तनहुँमा पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई राहत

तनहँ । तनहुँको म्याग्दे गाउँपालिका–६ बेलौतेमा गत असार २९ गते पहिराले घर भत्किएर ज्यान गुमाएकी १५ वर्षीया लक्ष्मी विकको परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । पीडित परिवारलाई यस अगाडि सङ्घीय सरकारका तर्फबाट रु एक लाख प्रदान गरिसकिएको छ ।

सरकारले पहिराबाट ज्यान गुमाउने एकै परिवारका एक जनालाई रु दुई लाख र थप मृतक भएमा प्रतिमृतक रु एक लाखका दरले राहत उपलब्ध गराउने कार्यविधि पारित गरेपछि जिल्ला प्रशासन कार्यालयले पीडित परिवारलाई मङ्गलबार थप रु एक लाख प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । उक्त रकम सङ्घीय सांसद केदार सिग्देलले मृतककी आमा सनसरीलाई हस्तान्तरण गरे ।

जिल्लामा असार २९ र साउन ५ गतेको पहिरामा पुरिएर १३ जनाको मृत्यु भएको छ । ती सबै मृतकका परिवारलाई सङ्घीय सरकारका तर्फबाट प्रतिमृतक रु एक लाखका दरले र गण्डकी प्रदेश सरकारका तर्फबाट रु ५० हजारका दरले रकम प्रदान गरिसकिएको छ । सङ्घीय सरकारका तर्फबाट प्राप्त हुने थप रकम भने वितरणको प्रक्रियामा रहेको प्रजिअ आचार्यले जानकारी दिए ।

मिर्गौला पीडित श्रेष्ठलाई सहयोग

व्यास नगरपालिका–४ निवासी दुवै मिर्गौलापीडित रामलाल श्रेष्ठलाई मङ्गलबार रु ३० हजार सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका व्यवसायी नारायण श्रेष्ठको पहलमा श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

श्रेष्ठलाई व्यवसायी श्रेष्ठका तर्फबाट रु १० हजार, सामाखुशीका विष्णुकुमार श्रेष्ठका तर्फबाट रु १० हजार तथा दुलेगौँडाका व्यवसायी विमलप्रसाद रिमाल र दमौली निवासी शम्भुलाल श्रेष्ठका तर्फबाट रु पाँचपाँच हजार गरी रु ३० हजार प्रदान गरिएको छ ।  उक्त रकम नारायण श्रेष्ठ र उनकी श्रीमती पार्वतीले मिर्गौलापीडित रामलाललाई हस्तान्तरण गरे । आफै मिर्गौला पीडित भएका अवस्थामा छोराको करेन्ट लागेर निधन भएपछि सो परिवारमा पीडा थपिएकाले सबैले उनलाई सहयोग गर्नुपर्ने श्रेष्ठले बताए  ।

यस्तै व्यास युवा क्लवको अगुवाइमा सङ्कलित रु ३५ हजार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम युवा अभियानकर्मी लक्ष्मीभक्त खनाल, क्लबका अध्यक्ष मीनबहादुर गुरुङ तथा सदस्य कमल गिरी र अङ्कित गुरुङले संयुक्त रुपमा मिर्गाैलापीडित रामलाललाई हस्तान्तरण गरे । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button