भिंडाबारी एन्फा एकेडेमीः “यो ड्रिम प्रोजेक्ट हो कुनै हालतमा रोकिन्न”–अध्यक्ष शेर्पा

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले कास्की माछापुच्छ्रे गाउँपालिका स्थित भिंडावारीमा निर्माण हुन लागेको एन्फा एकेडेमी एन्फाको ड्रिम प्रोजेक्ट भएकोले निर्माण प्रक्रिया कुनै हालतमा नरोकिने बताएका छन ।

एकेडेमी निर्माण हुनु अघिनै नदी तटवन्ध गरिसक्नुपर्ने जस्ता कुराहरु सबै मनगढन्ते भएको बताउँदै अध्यक्ष शेर्पाले भने–“केही विरोध गर्ने विषय नपाए पछि यस्तो भ्रामक कुराहरु ल्याएर मेरो पालामा केही काम नहोस भन्नका लागि चलाइएको हल्ला मात्रै हो ।” उनले भने–“यो एन्फाको ड्रिम प्रोजेक्ट हो, यो प्रोजेक्टको काम कुनै हालतमा रोकिनेवाला छैन ।”

एकेडेमी निर्माणको काम धेरैनै अघि बढिसकेको बताउँदै अध्यक्ष शेर्पाले यस विषयमा फिफा संग सबै सम्झौता भइसकेको र एन्फा केन्द्रिय समितीमा समेत दुई–दुई पटक निर्णय भइसकेको बताए । उनले भने–“एउटा कुरा के सत्य हो भने तटवन्धको काम नेपाल सरकार र स्थानिय गाउँपालिकाले गर्ने हो”, उनले भने–“यो विषयमा फिफा समेत जानकार रहेको छ, त्यही सहमतीमानै निर्माण प्रक्रिया अघि वढ्दैछ ।”

भिंडावारीमा एकेडेमी निर्माणका लागि फिफा समेत उत्साहित भएको बताउँदै अध्यक्ष शेर्पाले ३–३ पटक फिफाका प्रतिनिधीहरु नेपाल आएर सो विषयमा गहन अध्ययन गरेको बताए । “पहिला पनि पोखरामा गोल प्रोजेक्ट लैजाने हल्ला चलाइयो, तर हुन सकेन” उनले प्रश्न गर्दै भने–“पश्चिमाञ्चलको केन्द्र पोखरामा एन्फाले कुनै प्रोजेक्टनै नलैजाने त ?” पोखरा फुटबलको सम्भावना बोकेको ठाउँ भएकोले प्रमुखताका साथ काम अघि बढेको उनले स्पष्ट पारे ।

भिंडावारी एन्फा एकेडेमीको माष्टर प्लान समेत तयार भइसकेको जानकारी दिंदै अध्यक्ष शेर्पाले अव टेण्डर प्रक्रिया समेत शुरु हुने बताए । कोभिड १९ का कारण टेण्डरमा ढिलाई भएको बताउँदै अव केही दिनमा टेण्डर आह्वान गरिने र शिलान्यासको काम समेत चाँडैनै अघि वढ्ने उनले बताए । “हामीले भिंडावारीमा निर्णय गर्नु अघि धेरै ठाउँमा जग्गा हेरेका थियौं” उनले भने–“तर एकेडेमीका लागि उक्त ठाउँ उपयुक्त लाग्यो, फिफाका प्रतिनिधीले पनि अवलोकन गरे पछि काम अघि बढेको हो ।”

उक्त स्थानमा २ सय ५२ रोपनी जग्गा एन्फा एकेडेमी निर्माणका लागि पाउनु ठुलो कुरा भएको बताउँदै अध्यक्ष शेर्पाले आफ्नो पालामा १५ जिल्लामा एन्फा ट्रेनिङ सेन्टर निर्माण भइसक्ने बताए ।

गोर्खा, मकावनपुर, कैलाली, धनुषा, वाँके, इलामा र झापामा एन्फाले जग्गा प्राप्त गरिसकेकोले ति जिल्लामा ट्रेनिङ सेन्टर निर्माणको काम अव तुरुन्तै अघि बढ्ने समेत बताए । उनले अव वाँकि ८ जिल्लामा ट्रेनिङ सेन्टर निर्माणका लागि उपयुक्त जग्गाको खोजी भइरहेको बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button