२३ करोड ६२ लाख लागतको गण्डकी प्रदेशकै ठूलो सभाहलको निर्माण ६५ प्रतिशत सकियो

तनहुँ । गण्डकी प्रदेशकै ठूलो ‘तनहुँ सभाहल’ तनहुँको सदरमुकाम दमौलीमा निर्माण गरिएको छ । करिब ७५० जना क्षमताको उक्त भवनको हालसम्म ६५ प्रतिशत निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।

विसं २०७७ असार १३ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोभिड–१९ का कारण नेपाल सरकारले गरेको बन्दाबन्दीको घोषणापछि निर्माणकार्य प्रभावित बनेको हो । भवन निर्माणमा नेपाल सरकार र विदेशी दाताको संयुक्त कोष रहेको छ । रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा निर्माणाधीन उक्त भवनको निर्माणको जिम्मा श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले पाएको हो ।

व्यास नगरपालिका–३ बिपी वनबाटिकामा निर्माणाधीन उक्त भवनको करिब ३५ प्रतिशत काम सम्पन्न गर्न बाँकी देखिएको श्री डाँफे एमए प्रतिष्ठा जेभीका साइड सुपरभाइजर गौतम घिमिरेले जानकारी दिए । करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ ।

उक्त भवन चार ढलानको बनाइएको छ । भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष हुनेछन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाको आर्थिक सहयोगमा उक्त भवन निर्माण अघि बढाइएको हो । उक्त भवनमा प्लम्बिङ, बिजुली, पानी जडानका साथै फिनिसिङलगायतका काम बाँकी रहेको बताइएको छ ।

बन्दाबन्दी खुलेसँगै उक्त भवनको निर्माणकार्य शुरु गरिएको छ । अहिले १४ कामदार परिचालन गरी तीव्ररूपमा भवन निर्माणको काम भइरहेको बताइएको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले र शहरी विकास तथा भवन निर्माण विभाग आयोजना व्यवस्थापन कार्यान्वयन एकाइ पोखराका सवइञ्जीनीयर अर्जुन सुवेदीले गत शुक्रबार निर्माणाधीन सभाहल भवनको अनुगमन गरेका थिए  ।

विसं २०७४ पुस १३ मा सम्झौता गरी तीन वर्षमा सम्पन्न गर्ने योजना रहे पनि बन्दाबन्दीका कारण निर्माणकार्यमा ढिलाइ हुन गएको निर्माण कम्पनीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button