कास्की जिल्ला अदालतको सबै सेवा पुनः सुचारु, यसरी लिन सकिन्छ तारेख

राजाराम पौडेल। लकडाउनका कारण प्रभावित बनेको कास्की जिल्ला अदालतले दिने सेवा सुविधा पुनः सुचारु भएको छ । कास्की जिल्ला अदालतले अदालतको बेभसाइटमा शुक्रबार सूचना प्रकाशित गरेर यो जानकारी दिएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको सन्दर्भमा सर्वोच्च अदालतको पूर्ण वैठकको गत चैत्र ७ गतेको सेवा प्रवाह सीमित गर्ने सम्बन्धी निर्णय र चैत्र ९ गतेदेखि वन्दावन्दी (लकडाउन) खुलेको मितिसम्मको अवधिलाई न्यायिक कारवाहीको प्रयोजनको लागि शून्य अवधि मानी सो अवधिमा हदम्याद, म्याद, तारीख लगायतको गणना नगर्ने, वन्दावन्दी खुलेको मितिले वाटोको म्याद वाहेक ३० (तीस) दिन भित्र उपस्थित भएमा हदम्याद म्याद तारीख नगुज्रने गरी सर्वोच्च अदालतवाट गत जेठ १५ मा आदेश भएको थियो ।

नेपाल सरकारको निर्णय अनुसार मिति गत चैत्र ११ गते देखिको वन्दावन्दी साउन ६ गते मंगलवार (२०२० जुलाई, २१) मध्यरात पछि अन्त्य भएको सन्दर्भमा सर्वोच्च अदालतको वृहतपूर्ण इजलासको गत जेठ १५ को आदेशको प्रतिकूल नहुने गरी देहाय वमोजिम कार्य सञ्चालन गर्ने कास्की जिल्ला अदालतको साउन ९ गते शुक्रबारको पूर्ण वैठकले निर्णय गरेको कास्की जिल्ला अदालतका स्रेस्तेदार ढाकाराम पौडेलले जानकारी दिए ।

वन्दावन्दी खुलेपछि साउन ८ गतेवाट सार्वजनिक यातायात संचालनमा आएको सन्दर्भमा जिल्ला भित्रका सेवाग्राही हदम्याद, म्याद तारिखमा उपस्थित हुँदा साउन ८ गतेदेखि वाटोको म्याद वाहेक ३० (तीस) दिन भित्र उपस्थित हुनुपर्ने हुँदा स्वास्थ्य संवेदनशीलतालाई विचार गरी देहाय वमोजिम गरी उपस्थित हुने व्यवस्था मिलाएको स्रेस्तेदार पौडेलले बताए ।

तारेखको हकमा २०७६ चैत्र महिनामा जुन दिन जति गतेको तारेख तोकिएको थियो, सामान्यतः श्रावण महिनाको सोही गते उपस्थित हुने यदी तोकेको तारेखको दिन उपस्थित हुन नसके २०७७ भाद्र महिनाको ७ गते भित्र उपस्थित भएमा पनि तारेख नगुज्रने अदालतले स्पष्ट पारेको छ । जस्तैः चैत्र १५ गतेको तारेख साउन १५ गते, बैशाख २ गतेको भाद्र २ गते तोकिएको छ । तर तोकिएको दिनमा उपस्थित हुन नसकेमा भाद्र ७ गतेभित्र तारेख लिइ सक्नुपर्नेछ ।

गत चैत्र ०७ गते सम्मको तारेख भई तारेख गुज्रेकाको हकमा निवेदन दिनुपर्ने छ । तर चैत्र ०९ गते देखि लकडाउन अवधिमा तारेख परेकाको हकमा संवन्धित पक्ष र वारेसले निवेदन दिनु पर्ने छैन । कानुन व्यवसायीको हैसियतले समेत तारेख लिन सकिने छ । लामो दुरीका सवारी साधन र हवाई उडान २०७७ भाद्र १ वाट मात्र संचालन हुने सन्दर्भमा कास्की जिल्ला बाहेक अरु जिल्लामा रहेका सेवाग्राहीको हकमा सो कुराको निस्सा प्रमाण सहित उपस्थित हुँदा २०७७ भाद्र १ देखि वाटाको म्याद वाहेक ३० (तिस) दिन भित्र उपस्थित हुन पाउने समेत अदालतले जनाएको छ ।

साक्षी सहित उपस्थित हुन तारेख तोकिएकाको हकमा उपर्युक्तानुसार दुवै पक्ष उपस्थित भए सोही दिन साक्षीको वकपत्र हुन सक्नेछ । तर एक पक्ष मात्र उपस्थित भए दुबै पक्षको तारेख मिलान भए पछि साक्षी वकपत्रका लागि अर्को तारेख तोकिने छ ।

अदालतवाट प्रवाह हुने नियमित सेवाहरु स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी व्यक्तिगत दुरी कायम गरेर मात्र संचालन गरिने छ । अदालत भित्र प्रवेश गर्दा मास्क अनिवार्य गरिएको छ । त्यसका साथसाथै प्रवेश गेटमा सावुन पानीले हात धोई तथा स्यानिटाईजर प्रयोग गरेर मात्र अदालत भित्र प्रवेश गर्नु पर्ने छ । अन्य कुरा बुझ्नु परेमा यस अदालतमा सम्पर्क राख्न सकिने अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button