किन ओझेल पर्दैछ चलचित्र क्षेत्रमा पोखरा

पोखरा। नेपाली चलचित्र छायाकंनको मुख्य हबको परिचय बनाएको ठाउँ हो पोखरा । कोराना महामारिका कारण सिर्जित अवस्थाका कारण सबै क्षेत्रमा प्रभाव पर्दा नेपाली चलचित्र क्षेत्र पनि त्यसबाट जोगीन सक्ने कुरै भएन । नराम्ररी थलिएको छ । अवस्था सामान्य अवस्थामा फर्केन्छ भन्ने आशा राख्दा चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशकले धैर्य गरिरहेका छन् ।

नेपाली चलचित्र छायाकंनको मुख्य हबको परिचय बनाएको पोखरामा केहि वर्षदेखि चलचित्र छायाकंनको गतिविधि भने घट्दै गएको थियो । फाट्टफुट्ट रुपमा छायाकंन हुने क्रम भइरहे पनि विगतको जस्तो अवस्था कोरोना कहर भन्दा अघि पनि थिएन । पोखरा फिल्म सिटी बन्नुपर्छ भन्ने आवाज उठेपनि त्यसलाई कार्यान्वयन गर्ने निकायको साथ नपाउँदा विस्तारै चलचित्रको क्षेत्रमा पोखरा ओझेल पर्न थालेको आभाष हुन थालेको थियो ।

पोखरा फिल्म सोसाइटिका अध्यक्ष जितेश प्रधान राज्यले नै इच्छा नदेखाएको कारण पोखरामा फिल्म सिटी नबनेको बताउँछन् । केन्द्रले सबै कुरा केन्द्रमानै राख्न खोज्दा काठमाण्डौमा भिँड बढ्दै गएको छ । फिल्म क्षेत्रमा राजनीति धेरै हुने गरेकोले पोखरामा फिल्म सिटी नबनेको उनी बताउँछन् । तर पोखरामा छायाकंन हुन कम हुनु कुनै कुराको असर नभई सधै पोखरा मात्र चलचित्रमा देखाउदाँ मोनोटोनस भएकोले यस्तो भएको उनको दावी छ । चलचित्र निर्माता नयाँ–नयाँ ठाउँको खोजीमा रहन्छन् । अहिले धेरै राम्रो ठाउँहरु सडकमार्गबाट जोडिएका छन् ।

मनाङ, मुस्ताङ लगायतका नयाँ ठाउँका भर्जिन लोकेसनमा सुटिङ गर्ने चाहना पुरा गर्न यस्ता लोकेसनमा जाँदा यो अवस्था आएको उनले बताए । ‘पहिला ९० प्रतिशत बलिउड चलचित्र स्विजरल्याण्डमा छायाकंन हुन्थ्यो, अहिले बलिउडमा त्यो देख्न पाइन्न, फिल्म मेकर जहिलेपनि नयाँ लोकेसनको खोजीमा हुने भएकोले एउटै ठाउँमा अडिन सक्दैनन्, त्यसैले पोखरामा छायाकंन हुने क्रम घटेको हो’ उनले भने ।

पोखराको सुन्दरताका कारण फिल्म सिटी बनाउने चर्चा बेला–बेलामा हुने गरेको भएपनि नेतृत्वको अभावमा त्यसले साकार रुप लिन सकेन । फलस्वरुप अहिले पोखरामा हुने चलचित्र छायाकंनको गतिविधिमा कमी आएको छ । चलचित्र निर्माता नयाँपन खोज्छन् । तर पोखराको सुन्दरतामा यहाँ बनिरहेको भौतिक संरचना समेत बाधक बन्न थालेका छन् ।

चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछाने सबै मिलेर पहल गर्न सके पोखरा फिल्म सिटी अझै बन्न सक्ने बताउँछन् । चलचित्र क्षेत्रले मात्र एक्लै गर्न सक्ने अवस्था नभएकोले यो विषयलाई राजनीतिक क्षेत्रको व्यक्त्तिले समेत साथ दिदैँ नेतृत्व गर्न सके पोखरा फिल्म सिटी बन्न सक्ने चलचित्र विकास बोर्डमा समेत बसेर कार्यअनुभव संगालेको लामिछानेले बताए । ‘२०६४ सालमा पोखरामा फिल्म सिटी बनाउनुपर्छ भनेर एउटा टिम सहित निरिक्षण गरेका थियौ, ठुलो बजेटमा तहाँ फिल्म सिटी बनाउन खर्च गर्ने तयारी थियो, एउटा माहोल क्रियट भएको थियो, पछि क्याविनेटले पनि त्यसलाई निरन्तर फलो गरेन, अरु चलचित्रकर्मीले पनि चासो दिएनन् र अगाडि बढ्न सकेन’ लामिछानेले भने ।

त्यतिबेलाको सपना तुहिए पनि फेरि यसलाई जगाएर पुरा गर्न सकिने उनको तर्क छ । ‘अब प्रदेश सरकार महानगरपालिका र सबै सर्जक मिलेर पोखरालाई नेपालको मात्र नभएर संसारकै सुटिङ राम्रो स्पोट बन्न सक्छ भन्ने मेरो विश्वास छ, सबै मिलेर पहल गरे यो सम्भव छ’ उनले थपे ।

गुरुङ फिल्म एशोसिएसन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङ पोखरा फिल्म सिटी बन्न नसक्नुको मुख्य कारण राज्यसत्ताको कमजोरी भएको बताउँछन् । आवश्यक अध्ययन विना जताततै फिल्म सिटी घोषणा गर्दा भम्र उत्पन्न भएको छ । पोखरा प्राकृतिक शहर हो । तर पछिल्लो समय आधुनिक भवन र व्यवसायको नाममा पोखरा कुरुप बन्दै गएको छ । बहुल संस्कृतिको धनी पोखरा अहिले पश्चिमा संस्कार र संस्कृती तर्फ उन्मुख छ । जुन ठाउँमा फिल्म मेकरले सोचेको कुरा पाउदैनन् त्यहाँ आउने कुरा पनि त भएन । कलाकार समेत रहेका उनले भने ।

चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष गणेश भण्डारीले कास्कीको धिताल गाउँमा फिल्म सिटी बनाउने घोषणा गरिदिए । पोखरालाई सुटिङ स्पट बनाउन भन्दै तत्कालिन चलचित्र विकास बोर्डबाट निर्माण समिति संयोजक उदय सुब्बा नेतृत्वको टोलीले हालको माछापुच्छ्रे गाउँँपालिका स्थित धितालको उपल्लो अस्तामस्थित धुवाउनेको वन क्षेत्रको अवलोकन गरेका थिए ।

केहि काम शुरु हुन खोज्यो । तर कामले गती लिन सकेन । त्यस समयमा इञ्जीनियरको टोलीले समेत उपल्लो अस्तामलाई इनडोर सुटिङ्गका लागि उपर्युक्त ठानेको थियो । फिल्मी सिटि बनाउनको लागि भन्दै दुई सय रोपनी क्षेत्रफल छुट्याइएको भएपनि पहल गर्ने नेतृत्व नहुँदा फिल्म सिटी बनाउने सपना पुरा भएन । पोखरेली मात्र नभएर निर्माता, कलाकार, पत्रकार लगायतकाले समेत फिल्म सिटिको रुपमा पोखरालाई विकास गर्नुपर्छ भनेर बेला–बेलामा बोल्ने गरेपनि यो पुरा भएन ।  त्यसपछि सरकारले दोलखालाइ फिल्म सिटि बनाउन भन्दै केहि रकम खर्च गर्यो । केहि कामको सुरुवात तहाँ पनि भयो । अहिले गण्डकी प्रदेशको लमजुङ जिल्लामा स्मार्ट फिल्म सिटी बनाउन थालिएको छ । तहाँ पनि अपेक्षाकृत कार्य हुन सकेको छैन ।

हुनत वि.स. २०२३ सालमा छायाँकन भएको चलचित्र माइतीघरबाट हाल सम्म सयौं चलचित्रको छाँयाकन पोखरामा भैसकेको छ । विभिन्न भाषाभाषीको चलचित्र, टेलि चलचित्र र म्युजिक भिडियोको छायाँकन त्यतिनै संख्यामा भइसकेको छ । स्वदेशीमात्र हैन विदेशी चलचित्रको छायाँकन पोखरामा भैसकेको छ । हलिउड चलचित्र हाइवे टु धम्पुस बंगलादेशी चलचित्र रिभेन्ज, बलिउडको चलचित्र लभ इन नेपाल, इश्क इश्क, इण्डिया मष्ट वान्टेड, थाइल्याण्डी चलचित्र टु बि लभ लगायतका विदेशी चलचित्रको छायाँकन समेत पोखरामा भईसकेको छ । केहि समय अघि सम्म नेपालमा बन्ने झण्डै ६० प्रतिशत चलचित्रको छायाँकन पोखरामा हुने गरेको थियो ।
नेपाल पर्यटन बोर्डका व्यवस्थापक सुर्य थपलिया छायाकंनको लागि आवश्यक पर्ने केहि आवश्यकता पुर्ती नहुँदा पोखरा पछाडि पर्न थालेको बताउँछन् ।

थपलिया भन्छन्–‘चलचित्र छायाकंनको लागि केहि कुरा आवश्यकता हुन्छ । लोकेसनको भौतीक अवस्था, लोकेसनको आर्कषण, लोकेसनको लजिष्ट्रिक र सुविधाको अवस्था, लोकेशनसँग मिल्ने कथा प्रस्तुती । स्टोरीको लागि लोकेसन महत्वपुर्ण हुन्छ । सबै सुविधा भएको लोकेसन निर्माता तथा निर्देशकको रोजाइमा पर्छ । अहिले पोखरा बाहेक अन्य लोकेशन पनि सुटिङको लागि आर्कषण बनेका छन् । किनकी पोखरामा धेरै चलचित्र छायाकंन भए । दर्शक नयाँठाउँ हेर्न खोज्छन् । नयाँ निर्माता नयाँ प्रयोग गर्न खोज्छन् । उनीहरुले कथा, लोकेसन र प्रस्तुतीमा नयाँ प्रयोग गर्न खोज्दा पोखरा पछाडी परेको हो ।’

पोखरा महानगरपालिकाको रिठ्ठेपानीमा इण्डोर सुटिङ हलको व्यवस्था समेत छ । फिल्मका लागि आवश्यक सामग्रीसमेत भएको होटल, कलेज, अस्पताल, कैदिखाना तथा नेपाली परिवेश झल्कने दृश्यहरु एकैठाउँबाट क्यामरामा कैद गर्न सजिलो हुने गरेकोले इन्डोर सुटिङ स्थलमा ५० भन्दा बढी चलचित्रको छायांकन भए । पछिल्ला दिनमा तहाँ छायाकंन हुने क्रम घटेको छ ।

अस्ताममा बन्ने भनेको फिल्म स्टुडियो निर्माण समन्वय समितिमा उपाध्यक्ष भएर काम गरेका अन्नपुर्ण इको भिलेजका सञ्चालक विश्व अधिकारी यस क्षेत्रबाट नेतृत्व गर्ने निति निर्मातामा समन्वय र एकता नहुँदा पोखरा पछाडि परेको बताउँछन् । पोखरामा फिल्म सिटी सम्बन्धी छलफल र बहस नै भएन । पोखरामा प्राकृतिक तथा मानव निर्मित आर्कषणको केन्द्रको अभाव हुनु पनि पोखरामा छायाकंन हुन कम हुनुको एउटा कारण भएको उनले बताए । चलचित्र विकास बोर्डको केन्द्रिय नेतृत्वले स्पष्ट भिजन दिन नसक्दा पनि पोखरा पछाडि परेको उनको बुझाई छ ।

चलचित्र तथा म्युजिक भिडियो निर्देशक नेत्र गुरुङ राजनीतिक परिस्थीती तथा सहि व्यक्त्ति नेतृत्वमा नहूँदा समस्या भएको बताउँछन् । पछिल्लो समयमा रियालिस्टिक फिल्मको कथा भन्ने शैली सँगै लोकेसन खोज्न थाल्दा पोखरामा छायाकंनमा कमी आएको उनी बताउँछन् । चलचित्रमा आ–आफ्नो समाज अनि ठाउँको कथा हुन थालेकोल र त्यस्तै ठाउँको खोजी गर्दै छायाकंन गर्न खोज्दा पोखरामा छायाकंन कम हुन थालेको उनले प्रष्टाए । पोखराको सुन्दरतालाई श्रृगार्न र विकास गर्न नसकेकोले यस्तो भएको हो । धेरै चलचित्रका निर्माताहरु फेवाताल र माछापुच्छ्रेमा मात्र सिमित भए । अबको आबश्यकता फिल्म सिटी पोखरामा बन्नुपर्छ । पोखराको सुन्दरतालाई अझ सिर्गानुपर्छ । पोखराको कथा भन्ने निर्मातालाई सरकारले पनि स्थान दिनुपर्छ । पोखराका अन्य रमणिय स्थलहरुलाई समेत फोकस गर्ने हो भने यहाँ चलचित्र छायाकंन बढ्ने गुरुङको विश्वास छ ।

चलचित्र निर्देशक राजु गिरी समय अनुसार नेता फेरिदाँ फिल्म सिटी पोखरामा बन्न नसकेको बताउँछन् । नेता फेरिएपछि ठाउँ पनि फेरिन्छ । कहिले पोखरा, कहिले दोलखा कहिले लमजुङ, तर पोखरा उपयुक्त ठाउँ भएको उनको दावी छ । अहिले निर्देशकहरु फिल्मको लागि कसैले नगरेको नयाँ लोकेसन खोज्छन् । कोही विदेशमा पुग्नछे । कोही विदेश जस्तै देखिने ठाउँको खोजीमा निस्कन्छन् । केहि दिन हिडेरै भएपनि नयाँ ठाउँमा उनीहरु पुग्न खोज्छन् । तर पोखरामा हिमाल देखिने र हेर्दा आर्कषक देखिने ठाउँमा फिल्म सिटी बनाउन सके चलचित्र छायाकंन बढ्न सक्ने उनको बुझाई छ । त्यसैले पोखरा फिल्म सिटी बन्नु आवश्यक भएको उनले बताए ।
चलचित्र निर्देशक घनश्याम लामिछाने पोखरामा हुने विभिन्न गतिविधिका कारण एकसमय पोखराको चलचित्र क्षेत्रको माहोल उचाईमा पुगेको बताउँछन् ।

‘एक समय चलचत्रिमा पोखराको वर्चश्व थियो, पछिल्ला समयमा आफ्नै कारणले गर्दा हामी पछि परेका छौ, पहिला जसरी काम गर्न सकेका छैनौ’ निर्देशक लामिछानेले भने ।  पोखरामा आयोजना हुने फिल्म फेस्टिभलले केहि मात्रामा चलचित्र क्षेत्रमा पोखरालाई चिनाउन सघाएको उनको दावी छ । कोरोनाको कहरपछि चलचित्र क्षेमा पोखरा पुनः उठ्दै सकारात्मकता देखिने उनको आशा छ ।

गुरुङ फिल्म एशोसिएन नेपाल (जिफान)का अध्यक्ष भोज बहादुर गुरुङ नेपाली चलचित्र तथा गुरुङ चलचत्रिको लागि पोखरा महत्वपुर्ण ठाउँ भएको बताउँछन् । पोखरालाई चलचित्र क्षेत्रमा अझै स्थापित गर्न सबैजना मिलेर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए ।

हुनपनि नेपाली फिल्मका लागि प्रकृतिले बनाएको प्राकृतिक स्टुडियोको रुपमा पोखरा तथा यस आसपासको ठाउँलाईलाइ लिने गरिन्छ । सेतै टल्लक टल्कने मनोरम हिमाल, ताल–तलैया, छाँगा, झरना, गुफालगायतका रमणीय स्थल पोखरामा छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button