पोखरामा स्थापना भयो कोरोना परीक्षण गर्ने नयाँ मेशिन, अब रिपोर्टका लागि कुर्न नपर्ने !

पोखरा न्यूज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  गण्डकी प्रदेशलाई प्रदान गरेको कोरोना परीक्षण गर्ने नयाँ मेशिन पोखरा आइपुगेको छ ।

अहिले भैरहेका मेशिन भन्दा फरक क्षमताको उक्त मेशिनलाई प्रदेश क्षयरोग केन्द्रको प्रयोगशालामा स्थापना गरिएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । ‘आरएनए अटो एक्सट्याक्सन’ प्रविधिको उक्त मेशिनबाट कोरोना परीक्षण गर्दा अब एक दिनमै नतिजा आउने भएको स्वास्थ्य निर्देशक शर्माले बताए ।

यस अघि कोरोना भाइरस परीक्षण गर्ने क्रममा स्वाबबाट आरएनए छुट्याउन ४ देखि ५ घण्टाको समय लाग्ने गरेकोमा नयाँ मेशिनबाट ३० देखि ३५ मिनेटमा आरएनए अटो एक्सट्याक्सन हुने हुँदा अब गरिने परीक्षणको नतिजा एकै दिनमा दिन सकिने उनले बताए ।

उनले भने – “हामीले पहिले कोरोना भाइरस परीक्षण गरेर नतिजा दिन कम्तिमा पनि ३ दिन लाग्ने गरेको थियो, अव यो अवस्थाको अन्त्य हुने हामीले विश्वास लिएका छौ।“ निर्देशक डा. शर्माले नयाँ मेशिनलाई पूर्ण रुपमा संचालन गर्न सकिएको खण्डमा दैनिक ५-६ सय नमुना परीक्षण गर्न कुनै कठिनाइ नहुने बताए ।

गण्डकी प्रदेशमा विगतमा कोरोना परीक्षणका लागि संकलन गरिएका स्वाब लामो समय सम्म पेन्डीङ्गमा रहेकोमा अहिले त्यस्तो अवस्था नरहेको र नयाँ मेशिनबाट काम शुरु हुँदा अब झन् सहज हुने जनाए ।  “यस अघि आरएनए छुट्याउन ४/५ जनाको टिमलाई  ४ देखि ५ घण्टाको समय लाग्थ्यो , हिजोबाट हामीले नयाँ मेशिन जडान गरेर आरएनए  छुट्याउन थालेका छौ”, उनले भने  आधा भन्दा बढी समयको बचत भएको छ, अब केस बढेपनि  समयमै नतिजा आउनेछ ।”

अहिले गण्डकी प्रदेशमा संकलन गरिएका स्वाबको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्रबाट परीक्षण हुँदै आएको छ । गण्डकीमा प्रदेशमा हालसम्म १ हजार ५ सय ४३ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालायले जनाएको छ । प्रदेशमा संक्रमित मध्ये  १ हजार ३ सय ५२ जना स्वास्थ्य लाभ गरेर घर फर्किसकेका छन् ।

प्रदेशमा कोरोना भाइरस संक्रमणका कारण  स्याङ्जाका २ जना  र बागलुङ र गोरखाका १ -१ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button