पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ (नामावलीसहित)

पाेखरा न्यूज। अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोमा ७ जनाको मृत्यु भएको छ ।

गएराति अन्दाजी ३ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीमा गएको पहिरोमा पुरिँदा ५ जनाको मृत्यु भएको छ।

पहिरोमा परी गोठादीका स्थानीय ५० बर्षे टंकबहादुर थापा र उनकी श्रीमती ४० बर्षीया सोममाया थापा र टंक थापाका ६ बर्षीय नाती सुवान थापाको मृत्यु भएको छ । घटनामा दमौली घर भएकी सोममाया थापाकी बहिनी सरस्वती श्रेष्ठका ८ बर्षीय छोरा शितल श्रेष्ठको समेत मृत्यु भएको छ ।

त्यसैगरी पहिरोमा परी सोहि स्थानकी छिमेकी १९ बर्षीया युवती इशिका थापाको पनि ज्यान गएको छ । सो घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरीएको छ । उनीहरुको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए।

हमालका अनुसार उक्त पहिरोमा परी घाइते हुनेमा टंक थापाकी छोरीहरु १८ र २२ बर्षीया आशा थापा मगर र पिंकी थापा मगर, पिंकीकी ५ वर्षिया छोरी प्रिशा थापा मगर, सरस्वती श्रेष्ठका अर्का १० बर्षीय छोरा सन्देश श्रेष्ठ, छिमेकी १९ बर्षीय अनिश तामाङ, छिमेकी १९ वर्षिया रश्मि थापा र १९ वर्षीय रशी थापा रहेका छन् ।

गएराति नै पोखरा महानगरपालिका–२५ हेमजामा स्थानीय रामचन्द्र अधिकारीको घर पहिरोले पुरिँदा अधिकारीकी ७० वर्षीया आमा भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अविरल वर्षा कै कारण पोखरा महानगरपालिका -२६ स्थित पैतेमा पहिरोमा पुरिएर स्थानीय डल्लु भनिने करिव ४५ बर्षीय *दुर्गा बहादुर सुनारको मृत्यु भएको पोखरा -२६ का वडा अध्यक्ष नारायण प्रसाद बरालले जानकारी दिए।

घरमा सुतिरहेका अवस्थामा पहिरो जादाँ घरका अन्य सदस्य भाग्न सफल भएपनि उनी पहिरोमा पुरिएका थिए । पहिरोका कारण पैतेका ८०/८५ घर मध्ये करिव २५ देखि ३० वटा घर जोखिममा रहेको अध्यक्ष बरालले बताए । पहिरोको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थान तर्फ सार्ने काम भइरहेको उनले बताए ।

त्यसैगरी पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनका श्रीमति शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।

उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button