बलात्कारको आरोपमा पक्राउ परेका एसएसपी अधिकारी पूर्पक्षको लागि थुनामा

पोखरा । बलात्कारको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामापाटन पोखराका प्रमुख एवं एसएसपी राजेन्द्र कुमार अधिकारीलाई मुद्दा पूर्पक्षको लागि थुनामा पठाइएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश दिपक कुमार खरेलको इजलासले मंगलबार अधिकारीलाई मुद्दा पूर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको कास्की जिल्ला अदालतका सूचना अधिकारी रामचन्द्र उपाध्यायले जानकारी दिएका छन् । अधिकारीलाई २७ वर्षीया महिलालाई तालिम केन्द्रमा बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।

‘मौकाको जाहेरी दरखास्त, बारदात स्थल, बरामदी मुचुल्का, मौकामा बुझिएका मानिसहरुको कागज तथा अभियोगपत्रसाथ प्रेषित कल डिटेल्स एस.एम.एस. संवाद समेतका मिसिल संलग्न तत्काल बुझिएका प्रमाण कागजहरु समेतबाट यी प्रतिवादी निर्दोष रहेछन भन्ने अवस्थाको विद्यमानजता नहुँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाल प्रतिवादी राजेन्द्र कुमार अधिकारीलाई मुलुकी फौजदारी कार्यबिधि संहिता¸ २०७४ को दफा ६७(१) बमोजिम मुद्दा पूर्पक्षको लागि थुनामा राख्न सोही संहिताको दफा ८० बमोजिमको थुनुवा पूर्जी दिई जिल्ला कारागार कार्यालय कास्कीमा पठाईदिनू’ । भन्ने आदेश भएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।

आइतबार कास्की जिल्ला अदालतमा अभियोगपत्र पेश भएको थियो । थुनछेक आदेशको लागि पेश भएको मुद्दामा सोमबार र मंगलबार गरी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता गुरुदत्त वाग्ले, सहायक जिल्ला न्यायाधिवक्ता पुर्ण प्रसाद शर्मा र श्री महेन्द्र प्रसाद अधिकारी तथा प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्ण बहादुर थापा तथा अधिवक्ताहरु जगन्नाथ ढकाल, राम घिमिरे, मुकुन्द अर्याल, दिपेन्द्र अर्याल र कल्पना भण्डारीले बहस गरेको उपाध्यायले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button