म्याग्दी पहिरो : मृतकको सङ्ख्या १८ पुग्यो, ११ जनाको जिवितै उद्धार

पोखरा । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । एघार जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकामा गएको पहिरोमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा १८ जनालाई मृत अवस्थामा फेला पारेको हो । मृतावस्थामा फेला परेकामध्ये धवलागिरिमा १० र मालिका गाउँपालिकामा ८ जना रहेका छन् ।

पहिरामा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट मृतावस्थामा फेला परेका सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल र उनकी ४ बर्षीया छोरी ईच्छा पौडेल , गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र उनका तीनमहिने छोरा तथा विष्णु नेपाली रहेका छन् ।

त्यसैगरी उक्त गाउँपालिकाकै बेपत्ता मध्येका ११ जनालाई जीवितै उद्धार गरिएको छ । घाइतेहरुलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि बेनी अस्पताल र पोखरा मणिपाल अस्पताल पठाइएको छ । अन्य बेपत्ताहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए  । उनका अनुसार उद्धार गरिएका मध्ये म्याग्दी धवलागिरी -६ का १२ वर्षीय अंकित जुग्जाली, वर्ष ३५ को कुशल पुन, वर्ष १६ की बिर्सना जुग्जाली, वर्ष ३४ को धन बहादुर जुग्जाली, वर्ष ८७ की गौमती सुनार , वर्ष २२ को दिपक श्रीपाली र  वर्ष ७२ को हरि बिटालुको बेनी अस्पतालमा र २२ वर्षीया मन्जिता श्रीपाली (गर्भवती महिला ढाडमा समस्या), ७ वर्षीय बालक सफल श्रीपाली तथा मालिका गाउँपालिका–७ का ३६ वर्षीय पूर्णबहादुर नेपाली, र ताकम बस्ने सतदेवी बिटालुको पोखरास्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

बाढी पहिराको कारण म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर राहुँघाटखोला नजीकको बस्तीमा रहेका २१ घरधुरीका ८५ जनालाई त्यहाँस्थित गायत्री मन्दिरमा स्थानान्तरण गरिएको छ । त्यसैगरी पहिरो पीडित धवलागिरि गाउँपालिका–६ कल्लेनी जहरेका ८९ जना व्यक्तिलाई उद्धार गरी स्थानीय शिवाङ्गस्थित हेम माविमा ५० र ३९ जनालाई आफन्तकामा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–५ देवीस्थानका तीन घरधुरीका १३ जनालाई दरबारचाउटाका ६ घरधुरीका ३३ गरी कूल ४६ जनालाई जनप्रिय मावि दरवाङमा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button