पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य पुरा हुँदै

मेनका चौधरी। नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगेको छ । यस निकुञ्जमा करिब १ सय  पाटे बाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । यसअघिको पाटे बाघ गणनामा बाघको सङ्ख्या ८७ रहेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले पाटे बाघ संरक्षण गरिरहेको छ । निकुञ्जले अहिले बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिएको छ । बाघको सङ्ख्या बढेसँगै मानव–बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न कार्ययोजनाअनुसार काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

त्यसैगरी बाँके राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या २१ पुगेको निकुञ्जको प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जनाए । उनले भने, “नेपाल, भारत, बङ्गलादेश र भूटान बाघ दोब्बर बनाउने अभियानमा लक्ष्योन्मुख छन् । चीन, लाओस, म्यान्मा, कम्बोडिया, भियतनामलगायतका देशमा भने बाघको सङ्ख्या बढ्न सकेको छैन । अहिले विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ ।

सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरुको अन्तरराष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएका थिए । त्यही प्रतिबद्धताअनुसार नेपालले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या २५० पुर्याउनु पर्नेछ । सन् २०१० मा नेपालमा १ सय २१ वटा बाघ रहेकामा अहिले २ सय ३५ वटा पुगेको बर्दिया राष्ट्रिय निकुञ्ज संरक्षण प्रमुख बरालले जानकारी दिए ।

अध्ययनअनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेका कारण मानव र पाटे बाघबीच द्वन्द्व बढिरहेका बेलामा बर्दियामा बाघको आक्रमणबाट धेरै मान्छेको मृत्युसमेत भएको बरालको भनाइ छ । बर्दियामा बाघको आहारा र बासस्थानको उचित व्यवस्थापन एवं चोरी सिकार नियन्त्रणका कारण नेपालमा बाघ संरक्षणमा सफलता मिलिरहेको निकुञ्जका अधिकृतहरुले बताएका छन ।

बरालका अनुसार नेपालमा वयस्क बाघबाहेक उल्लेख्यरूपमा डमरु पनि रहेको र अब गणना गर्दा उक्त बिरालो प्रजातिको सङ्ख्या थप बढ्नसक्ने बताए । नेपालमा सन् २०१८ मा गरिएको एउटा गणनामा लगभग २ सय ३५ वटा बाघ रहेको पाइएको थियो । सन् २००९ मा गरिएको गणनाले नेपालमा १ सय २१ वटा बाघ रहेको आकलन गरेको थियो । यो उल्लेख्य सफलता पछिल्लो वर्षमा बाघको सङ्ख्या तेब्बरसम्म बढ्नसक्ने बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका अधिकृतहरुको भनाइ छ ।

बर्दिया निकुञ्जका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा करिब ५० वटा बाघ रहेकामा सन् २०१८ मा बढेर ८७ पुगेको थियो । पछिल्लो तीन वर्षमा चोरी शिकार शून्य रहेकाले बाघको सङ्ख्या उलेख्यरुपमा बढेका कारण उनले मानव र बाघबीच द्वन्द्व हुने खतरा रहेको छ । उनका अनुसार बाघको आहारा प्रजातिका जनाबरमध्ये चित्तल, चौका र बँदेलको सङ्ख्या पनि वृद्धि भएको छ ।

बरालले भने, “चोरी सिकारी शून्य छ र आहारा प्रजातिका जनावर प्रशस्त छन् । बासस्थानको व्यवस्थापन पनि राम्रो भइरहेकाले बाघको सङ्ख्या वृद्धि हुँदै गएको हो ।” निकुञ्ज आसपासमा वयस्क बाघसँगै डमरु पनि थुप्रै देखिन थालेका छन् । पानीका लागि बर्दिया निकुञ्जमा १ सय भन्दा बढी पोखरी निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

नेपालमा बाघको सङ्ख्या कूल २ सय ३५ रहेकामध्ये ९३ चितवन राष्ट्रिय निकुञ्ज, ८७ बर्दिया राष्ट्रिय निकुञ्ज, २१ बाँके राष्ट्रिय निकुञ्ज, १८ वटा पर्सा राष्ट्रिय निकुञ्ज र १६ वटा शुक्लाफाँटामा रहेका छन् । बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा चार मात्र बाघ रहेकामा सन् २०१८ मा यो सङ्ख्या बढेर २१ पुगेको थियो । सन् २०१८ मै लक्ष्य पूरा गरिसकेकाले अब गणना गर्दा तेब्बरभन्दा बढी सङ्ख्यामा वृद्धि हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए । सन् २०१८ मा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा गरी पाँच वटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गरिएको थियो ।

नेपालमा सबैभन्दा बढी सङ्ख्यामा बाघ चितवनमा पाइने भए पनि सङ्ख्या वृद्धिको दर हेर्दा बाँके र बर्दिया अगाडि रहेका छन् । भट्टराईले भने, “निकुञ्जको क्षेत्रफल र आहारविहारको राम्रो व्यवस्थापनले सङ्ख्या वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।” उनले भने, “पश्चिम नेपालका निकुञ्जमा भालेभन्दा पोथी बाघको सङ्ख्या बढी नै छ, त्यस कारण पनि बाघको सङ्ख्या बढेको हो ।”

निकुञ्जले संरक्षणका लागि पहल कदमी चालिएका बेला यो कदम उत्तम भएको छ यसअघि निकुञ्जमा बाघलगायत वन्यजन्तुका लागि खानेपानीको सबैभन्दा बढी समस्या बाँकेमा थियो । पानीका कारण वन्यजन्तु कर्णाली, बबई तथा राप्ती नदी किनारमा जाने गर्थे । गत आर्थिक वर्षमा मात्रै बाँके राष्ट्रिय निकुञ्जका ५२ जनावरको मृत्यु सडक दुर्घटनाका कारण भएको निकुञ्जले जनाएको छ । पानीको खोजमा निस्कँदा हुने जोखिम कम गर्न निकुञ्जमा झण्डै १ सय  वटा पोखरी बनाइएको छ । त्यसबाहेक बाघको आहारा प्रजातिका लागि दुवै निकुञ्जमा घाँसे मैदान निर्माण गरिएको अधिकारीले बताएका छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button