सुनको मूल्य प्रतितोला १ लाख पुग्न लाग्यो

काठमाडौँ। पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४ सयले वृद्धि भएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २ सय २५ ले वृद्धि भएको छ ।

बन्दाबन्दीकै अवधिमा गत जेठ २५ गते महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४ सय  र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ६ सय ९० तथा चाँदीको मूल्य प्रतितोला रु ९ सय ३५ तोकेको थियो । कोभिड–१९ को फैलावट रोक्न सरकारले गत चैत ११ देखि बन्दाबन्दीको घोषणा गरेपछि महासङ्घले सुनचाँदीको मूल्य निर्धारण गर्न बन्द गरेको थियो । बन्दाबन्दी केही खुकुलो भएसँगै गत जेठ २५ देखि महासङ्घले दैनिक मूल्य तोक्दै आएको छ ।

महासङ्घका अनुसार आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल र तेजाबी सुन प्रतितोला रु एक हजार ३०० ले वृद्धि भएको छ । चाँदीको मूल्य भने सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीमा प्रतितोला रु ५ वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८ सय , तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय ६५ र चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताउनुभयो । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९ सय १ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए ।

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार भने ठप्प भएको छ । “नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो”, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उहाँले बताउनुभयो । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button