पोखरामा ४२ बेडको कोरोना उपचार केन्द्र स्थापना

पोखरा। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) को छुट्टै भवनमा कोभिड – १९ उपचार केन्द्र स्थापना गरिएको छ । नियमित अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्यलाई ख्याल गर्दै प्रतिष्ठानको छुट्टै भवनम कोरोना संक्रमित बिरामीहरुको उपचार गर्ने आइसोलेसन वार्ड (कोभिड -१९ उपचार केन्द्र) संचालनमा आएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए ।

रेट्रोफिटिङ अन्तर्गत हालै निर्माण भएको डिक्यान्टीन भवनमा ४२ बेडको आइसोलेसन वार्ड स्थापना गरिएको प्रतिष्ठानका उपकुलपति डा.थापाले बताए । १० बेडको आइसोलेसन वार्डबाट कोरोनाको उपचार सुरु भएको प्रतिष्ठानमा पछिल्लो समयमा कोारोनाका बिरामी बढेसंगै मेडिकल र आइसियू कक्षसम्म कोरोनाका बिरामीहरुको उपचार गर्नु परेको उनले जनाए । दैनिक करिब पन्ध्र सय बिरामीहरु आउने प्रतिष्ठानमा कोरोनाको उपचार गरे पछि दैनिक दुई सयको हाराहारीमा बिरामी संख्या पुगेसंगै आफुहरुले कोरोनाको छुट्टै भवनमा उपचार गर्ने व्यबस्था मिलाएको उपकुलपति डा.थापाले बताए ।

 

हाल प्रतिष्ठानमा ५ जना कोरोना संक्रमण भएका व्यक्तिहरु रहेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । प्रतिष्ठानमा हालसम्म ८६ जना कोरोनाको उपचार भई घर फर्किएका छन्। उनका अनुसार प्रतिष्ठानमा हालसम्म ९१ जना कोरोना संक्रमण भएका व्यक्तिहरुको उपचार भएको छ ।

प्रतिष्ठानले संचालन गरेको फिवर क्लिनिकबाट हालसम्म १ हजार ७ सय ३५ जना लाभान्वित भएको निर्देशक डा. आचार्यले जनाए । प्रतिष्ठानको आइसियू वार्डमा उपचार भएका तीन जना मध्य दुई जनाको मृत्यु भएको उनले बताए । कोरोनाका बिरामीहरुको उपचारमा खटिएका कुनै पनि स्वास्थ्यकर्मीहरुमा हालसम्म कोरोना संक्रमण नभएको प्रतिष्ठानले जनाएको छ ।

यसैबिच, सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले उक्त कोभिड-१९ को उपचार केन्द्रको विहिबार एक समारोहका बिच उद्घाटन गरेका छन् । प्रतिष्ठानले आम जनताको लागि गुणस्तरिय सेवा दिन उनले आग्रह गर्दै कोभिड-१९ को छुट्टै उपचार केन्द्र भए पछि धेरै जनताहरु प्रतिष्ठानमा अब उपचार गर्न जाने भएको जनाए । कोरोनाका बिरामी र अन्य बिरामी प्रतिष्ठानको एउटै भवनमा उपचार गर्दा धेरै बिरामीहरु निजी अस्पतालमा चर्को मुल्य तिर्न बाध्य भएका थिए ।

यसैबिच, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ( पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा विहिबार देखि स्नातकोत्तर तहमा एम.डी./एम.एस. अध्यापन सुरु भएको छ । प्राज्ञिक क्रियाकलाप संचालन गर्ने उद्धेश्यले पहिलो चरणमा विहिबार देखि नै एम.डी./एम.एस. अध्यापन गर्न सुरु गरिएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोष्टग्राजुयट्स (स्नातकोत्तर) तहबाट सुरु गरी एम.वी.वी.एस., नर्सिङ, जनस्वास्थ्य, एलाइट हेल्थ साइन्सेज एवं डि.एम./एम.सी.एच. जस्ता विशेषज्ञ कार्यक्रम संचालन गर्ने उद्धेश्यले पहिलो चरणमा विहिबार देखि उक्त कोर्षको अध्यायपन नै सुरु भएको प्रतिष्ठानका उपकुलपति डा.बुद्धिबहादुर थापाले बताए । उनका अनुसार मेडिकल, सर्जिकल, अर्थोपेडिक, गाइनेकोलोजि, पेडियाट्रीक र एनेस्थेसीया का चिकित्सकलाई मेडिकल काउन्सिलले तोकेको योग्यता, अनुभव र शोध कार्यको आधारमा प्रोफेसर, एसोसियट प्रोफेसर, असिस्टेष्ट प्रोफेसर र लेक्चररको समेत जिम्मेवारी प्रदान गरि सकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button