गाइजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै

पोखरा । गाइजात्रा पर्व आज विभिन्न कार्यक्रमको आयोजना गरी काठमाण्डौ उपत्यकासहित देशभर आरम्भ गरिदैछ।

आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ ।

गाइजात्रा पर्व मनाउने प्रचलन विशेषगरी काठमाण्डौ उपत्यकामा बढी भए पनि कास्कीको पोखरा सहित नेवार समुदायको बसोबास भएका अन्य जिल्लामा पनि यो जात्रा मनाउने गरिन्छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि यस वर्षको गाईजात्रा होशियारीपूर्वक मनाउन  र कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ।

कोरोना कहरका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ । सरकारले ज्येष्ठ नागरिक र बालबालिकालाई भीडभाडमा ननिस्कन अनुरोध गरिसकेकाले विगतझैँ यस वर्षको गाईजात्रा तामझामका साथ नहुने भएको छ ।

पोखरामा गाइजात्राको अवसरमा भैरव सांस्कृतिक संरक्षण समितिले परम्परागत रुपमा श्री भैरव गणको मुखुण्डो सार्वजनिक प्रदर्शन गर्दै आएकोमा यस वर्ष कोरोना कहरका कारण नेपाल सरकारको निर्देशन पालाना गर्दै मुखुण्डो प्रदर्शन नगरिने समितिले जनाएको छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button