गण्डकी प्रदेशसहित देशका विभिन्न भू-भागमा भारी वर्षाको सम्भावना

पोखरा न्यूज । जल तथा मौसम विज्ञान विभागले मुलुकभर नै मौसम बदली रहेको र ठाउँ ठाउँमा वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।

आगामी २४ घण्टामा छोटो समयका लागि देशका विभिन्न भूभागमा मध्यम र भारी वर्षा हुने उल्लेख गर्दै विभागले नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुने जनाएको छ।

विभागले गण्डकी प्रदेशसहित प्रदेश १, २, ५ र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहेको जनाउँदै ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

देशभर सामान्य बदली रही गण्डकी प्रदेशका केही स्थानहरू, बागमति प्रदेश र बाकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको उल्लेख गर्दै विभागले आज राति यी स्थानसहित सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

नेपालमा यसअघि नै पर्याप्त पानी परिसकेको भएतापनि अहिले पनि ठाउँ ठाउँमा वर्षा भइरहेको र बेलाबेलामा सामान्यदेखि चर्को घाम लागिरहेकाले यस्तो अवस्थामा पहिराको जोखिम बढी हुने समेत विभागले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button