नेपालमै पहिलो पटक जङ्गली जनावरका लागि पुल निर्माण

बाँके। बाँके राष्ट्रिय निकुञ्जले नेपालमा पहिलोपटक जङ्गली जनावरका लागि निर्माण गरेको पुल सञ्चालनमा ल्याइएको छ । बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाएको पुलको उपयोग गर्दै आएको निकुञ्जले बताएको छ ।

निकुञ्जमा जनावरले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले बताए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ । त्यस्तै कोहलपुरदेखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ ।

उनले भने, ‘‘निकुञ्जमा प्रयोगात्मक रूपमा छ वटा यस्ता पुल बनाइएको छ । बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसोलगायतका जनावरले प्रयोग गरिरहेका छन् । यसले गर्दा सवारी दुर्घटना र जीवजन्तु सवारीमा परेर मर्ने क्रम रोकिएको छ ।’’

यस निकुञ्जमा राजमार्गको दूरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ । निकुञ्ज आसपासमा क्यामरासहित पाँच स्थानमा छ वटा पुल राखिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा २ सय ६४ जनावरको मृत्यु भएको छ । गत वर्ष दुर्घटनाको जोखिममा परेका ४ सय ३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ । खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका वस्तु र यात्रुले जथाभावी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकृत न्यौपानेले बताए ।

पुल निर्माणपछि यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै उनले भने, ‘‘यस वर्षमा पाँच वटा स्याल, तीन वटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीन/तीन वटा सरीसृप र हरिणलगायतका जङ्गली जनावर दुर्घटनामा मारिएका थिए ।

निकुञ्जले यसलाई परीक्षणको रुपमा लिएको बताउँदै ‘‘छ महिनासम्म यसको अनुगमन गरिने त्यसको आधारमा थप पुल निर्माण गर्न किनेछ’’, उन ले भने । उनका अनुसार बाँदरले प्रयोग गरेको देखिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button