सडक अवरुद्ध हुँदा बागलुङकी एक महिलाले बाटोमै शिशु जन्माइन

रामबहादुर थापा। प्रसूतिका लागि अस्पताल ल्याउँदै गर्दा बागलुङकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन  । बडिगाड गाउँपालिका–१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका–३ खहरेमा सुत्केरी भएकी हुन ।

पहिराले सडक अवरुद्ध हुँदा पैदलै अस्पताल ल्याउने क्रममा व्यथाले च्यापेपछि बाटोमै प्रसूति गराइएको स्थानीय स्वास्थ्यकर्मी सरोज केसीले जानकारी दिए  । घर्तीले बिहीबार छोरी जन्माएकी हुन  । “गाडी नचलेपछि उहाँहरु अलपत्र पर्नुभएको रहेछ, हिँड्दाहिँड्दै व्यथा लागेपछि बाटोमै प्रसूति गराउनु पर्यो”, स्वास्थ्यकर्मी केसीले भने, “म लगायत स्थानीय आमासमूह मिलेर उहाँको उद्धार र तत्काल गर्नुपर्ने स्याहार गर्यौं ।”

नजिकमै घर भएकाले प्रसूति गराउन सहज भएको उनको भनाइ छ । गाउँमा रहेको स्वास्थ्य संस्थाले सुरक्षित प्रसूतिका लागि घर्तीलाई धौलागिरि अस्पताल पठाएको थियो । “शिशुभन्दा पहिल्यै साल खस्ने समस्या आउन सक्ने देखेर रिफर गरिएको रहेछ”, केसीले भने, “उद्धारपछि सुरक्षित साथ अस्पताल पठायौँ ।”

शिशु जन्माएको डेढ घण्टापछि घर्तीलाई धौलागिरि अस्पताल पुर्याइएको थियो । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले जानकारी दिए । “आमा र शिशु अहिले स्वास्थ्यकर्मीको हेरचाहमा हुनुहुन्छ, म आफैँ पनि हेरेँ, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने ।

बुधबार राति ११ बजे घर्तीलाई लिएर परिवारका सदस्य अस्पताल हिँडेका थिए । अस्पताल आउन आधा घण्टा मात्रै बाँकी छँदा सडक अवरुद्ध भएपछि बाटोमै रोकिनुपरेको थियो । निरन्तरको वर्षापछि खसेको पहिराले सदरमुकाम जोड्ने मध्यपहाडी लोकमार्ग खहरे नजिकै बोक्से भन्ने स्थानमा अवरुद्ध छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button