लोकमार्गको बागलुङ गलकोट स्थित खण्डमा जोखिमै जोखिम

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घोडाबाँधे–हटिया २० किमी खण्ड कालोपत्र भएको चार वर्ष पुग्यो । नियमित मर्मत तथा सुधार नहुँदा सडक लगभग पूर्ववत् स्थितिमा फर्केको छ । नालीको नामोनिसान छैन । पर्खाल जीर्ण छन् ।

नयाँ–पुराना पहिराले सडक कुरुप बनेको छ । कालोपत्र उप्केको छ । सडकभर खाल्डाखुल्डी छन् । यात्रामा पाइलैपिच्छे जोखिम छ । यसपालिको अधिक वर्षाले त झन सडकलाई क्षतविक्षत तुल्याएको छ ।

गलकोट नगरपालिका–१ र २ मा गरी चार ठाउँमा लोकमार्ग भासिएको छ । जम्दारे, भुङ्खानी, चौराहा र साइनपाटन सामुदायिक वन क्षेत्रमा उच्च जोखिम छ । जम्दारेको घुम्तीमा सडक भाँसिएपछि ठूला सवारी वारपार गर्न सक्ने स्थिति छैन । साँघुरिएको सडकमा बल्लतल्ल साना सवारी चल्छन् । “गाडी चलाउने जस्तो बाटै छैन, नचलाउँ किस्ता कसरी तिर्ने ?”, जीप चालक राजेन्द्र विकले भने । कालोपत्र भएको अर्को वर्षदेखि नै सडक बिग्रँदै गएको उनको भनाइ छ ।

यस वर्षायाममा सडक झन बिग्रिएको उनले बताए । लगातारको वर्षाले जमिन गलेपछि सडक भाँसिएको वडा नं २ का अध्यक्ष हेमन्त भण्डारीले सुनाए । “ठाउँठाउँमा पहिरा खस्ने र सडक भाँसिने भएपछि लोकमार्ग जोखिमयुक्त बनेको छ ।” नगरपालिकाका प्रवक्तासमेत रहनुभएका उनले भने ।

तत्काललाई पहिरा पन्छाएर यातायात सञ्चालन गर्ने गरिएपछि दीर्घकालीनरुपमा सडक सुरक्षाको काम हुन सकेको छैन । “राष्ट्रिय गौरवको आयोजना भए पनि यसको रेखदेख र मर्मत, सुधारमा खासै ध्यान गएको देखिन्न ।” अध्यक्ष भण्डारीले गुनासो गरे ।

नाली सफाइ नहुँदा बढी समस्या निम्तिएको उनको भनाइ छ । केन्द्रीय आयोजना भएको हुँदा स्थानीय तह लोकमार्गप्रति उदासिन छन् । सामान्य मर्मत सम्भारका काम पनि आयोजनालाई देखाएर पन्छिने प्रवृत्ति छ ।

सडक भाँसिएको ठाउँमा थप क्षति हुनबाट रोक्नबाहेक तत्काल अरु केही गर्न नसकिने लोकमार्ग आयोजनाले जनाएको छ । “सामान्य पटके मर्मतले हुने अवस्था छैन, पुनः ठेक्का गरेर बृहत् मर्मत सुधार गर्नुपर्छ ।” आयोजनाका इञ्जिनीयर उज्जवल शर्माले भने । आउँदो हिउँदमा काम अगाडि बढ्ने उनको भनाइ छ । घोडाबाँधे–हटिया खण्डको पूरै सडक पुनःनिर्माण गर्नुपर्ने अवस्था रहेको इञ्जिनीयर शर्माले बताए । “सडक धेरै ठाउँमा बिग्रेको छ, फेरि ठेक्कामार्फत काम गर्नुपर्छ ।” उनले भने , “आयोजनाले विभागमा बजेट माग गरेको छ, छिट्टै काम शुरु हुन्छ ।”

उक्त खण्डमा शुरुदेखि नै पहिराले सडक बिगारेको इञ्जिनीयर शर्माले उल्लेख गरे  । कमजोर भू–बनोट, पानीको उचित निकास नहुनुजस्ता कारणले पनि सडक भाँसिने, पहिरा जानेजस्ता समस्या निम्तने गरेको उहाँको भनाइ छ । लोकमार्गले जिल्लामा १४२ किमी दूरी समेट्छ । घोडाबाँधे–हटिया खण्डमा सबैभन्दा शुरुमा कालोपत्र भएको थियो । बागलुङ बजारदेखि घोडाबाँधे जोड्ने २५ किमी सडक अझै कच्ची छ । हटियादेखि पश्चिम अधिकांश खण्डमा पनि कालोपत्र सडक छ ।

मार्ग खुलको दुई दशक बित्दासमेत लोकमार्गको बागलुङ–घोडाबाँधे सडकखण्ड कालोपत्र हुन सकेको छैन । पटकपटक म्याद थप हुँदासमेत निर्माण कम्पनीले सडक कालोपत्र गर्न सकेको छैन । सदरमुकामसँगै जोडिएको सडक दूरावस्थामा छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button