पोखरा विश्वविद्यालय पदाधिकारी बिहिन : विद्यार्थी आन्दोलनमा

पोखरा । पोखरा विश्वविद्यालयको झन्डै एक वर्ष देखि पदाधिकारी बिहिन बनेको छ ।

विश्वविद्यालयका उपकुलपति, रजिस्ट्रार लगायतका पदहरु विगत ११ महिनादेखि  नेतृत्व बिहिन रहेका छन् । लामो समयदेखि विश्वविद्यालयमा उपकुलपतिसहितका  मुख्य पदाधिकारी  नहुँदा विद्यार्थीहरुको भविष्य नै अन्योलमा परेको छ ।

विश्वविद्यालय आन्तरिक किचलो र समस्याका कारण  आफुँहरुको परिक्षा समयमै नभएको तथा आफुँहरुको  भविष्य माथिनै खेलवाड भएको भन्दै विद्यार्थीहरुले शुक्रबार पोखरामा बिरोध प्रदर्शन गरेका छन्  ।

पोखरा विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका विद्यार्थी तथा विश्वविद्यालयको सम्बन्धन प्राप्त विभिन्न आङ्गिक कलेजका विद्यार्थीहरुको समयमै परीक्षा नहुँदा आफ्नो भविष्य अन्योलमा परेको पियुका  विद्यार्थी प्रदीप पौडेलले गुनासो गरे । सिभिल इन्जिनियरिङ आठौं सेमेष्टरमा अध्ययनरत पौडेलले विश्वविद्यालयमा उपकुलपतिसहित विभिन्न पदहरु रिक्त हुँदा ४ वर्षे कोर्ष थप एक वर्ष लम्बिँएर ५ वर्षमा पुगेको बताए । उनले  आफुँहरुको एक वर्ष समय खेरा गैसकेको र अझै आफ्नो परीक्षा कहिले हुने भन्ने  अन्योल रहिरहेको बताउदै आफुहरुको भविष्य माथि खेलवाड नगर्न चेतावनी दिए  ।

डा. चिरञ्जीवी शर्माको पुर्णकालीन भिसिको पदावधि समाप्ति भएको तथा इन्जिनियर बुद्धिराज जोशी र प्राध्यापक डाक्टर इन्द्रप्रसाद तिवारी पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाले पश्चात उक्त पद रिक्त हुँदा विश्वविद्यालयको सम्पुर्ण शैक्षिक गतिविधि ठप्प भएको अर्का विद्यार्थी अर्जुन पराजुलीले गुनासो गरे । विश्वविद्यालयमा लामो समय भिसिसहितका पद रिक्त रहँदा दीक्षान्त समारोह समेत हुन नसकेको सृष्टि जोशीले सुनाइन ।

विद्यार्थीहरुले  शुक्रबार आफुहरुको भविष्य माथि खेलवाड नगर्न र समयमै परिक्षा संचालन गर्न माग गर्दै  जिल्ला प्रशासन कार्यालय अगाडि दबाबमूलक कार्यक्रमसहित प्रदशन गरेका थिए । उनीहरुले प्लेकार्डमा शिक्षामा घुस्यो व्यापार, विद्यार्थीको भविष्य अन्धकार, पोखरा विश्वविद्यालयलाई बिर्सनु भयो कि कुलपतिज्यु, आखिर पोखरा विश्वविद्यालय कहिलेसम्म अनिर्णयको बन्दी हुने, सरकार बाहिर उज्यालो भइसक्यो अब उठ्ने कि जस्ता नारा लगाएर प्रशासन अगाडि प्रदर्शन गरेका थिए ।

भिसि पद रिक्त हुँदा पोखरा विश्वविद्यालय तथा त्यसको सम्बन्धन लिएका २० हजार विद्यार्थीहरुको शैक्षिक भविष्य अन्योलमा परेको  विद्यार्थीहरुले  गुनासो व्यक्त गरेका छन्  । उनीहरुले  विश्वविद्यालयका कुलपति प्रधानमन्त्रीलाई जतिसक्दो छिटो उपकुलपति नियुक्ति गर्न  माग गर्दै  प्रशासनमा ज्ञापन पत्र समेत  बुझाएका थिए  ।

पोखरा विश्वविद्यालयमा मानविकी, स्वास्थ्य तथा जनसंख्या, विज्ञान तथा प्रविधि, व्यवस्थापन लगायत संकायमा पढाइ हुँदै  आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button