बाढी पहिरोका कारण पोखरा र म्याग्दीमा ३ दिनमा ३४ को मृत्यु, ४ बेपत्ता

पोखरा न्यूज । गण्डकी प्रदेशमा पछिल्लो ३ दिनमा  ठूलो जनधनको क्षति भएको छ । अविरल वर्षाका कारण गएको बाढी पहिराले प्रदेशका कास्की, म्याग्दी, लमजुङ,  गोरखा, स्याङ्जा, बाग्लुङ ,तनहुँ, नवलपुर जस्ता जिल्लामा  क्षति पु¥याएको छ ।

बाढी पहिरोका कारण प्रदेशको कास्की जिल्लाको पोखरा र म्याग्दीमा गरी ३ दिनमा ३४ जनाको  मृत्यु भएको छ । घटनामा म्याग्दी ४ जना अझै  बेपत्ता रहेका छन् । बेपत्ताहरुको शनिबार अवेर सम्म खोजि गरिएकोमा आइतवार बिहान पुन: खोजी कार्य शुरु गरिने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए।

प्रनाउ रेग्मीका अनुसार म्याग्दीमा धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिकामा गरी २७ जनाले  पहिरामा परेर ज्यान गुमाएका छन् । स्थानीयको सहयोगमा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गर्ने क्रममा धवलागिरिका  १८  जना, मालिका गाउँपालिकाका  ८ जना र म्याग्दी रघुगगा गाउँपालिका १ जना मृत फेला परेका हुन् । पहिरोमा परेका १२ जनाको भने जिवितै उद्धार गरिएको उनले जनाए ।

पहिरोमा परी धवलागिरि गाउँपालिका–६ मराङ रिखाबाट सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रपाली, सुरक्षा श्रपाली, सुरज श्रपाली र जनिमा केसीको छोरा प्रकाश केसी, तुल बहादुर क्षेत्री,  हिरा मति जुग्जाली,करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली तथा उनका १ वर्षीय छोरा दिवान जुग्जाली मृतावस्थामा फेला परेको रेग्मीले जनाए ।

उनका अनुसार सोही जिल्लाको मालिका गाउँपालिका–७ विम दुलेबाट मृतावस्थामा भेटिनेहरुमा सोही स्थानका विष्णु पौडेल र उनकी ४ बर्षीया छोरी ईच्छा पौडेल , गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली र उनकी तीनमहिने छोरी निशा नेपाली ,सन्दिप नेपाली तथा विष्णु नेपाली रहेका छन्। म्याग्दी रघुगगा गाउँपालिका-ठाडाखानिका ५० वर्षीय नलिमान छन्त्याल पनि मृत फेला परेको प्रनाउ रेग्मीले जनाए ।

यसैगरी शुक्रबार राति गएको पहिरोले कास्कीको पोखरा महानगरपालिका स्थित  सराङकोट, हेम्जा र पैतेडाँडाका  ७ जनाको मृत्यु भएको थियो । पहिरोमा परी सराङ्कोटमा पाँच, हेम्जामा १ जना  र पैतेडाँडामा १ जनाको मृत्यु भएको थियो । सराङकोट गोठादीमा गएको पहिरोमा ५ जना , हेम्जामा एक र पैतेडाँडामा एक जनाको मृत्यु भएको थियो । कास्कीको  छोरेपाटनसहितका स्थानमा गएको पहिरोमा परी १३ जना घाइते भएका थिए  । बाढी पहिरोका कारण प्रदेशका लमजुङका ४ जना तथा  गोरखा, स्याङ्जा र बाग्लुङ जिल्लाका १/१ जनाको ज्यान गएको छ ।

बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित म्याग्दी  जिल्लाका ८ सय ९६ जना जोखिममा रहेका व्यक्तिहरुलाई प्रहरीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ । घवलागिरी गाउँपालिकाबाट ५ सय ९० जना, मालिका गाँउपालिकाबाट १ सय ९६ जना, रघुगंगा गाँउपालिकाबाट ८५ जना र बेनी नगरपालिकाबाट २५ जना गरि जम्मा ८ सय ९६ जनालाई सुरक्षीत स्थानमा स्थानान्तरण गरिएको प्रनाउ रेग्मीले जनाए ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीको संयोजन साथै विभिन्न संस्थाहरुको सहयोगमा प्रभावित क्षेत्रका नागरिकहरुलाई पाल, ब्ल्याङकेट, म्याट ,कम्बल, चाउचाउ बिस्कुट लगायतका  विभिन्न राहत सामाग्रीहरु वितरण गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button