पोखराको कालिकामा ४ सय लालिगुराँसका बिरुवा रोपिए

पोखरा। ५८ इन्जिनियरिङ दिवसको अवसर पारेर शनिबार पोखरा महानगरपालिका वडा नम्बर २८ कालिकाको देउमाणीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिद्धारा आयोजित कार्यक्रमम ४ सयवटा लालिगुराँस फूलका बिरुवा रोपिएको थियो ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले महानगरपालिकाले विरुवा हुर्काउने अभियान सञ्चालन गरिरहेको बताए । ‘वृक्षारोपण गरेर मात्र हुँदैन, यसलाई हुर्काउनु ठुलो कुरा हो पोखरा महानगरपालिकाले बिरुवा हुर्काउने अभियान चलाईरहेको छ’ उनले भने । ऐतिहासिक महत्व बोकेको काल भैरवको मन्दिर नजिकैको स्थानमा वृक्षारोपण कार्यक्रम आयोजना गरेकोमा आयोजक प्रति उनले खुशी व्यक्त गरे । भौगोलिक हिसाबले पोखरा महानगरपालिकामा विविधता रहेको उनको भनाई थियो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीले बिरुवा रोप्नु ठुलो कुरा नभई हुर्काउनु ठुलो कुरा भएको बताए । वर्षको एकपटक विरुवा रोपको ठाउँमा पुगेर रोपेको विरुवा अवस्था बुझ्न आयोजकहरुलाई उनको आग्रह थियो । पर्यटकलाई स्थानिय उत्पादन मार्फत सेवा दिन सकेमा सो ठाउँको महत्व बढ्ने उनको भनाई थियो ।

नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिका सभापति बाबुराम भण्डारीले कास्की जिल्लाका सम्पुर्ण ‘हिल स्टेसन’मा फूलका बिरुवा रोप्ने अभियान अन्तर्गत  इन्जिनियरिङ दिवसको अवसरका कालिकाबाट कार्यक्रम शुरु गरेको बताए । पोखरामा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाइजहाजबाट पोखराको दृश्य हेर्दा चारैतिरको डाँडामा फूलै फूल देखिएर पर्यटकलाई झनै आर्कषित गरोस् भन्ने हेतुले फूल रोप्ने अभियान सञ्चालन गरिएको उनले प्रष्टाए । ‘हामीले रोपेर मात्र छोड्दैनौ, यसलाई हुर्काउन पनि सहयोग गर्छौ, हुर्किसकेपछि, हुर्काउने जिम्मा लिएकालाई एक बोटक एक सयको दरले ४० हजार रुपैयाँ दिन्छौ’ सभापति भण्डारीले भने ।

कार्यक्रममा प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसनका उपाध्यक्ष महेन्द्र गोदार, नेपाल इञ्जिनियर्स एशोसिएसनका सह-कोषाध्यक्ष चादमाला श्रेष्ठ, शहरी योजना आयोगका उपाध्यक्ष आरसी लामिछाने, सदस्य सरोज कोइराला, पोखरा महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनार, नेपाल इञ्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश समितिका उपाध्यक्ष धुव्र भट्टराई, सचिव दिपक थापा आदीले वृक्षारोपणको बारेमा बोलेका थिए ।

रोयल ट्रेकको रुपमा परिचित यो ठाउँमा वि.सं. २०३७ सालमा बेलायतका राजकुमार चाल्सले पदयात्रा गरेपछि एक्कासी यसको चर्चा बढेको थियो । विजयपुरबाट शुरु हुने रोयल ट्रेक कालिका, स्याक्लुङकोट, हंसपुर, रुपाकोट हुदै पोखरा फर्कन ४ दिन लाग्दथ्यो । धौलागिरी, माछापुच्छ्रे , अन्नपुर्ण, गणेश, लमजुङ लगायतका हिमाल एकैपटकमा हेनै सकिने यो ठाउँको विशेषता हो । फेवाताल, वेगनास ताल, मैदी ताल, दिपाङ ताल, खास्टे ताल, न्युरिने ताल, कमलपोखरीबाट देखिन्छ ।

कास्कीको मादी गाउँपालिकाका सुन्दर दृश्य, मादी नदि, पोखरा तथा लेखनाथका दृश्यसहित कास्की जिल्लाका अधिकांश ठाउँलाई नियाल्न सकिन्छ । ठुलाकोटमा रहेको भैरव मन्दिरको धार्मीक महत्व समेत रहेको छ । कविशिरोमणी लेखनाथ पौडेलले बसेरेनै विभिन्न साहित्यक रचना गरेका थिए । यस्तो रमणिय ठाउँमा शनिबार ४ सय वटा लालिगुरासँका विरुवा रोपिएपछि यसको आर्कषण थप बढ्ने स्थानियले आशा गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button