा प्रभावकारी हुने जनाइएको छ । ज्वरो आउनुको पनि विभिन्न कारण हुने हुँदा अन्य लक्षण पनि विचार गरेर कोरोनाको संक्रमणको परीक्षण बारे निर्क्योल गर्न सकिनेछ ।

३. सुख्खा खोकी – सुख्खा खोकी कोरोनाको अर्को प्रमुख लक्षण हो । एक अध्ययन अनुसार एक तिहाइ कोरोना संक्रमितमा सुख्खा खोकी देखिएको छ । कोरोनाको खोकीमा अन्य बेला घाँटीमा हुने खसखस जस्तो नभई छातीबाट नै उत्पन्न हुने र स्वासनली सुन्निएको महसुस हुने विज्ञहरुको भनाई छ ।

४. शरीर दुख्नु तथा जिरिङ्ग हुनु – कोरोना संक्रमित सबैमा यो लक्षण नदेखिए पनि लक्षण देखा परेर एक हप्ता भन्दा लामो समयसम्म निको नहुनु वा यस्तो लक्षण अझै खराब हुँदै जानू कोरोना संक्रमण भएको हुनसक्छ । सिडिसीका अनुसार कतिपय कोरोना संक्रमितले शरीरमा थकान तथाजोर्नी र मांसपेशीमा दुखाई पनि अनुभव गर्न सक्छन् ।

५. अचानक हुने भ्रान्ती – कोरोनाको गम्भीर अवस्थमा कतिपय बिरामीमा यो लक्षण देखिएको सिडिसीको भनाई छ । यस्तो अवस्थामा बिरामी अचानक कन्फ्युज हुने वा उठ्नै नसक्ने हुनसक्छ । यसको साथै निलो ओठ, सास फेर्न कठिनाई तथा मुटुमा दुखाइ भए तुरुन्तै अस्पतालको सम्पर्कमा आउन पनि सिडिसीले अनुरोध गरेको छ ।

६. पाचनमा समस्या – कोरोना संक्रमितमा पाचनमा पनि समस्या देखिने सिडिसीले बताएको छ । चीनमा गरिएको एक अध्ययनमा २ सय मध्ये आधामा ग्यास्टृक देखिएको छ । त्यस्तै संक्रमितको एक सानो हिस्सामा ज्वरो नदेखिएर पाचनमा समस्या र पखालासमेत भएको जनाइएको छ ।

७. पिङ्क आई – पिङ्क आई अर्थात गुलाबी आँखा १ देखि ३ प्रतिशत संक्रमितमा देखिएको छ । कन्जक्टिभाइटिस भनिने पिङ्क आई निम्त्याउन सक्ने कैयौं भाइरसमध्ये कोरोना भाइरस पनि एक भएको र यो लक्षण सँगै अन्य माथिका लक्षण पनि देखिए कोरोना परीक्षण गर्न सिडिसीले सुझाव दिएको छ ।

८. सुँघ्ने र स्वाद लिने क्षमतामा कमी – सुँघ्ने र स्वाद लिने क्षमतामा कमी आएको थुप्रै कोरोना संक्रमितले बताउँदै आएका छन् । कोरियाको एक अध्ययनले कोरोनाको मध्यम लक्षण देखिएका ३० प्रतिशतमा एनोम्सिया भनिने सुँघ्ने र स्वाद लिने क्षमतामा कमी आउने समस्या भएको देखाएको छ ।

९. अन्य लक्षण – सिडिसीका अनुसार कोरोना संक्रमितमा देखिने अन्य लक्षणमा अत्यधिक थकान, शरीरका अङ्गहरुमा दुखाइ, टाउको दुखाई, नाकमा अवरोध रहेका छन् ।

Chat conversation end
Type a message…

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button