कोरोना परीक्षणको नक्कली नतिजा दिएर बिरामी भगाउने अस्पताल सञ्चालक पक्राउ

बङ्गलादेश। बङ्गलादेशमा कोरोना परीक्षणको नक्कली नतिजा दिएर साढे ३ करोड बढी ठगी गर्ने अस्पताल सञ्चालक पक्राउ परेका छन् ।

मोहम्मद शाहिद नाम गरेका ४३ वर्षीय ती अस्पताल सञ्चालकले बिरामीलाई कोरोना परीक्षणको नेगेटिभ नतिजा दिन कमिसन लिएका थिए । शाहिदलाई कोरोन संक्रमितको उपचार तथा परीक्षण गर्ने क्रममा शुल्क लिएको पनि आरोप लागेको छ । उनले सरकारसँग भने ती सेवा सित्तैमा दिने कबुल गरेका थिए ।

शाहिदको दुई परीक्षण केन्द्रबाट ६५ सय जनाको नक्कली कोरोना परीक्षण नतिजा दिएको जनाइएको छ । उनी विगत ९ दिन देखि फरार रहेको त्यहाँको प्रहरीले बताएको छ । बुर्का लगाएर नदी तरेर भारत भाग्न लाग्दै गर्दा उनी पक्राउ परेका थिए । प्रहरीका अनुसार उनलाई सोधपुछका लागि १० दिन हिरासतमा लिइएको छ ।

बङ्गलादेशमा परीक्षणमा धोकाधडी भएको यो पहिलो प्रकरण भने हैन । अघिल्लो साता पनि केही निजी परीक्षण केन्द्रका सञ्चालकहरु नक्कली कोरोना परीक्षण नतिजा दिएको आरोपमा पक्राउ परेका थिए । पछिल्लो तथ्यांक अनुसार त्यहाँ करिब २ लाख जनामा कोरोना पुष्टि हुँदा साढे २४ सयको मृत्यु भइसकेको छ ।

१६ करोड बढी जनसंख्या भएको बङ्गलादेशमा दैनिक १३ हजार देखि १७ हजार परीक्षण हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button