ट्राइयाथलन अनलाईन स्विमिङ्ग ‘लेभल १ कोर्ष’ शुरु

पोखरा । नेपाल ट्राईयाथलन संघको आयोजना तथा वर्ल्ड कोचेज एकेडेमीको सहयोगमा अनलाईन स्विमिङ्ग लेभल १ कोचिङ्ग कोर्ष शनिबारबाट सुरु भएको छ ।

प्रशिक्षकहरुमा बैज्ञानिक प्रशिक्षण विधी र पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्दै पौडी खेलाडीहरुमा प्रभावकारी ज्ञान प्रदान गर्ने उद्धेश्यले कोर्ष संचालन गरिएको नेपाल ट्राईयाथलन संघले जनाएको हो ।

कोर्षले प्रशिक्षकहरुमा प्रशिक्षण सम्वन्धि उच्च ज्ञान प्रदान गर्नुका साथै प्रशिक्षको भूमिका र उत्तरदायित्व, प्रशिक्षण प्रणाली र खेल सम्वन्धि बिशेष ज्ञान प्रदान गर्नेछ । प्रशिक्षकहरुले प्राप्त गरेका यस प्रकारको ज्ञानले नयाँ खेलाडी उत्पादनमा ठुलो सहयोग पुग्नुका साथै भईरहेका खेलाडीहरुको स्तर बृद्धि गर्न समेत ठुलो सहयोग पुग्ने संघको बिश्वास रहेको छ ।

शनिबार र आईतबार दुई दिन संचानल हुने कोर्षमा ट्राईयाथलन र पौडी संग सम्वन्धित २५ प्रशिक्षकहरुले विहान ८ बजे देखि अपरान्ह ४ बजे सम्म अनलाईन कोर्समा सहभागिता जनाईरहेका छन् । नेपालमा पौडी सम्वन्धि प्राविधिक ज्ञान प्रदान गर्न अनलाईन मार्फत प्रशिक्षण प्रदान गर्न लागेको यो पहिलो पटक हो ।

प्रशिक्षार्थीहरुलाई वर्ल्ड कोचेज एकेडेमीका संस्थापक निर्देशक एवं प्रशिक्षक युगिन लिले अनलाईन मार्फत प्रशिक्षण प्रदान गरिरहेका छन् । वर्ल्ड कोचेज एकेडेमीले चिन, हङ्गकङ्ग, मलेसिया, ईन्डोनेसिया, सिंगापुर र भारतमा सफलतापूर्वक कोर्ष संचालन गरिसकेको छ ।

ट्राईयाथलनको नेतृत्व हाम्रो हातमा आएको छोटो समयमानै यस खेलले विभिन्न अन्तराष्ट्रिय स्तरका खेलमा पदक हात पारेको नेपाल ट्राइयाथलन संघका अध्यक्ष निलेन्द्र श्रेष्ठले बताएका छन । उनले दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै रजत र कास्य पदक प्राप्त गर्दै दोश्रो सहभागिता १३ औं दक्षिण एशियाली खेलकुदमा दुइृ स्वर्ण, तीन रजत र एक कास्य जित्न सफल भएको बताए ।

नेपाल सुहाँउदो यस खेललाई नेपालमा आकर्षित गर्दै खेलकुद पर्यटनको रुपमा विकास गर्ने र नेपालमानै दक्षिण एशियाको ट्राईयाथलन एकेडेमी निर्माण गर्ने उद्धेश्य संघको रहेको अध्यक्ष श्रेष्ठको भनाई थियो ।

छोटो समयमानै अन्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक हात पार्दै राष्ट्रको नाम उच्च राख्न सफल यस खेललाई अझ मजुवत बनाउँदै कोरोनाका कारण खेल गतिविधीबाट टाढा रहेको प्रशिक्षकहरुको स्तर बृद्धि गर्न यस कोर्सले निकै ठुलो मद्धत पुग्ने ट्राईयाथलनका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव युवराज सुनुवारले बताए । ट्राईयाथलन पौडी, साईक्लिङ्ग र दौडको मिश्रीत खेल हो ।

कोर्षबाट पौडी सम्वन्धि नयाँ ज्ञान प्राप्त भएको र लामो दूरीको पौडी प्रशिक्षणले आगामी दिनमा पौडी खेलाडीहरुको स्तर बृद्धि गर्न मद्धत पुग्ने र नयाँ खेलाडीहरु उत्पादनमा निकैनै ठुलो कोशे ढुङ्गा सावित हुने प्रशिक्षणमा सहभागी प्रशिक्षकहरुको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button