मिर्गौलापीडित पत्रकार श्रेष्ठलाई आर्थिक सहयोग

तनहुँ । दुवै मिर्गौला प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका तनहुँको व्यास नगरपालिका–४ घर भई हाल चितवन बस्दै आएका पत्रकार राजु श्रेष्ठको उपचारका लागि देश विदेशबाट आर्थिक सहयोग जुट्न थालेको छ । पत्रकार श्रेष्ठ उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा छट्पटिँदै आएका थिए ।

बिहीबार मात्रै अष्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अष्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि रु एक लाख ८१ हजार ४ सय ५ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ । उक्त रकम सामाजिक अभियानकर्मी लक्ष्मीभक्त खनाल, सरोज भण्डारी, मनबहादुर रुचाललगायतका व्यक्तिले मिर्गाैलापीडित श्रेष्ठको घर चितवन पुगेर हस्तान्तरण गरेका हुन ।

अष्ट्रेलिया रहेका विद्यार्थी तथा व्यावसायिक नेपाली नागरिकको सहयोगमा दिनेश खनाल अध्यक्ष रहेको अष्ट्रेलिया तनहुँ समाजले उक्त सहयोग रकम सङ्कलन गरेर पठाएको हो । तनहुँका विभिन्न पत्रिका तथा टिभी र सामाजिक सञ्जालमार्फत मिर्गौलापीडित राजु श्रेष्ठको जीवनरक्षाको खबर पाएसँगै सहयोगका लागि रकम सङ्कलन गरी पठाइएको समाजका महासचिव सूर्य खनालले बताए ।

उपचारका लागि हालसम्म करिब रु २२ लाख सहयोग सङ्कलन भइसकेको पत्रकार श्रेष्ठले जानकारी दिए । अहिले डायलायसिस गर्न थालेको उनले बताए । रु एक हजारदेखि माथि प्रायः दैनिकजसो बैंक खातामा सहयोग रकम जम्मा हुँदै आएकाले पतिलाई बचाउन सक्छु भन्ने आत्मबल बढ्दै गएको उहाँकी पत्नी बिमायाले जानकारी दिए ।  रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button