पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जाका लागि ७८ करोड विनियोजन

पोखरा न्यूज । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको मुआब्जा वितरण गर्न ७८ करोड रुपैयाँ विनियोजन भएको छ ।

विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ७८ करोड रुपैयाँ विनियोजन गरेको हो । प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ का पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायतलाई प्राथमिकतामा राखेर प्राधिकरणले ४१ अर्ब ११ करोड ३ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न प्राधिकरणले २ अर्ब १७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  यसबाहेक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको  लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न प्राधिकरणले २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना तयार पार्ने लगायत अन्य  विमानस्थलको विकास र स्तरोन्नति गर्ने कार्यलाई नीति तथा कार्यक्रममा समावेस गरेको छ । नीति तथा कार्यक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति सँगसँगै प्राधिकरणको संस्थागत सुधार, सञ्चार उपकरण, सुरक्षा उपकरण र मौसमी उपकरण जडान गर्ने विषयले प्राथमिकता पाएको छ ।

क्यानले चालु आर्थिक वर्षको बजेट गत आर्थिक वर्षको भन्दा ५ अर्ब ८५ करोड रुपैयाँले कम विनियोजन गरेको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा क्यानले ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस वर्ष कोभिड १९ का कारण विमानस्थलहरु बन्द रहदा आम्दानी घट्ने भएकाले बजेटको आकार कम गरिएको प्राधिकरणले जनाएको  छ ।  चार महिना यता प्राधिकरणका क्रियाकलाप बन्द भएकाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम भने समावेस भएको छैन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button