तीज गीतमा विकृति थपियो, संस्कृतिमाथि प्रहार

पोखरा । महिलाहरुको महान्पर्व हरितालिका तीज आउन केहि समय बाँकी छ । तर कोरोनाको कहरकाबिचमा समेत कलाकारले तीज गीत सार्वजनिक गरेका कारण तीजको रन्को भने बढ्दैछ । विशेषगरी तीज गीत विभिन्न विद्युतिय सञ्चार माध्ययमबाट प्रसारण हुँदा तथा युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट भई दर्शकले हेर्न थालेका कारण तीजको रौनकता देखिएको हो ।

हुनत कलाकारले सामाजिक सञ्जाल मार्फत आफ्नो तीज गीतको बारेमा जानकारी दिइरहेका छन् । कोहीले रेर्कड गरेको, केहिले भिडियो छायांकन गरेको, केहिले तयारी भइरहेको, केहिले गीत सार्वजनिक भइसकेको भन्दै अपडेट गराउदा सामाजिक सञ्जाल पनि तीज गीतमय बनिरहेको छ । वास्तविक तीज गीत झल्को दिने गीत पछिल्लो समयमा कलाकारले पस्कन नसक्दा दर्शक श्रोता भने निरास छन् ।
अनावश्यक तडक भडक, तामझामलाई स्थान दिँदा तीज गीतमा हुने लगानी भने वर्षेपिच्चे बढ्दैछ । अधिकांश कलाकारको आफ्नै युट्युब च्यानल भएको कारण समेत गीत कस्तो छ भन्दा पनि भिवर कसरी बढाउने भन्ने चिन्ता कलाकारलाई हुने गरेको छ । तीजको अवसरमा मात्र गीत निकाल्ने कलाकारहरु पनि छन् । रहरले निकाल्ने अनि जस्ताले पनि गीत निकाल्दा तीज गीतमा विकृती बढेको गुनासो बढ्दै छ । तीजको परिधि, घटनालाई समेटेर कम गीत आउने गरेका छन् । वर्षभरी घटेका घटना र आम पिडालाई महिलाले गीत मार्फत प्रस्तुत गर्ने माध्यमको रुपमा तीज गीतको जन्म भएपनि पछिल्लो क्रममा तीज गीतले मुलममलाई विर्सदै गएका छन् । अधिकांश कलाकारले तीज गीत रेर्कड गरीसके ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले तीज गीतमा देखिन थालेको विकृती प्रति चिन्ता व्यक्त गरे । ‘कलाकार छाडा भए, सस्तो लोकप्रियताको लागि आफ्नो हैसियत भुले, मादलको तालमा गाइने तीज गीतलाई, गीतारको तालमा हातमा वियर लिएर डिस्कोमा सुटिङ हुन थाल्यो’ उनले भने । तीज गीतमा देखिएको विकृतीलाई रोक्न कलाकार आफै पनि सच्चिनुपर्ने उनको भनाई छ ।

विगत केही वर्ष देखि निरन्तर तीज गीत पस्कने गरेका गायक राजन कार्कीले यसपाली भने तीज गीत निकालेनन् । उनले पनि अहिले तीज गीतमा देखएिको विकृती प्रति चिन्ता व्यक्त गरे । ‘हिजो भन्दा आज आज भन्दा भोली तीजका कोसेलीमा मोलिकता हरायो’ उनले भने ।
गायिका पार्वती जिसीले यसपाली दूईवटा तीज गीत दर्शक श्रोतामाझ पस्केकी छन् । उनी मौलिकता बोकेका तीज गीत आउनेक्रम घटेको बताउँछिन् । ‘मौलिकता बोकेका गीत भन्दा अन्य गीत बढी मात्रामा देखिएका छन्’ उनले भनिन् ।

गायक तथा शब्द संकलक राम्जी पौडेलले यो वर्ष ‘तिर्खा लाग्यो हर हर’ बोलको गीत पस्केका छन् । यो मौलिक तीज गीत भएको उनको दावी छ । ‘अहिले आएका धेरै गीत राम्रा छन्, समय अनुसार गीतसंगीतमा परिवर्तन आइरहेको छ’ उनले भने । तर उनलाई पनि तीजका गीतमा गीतार बजाउनु र ड्रमसेट बजाएर उफ्रिएको भने पटक्कै मन परेको छैन । ‘परिवर्तनको नाममा गीत अलि बढी नै आधुनकिता भित्रिनु र मौलिकता हराउदै जानु राम्रो हैन, तीजका गीतमा गितार र ड्रमसेट बजाएर जस्तो पनि पोशाक लगाएर उफ्रिनुले पक्कै पनि विकृती भित्रिएको छ’ पौडेलले थपे ।

गायक तारापति सुवेदी केहि कलाकारले तीज गीतको बेइज्जत गरेको गुनासो गर्छन् । ‘केही कलाकारले तीज गीत भनेर तीज गीतको बेइज्जत गरेका छन्, गीतार लिएर हिपप पाराले भिडियो हेर्न र सुन्न पनि गाह्रो हुने खालका गीत आएका छन्’ उनले भने ।
सुवेदीले यसपाली विगत वर्षमा जस्तै मौलिक तीज गीत रेर्कड गरेको बताए । मैले रेकर्ड गरेका तीज गीतले नेपालको मौलिक संस्कृतिम माथि आज आउने काम गरेको छैन । संस्कृती बचाउने काम गरेको छ । मैले गरेका गीतमा शब्द लय भाव र भिडियो सबै पारिवारिक छन् । अहिले आएका सबै गीतमा विकृती छ भन्न त मिल्दैन । कुनै गीत वास्तविक चेलिको मर्म बोकेका छन् । रत्यौली गीतलाई तीज गीत भन्ने दोहोरी भाकालाई तीज गीत भन्ने हाम्रो मौलीकपन र स्रस्कृतिम माथि प्रहार भएको छ । विगतका वर्षमा भन्दा यो वर्ष झन् बढी विकृतीका गीत निस्केको उनले बताए ।

उता गीत संगीतको क्षेत्रमा देखिएको विकृति विसंगती अन्त्य गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले समेत चासो देखाएको छ । जसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको बैठकले प्रतिष्ठानका उपमहासचिव शिव हमालको संयोजकत्वमा विकृती विसंगती विरुद्ध आवश्यक कार्य गर्न कार्यदल नै गठन गरेको अध्यक्ष रमेश विजीले जानकारी दिए ।

सामाजिक सद्भावमा खलल पुर्याउने एवं नियतबस दुई अर्थी अपाच्य शब्द सामाग्री प्रयोग गर्ने, श्रष्टा सर्जक कलाकारलाई प्रतिष्ठानले कालो सुचिमा नामांकीत गरी प्रतिष्ठानको कुनै पनि गतिविधिमा सम्लग्न हुन नपाउने र प्रतिष्ठानबाट प्राप्त हुने सम्पुर्ण सेवा सुविधाबाट वञ्चित गराउने निर्णय गरिएको अध्यक्ष विजिले बताए ।

पोखराबाट आए केहि मौलिक गीत

तीज पर्वलाई लक्षित गरी पोखराबाट केहि मौलिक तीज गीत दर्शक श्रोता माझ आएका छन् । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीका कारण विगतका वर्षमा भन्दा केहि कम मात्रामा गीत पोखरेली कलाकारले निकालेका छन् । लोक दोहोरी गायिका हरिदेवी कोइरालाले २०४२ सालदेखि नै निरन्तर तीजका गीत बजारमा निकालिरहेकी छन् । उनले यसवर्ष पनि तीज गीत दर्शक श्रोतामाझ पस्किएकी छन् ।

पोखराको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिमा यसपाली १७ वटा तीज गीत रेर्कड भएको सञ्चालक छवी सुवेदीले जानकारी दिए । जसमा सत्यदेवी बरालको दुई पाखे कटेरी, अम्बिका नेपालको चिटिक्कै भाकी छु, अम्बिका भण्डारीको उही बनपाखामा, कृष्ण प्रसाद गौतमको टुहुरी चेली, संगीता भण्डारी जवानी चढेछ, तारापती सुवेदीको जाउन बाबु बहिनी लिन, चन्द्रावती अधिकारी वाग्लेको दर्जा बेरोजगारको, जागीरे नाची र शहरको सुविधा र म, सावित्री गिरी भाइरस निस्क्यो, रेशम अधिकारीको देशको सवाई, दुर्गा सेन्चुरीको कम्मर मर्काइ मर्काइ, कान्ती अधिकारीको आलु बोडी तामा लगायतका गरी १७ गीत रेर्कड भए ।

पोखराको नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियो प्रालिका सञ्चालक छवि सुवेदी अहिले बजारमा आएका केहि तीज गीत मर्मस्पर्शी अनि महिलाका पिडाहरु बोकेर आएको भएपनि केही गीतहरु तीज पर्वलाई समेत व्यापारिक किसमिले चर्चा बटुल्न आफु अनुकुल बटारेर संस्कृतिलाई उपहास खालका पनि आए । ‘विशुद्ध पर्वको चाहना मर्म र संस्कृतीलाई झल्काउने गीतहरु नै सबैका चाहना हो । क्षणीक चर्चा बटुल्नेनाममा आउने गीतहरुलाई निरुत्साहित बनाउनुपर्छ’ उनले भने ।

पोखराको डिजिटल स्टार रेकडिङ स्टुडियो पोखरामा विगतका वर्षहरुमा जस्तो चापाचाप नभएको निर्देशक तारानाथ आचार्यले बताए । रेर्कड भएका गीत पुर्ण रुपमा मौलिक गीतहरु भएको उनको दावी छ । यसपाली उनले आफै एरेन्ज गरेका दूई गीत युट्युबको ट्रेन्डिङमा समेत परे ।

आचार्यको डिजिटल स्टार रेर्कडिङ स्टुडियो पोखरामा यो वर्ष रेर्कड गरेका गीतमा पशुपति शर्मा र सरस्वती लामिछानेको मुन्छे झिल्के झिल्के, पशुपति शर्मा र देवी घर्तीमगर निदाइन तीन दिन, शिव हमाल र तुलसी क्षेत्रीको बाला जोबन, कला लम्सालको पातली, दिपक अधिकारी र पार्वती जिसीको पिरतीको चर्चा रहेका छन् ।

यसैगरी शिव अखेली र गोविन्द पौडेलको बाटैमा भाइरस, नवराज अधिकारी र सरला अधिकारीको दशा, पार्वति धिताल र सरस्वती लामिछानेको रेशमले सारी, सन्तोष पौडेल र रिना केसीको तीजको रन्को, सन्तोष पौडेल र सरस्वती लामिछानेको चोली मलमलको, रामजी पौडेल र माया गुरुङको नकचरो पोइ, हरिदेवी कोइरालाको बालापनको झल्को, सुर्य खड्का र टिका सानुको सलह किराले, सिर्जना कुँवर र रेशम निर्दोषको वरिलै बर्खेझरीलाई, यम गौतम र शान्ती शर्माको ज्योतीशी बाको सहित थप ७, ८ गीत समेत डिजिटल स्टार रेकडिङ स्टुडियामा यो वर्ष रेर्कड भए ।

विगतका वर्षमा भन्दा यस वर्षमा तीजका गीतहरु अधिक मात्रामा विकृती देखिएको आचार्यले बताए । ‘तीजका गीतमा गीतार बजाएर जुन तीजको गीतको मर्मनाश गर्ने हिसाबले बजारमा आए त्यो ठिक भएन, हाम्रा मौलिक संस्कृतीको रुपमा रहेको तीज गीतमा भजन रत्यौली र गीतार प्रयोग गरेर बनाउनु नराम्रो पक्ष हो’ उनले भने । आफ्नो स्टुडियोका मैले एउटा गीत गीतार बजाएर गर्ने भनेर आएको भएपनि रेर्कड नगरी फिर्ता गरेको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button