अंग्रेजको पसल

हालखबर

धेरै दिन पछि साथीको फोन आयो
नमस्ते मित्र !
हालखबर कस्तो छ ?
सन्चो बिसन्चो के छ ?
प्रश्नहरूको पहाडलाई
मैले उत्तरहरूको चाङ लगाउँदै भने
बुढेसकालको लौरो ठानेको छोरो
बुहारीले दाइजोमा चिट्ठा पारी लगिन्
छोरीलाई आफ्नै मुटु ठानेथेँ
छातीमा राखी पुजा गरेँ
उनले पनि बर्गर र चिप्ससँग जीवन साँटिन्
ढुंगाको देवतालाई साक्षी राखेर
सँगै जिउने सँगै मर्ने
कसम खाएको प्रिय हातहरू
दोबाटो मै छुट्टिए,
बिलाई गए अदृश्य अनन्त यात्रामा !

यत्ति हो मित्र
मेरा सपनाहरू थेम्स नदी जस्तै
रङ्गहरू फेरी बगिरहेछ, सुकिरहेछ
रथको एउटा पाङ्ग्रा बिग्रेपछि
अर्को पाङ्ग्रा भेन्टिलेटर झुन्ड्याएर
भासिएका M25 का बाटाहरूमा गुडिरहेछ
गन्तब्य हराएका कछुवा भएर

सुन्नै चाहन्छौ बाँकी खबर भने सुन,
कान र आँखाले साथ छोडिसकेका
बुढा बाले न्यास्रो मानी भन्दै थिए
कहिले आउँछस् ठुले ?
हजुरबाको पेन्सनले किनेको गैरी खेत
बर्खे खोलासँगै बग्यो
बुढीआमा सुगरले बिस्तरामा दिन गन्दैछिन्
मेरै बाटो हेरी
फोन मै भाईका आँखाबाट शित बर्सन्छ
आकाशे गोली लागेर
लैनो भैंसी र हल गोरु गोठमा लडे
कोरोनाले थलिएको देशमा
जागिरले पनि डिभार्स गरेपछि
फेसबुकका भित्ताहरूमा च्यारिटीका खेतहरूमा
भाइबरका मन्दिरहरुमा दान गर्दा-गर्दा
घरभाडा तिर्न नसकी साहुले घरदेखि बिदा गरे
बुढो रुखमा धमिरोले गुँड लाए जस्तै
मेरा जीवनका रुखहरुमा
सुगर, ब्लड प्रेसर, डिप्रेशनले गुँड लगाउँदै छन्
यत्ति मात्र हो बिसन्चो भएको
अरु सब सन्चो छ साथी
बस् जिन्दगी पञ्चर भएको गाडी जस्तै
सपनाको पृथ्वी राजमार्गमा घिस्री रहेछ,
घिस्री रहेछ !

अंग्रेजको पसल

स्वर्गीय बा शिक्षक हुनुहुन्थ्याे
उहाँकै काखकाे पाठशालामा
शब्दहरूकाे प्राङ्गणमा उभिएर
म, अक्षरकाे राजमार्ग बनाउन सिक्दै थिएँ !

एकदिन बाले
तेराे जीवनसुत्र उपहार भन्दै
कागजकाे धर्तीमा कलमले जाेत्नु
र फस्टाउन् ज्ञानका वृक्ष भन्दै
फुर्के झाेलामा बाेकाइदिनुभयाे
पुस्तकका ठेलीहरू
देख्नुभयाे सपना उज्यालो भविष्यकाे

मैले त अंग्रेजको पसलमा
किताबसँग खुकुरी साटेँ
कलमसँग बन्दुक साटेँ
मेराे शिल्प, ज्ञान र बुद्धिले
अर्कैले रच्याे इतिहास
अर्कैले काेर्याे नक्सा
बा, क्षमा गर्नुस्
मैले त अंग्रेजकाे स्टेशनरीमा
रगतसँग मसी साटेँ !

आफ्नै गुँड फर्की आएँ

म,गाउँको सोझाे हर्के
साहुको हलो जोती हिँड्ने हली
आज,लण्डनको महँगो शहरमा
खैरी चरीलाई आँखा मार्दै
चिल्ला बाटोहरूमा
मर्सिडीज कुदाई हिँडेँ
म,खरको झोपडीमा रमाउने मान्छे
आज,करोडाैँकाे महलमा बसेँ
यो मोही निल्ने घाँटीले
आज, ब्ल्याक लेवल चेयर्स.. गरि कुल्ला गरेँ
मेरा ङल्स्योसँग
रोधीमा रमाउने मनहरू
लन्डनका वैँशालु रङ्गिन रातहरूमा झुलेँ
यो,ढिडाे र गुन्द्रुकमा खुशी हुने जिब्रो
आजभोलि जोन सोल्टीहरूका गाउँमा
पिज्जा र बगरमा रमाइ रहेछ ।
मोहर गन्ने ठेला उठेका हातहरूले
डलर र पाउन्ड टन्न खेलाएँ
बिहान उठी ऐनामा हेरेँ आफैँलाई
टाँडी खेत जस्तै देखेँ
हैट..
धर्म हराएको शहर
संस्कार बेचिएकाे माटो
सबै थोक मिल्यो
तर …
बुढी आमाको प्रिय काख
कहिल्यै मिलेन
त्यसैले, आफ्नै गुँड फर्की आएँ ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. सुन्दर जीवनकाल को यथार्थ परक विषय बस्तुको उठान !बास्तबिकता भित्र लुकाएको बिपना सान्दर्भिकता बिश्व बजारको ।राम्रो लाग्यो गुरु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button