जापानको कुल ग्राहस्थ उत्पादन १९८० यताकै खराब

पोखरा । जापानको कुल ग्राहस्थ उत्पादनमा सन् १९८० यताकै ठुलो संकुचन भएको छ ।

सन् २०२० को दोस्रो त्रैमासिकमा जापानको कुल ग्राहस्थ उत्पादन (जिडिपी) अघिल्लो त्रैमासिकको भन्दा ७.८ प्रतिशतले घटेको हो । यो तथ्यांकलाई वार्षिक रुपमा हेर्दा कुल ग्राहस्थ उत्पादन २७.८ प्रतिशतले घटेको जो जुन जापानको इतिहासमा सन् १९८० यताकै खराब संकुचन हो । कोरोना महामारी शुरु भए पछि जापानमा लगातार तीन त्रैमासिकमा जिडिपीमा संकुचन देखिएको छ ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा खपतमा पनि ८.२ प्रतिशतले गिरावट आएको छ । यस अवधिमा बाह्य मागमा पनि ३ प्रतिशतको गिरावट आएको जनाइएको छ । जापान सरकारले आर्थिक संकटबाट जोगाउन ल्याएको दुई आर्थिक प्याकेज यही सेप्टेम्बर अन्त्य हुने हुँदा त्यहाँका साना तथा मझौला व्यवसायलाई आउने समय अझै कठिन हुने दाबी गरिएको छ ।

जापानको कोरोना महामारी फैलिए पछि अप्रिल र मे महिनामा आपतकाल घोषणा गरिएको थियो । संक्रमण केही मत्थर हुँदै गएपछि मध्य जुलाईमा पर्यटन क्षेत्रलाई उकास्न त्यहाँको सरकारले अनुदानसहितका कार्यक्रम ल्याएको थियो । तर त्यसयता भने त्यहाँ संक्रमण दर फेरि बढ्दै गएको छ । अगस्टमा मात्र जापानमा १९ हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो जुन जापानको कुल संक्रमितको एक तिहाई हो ।

पछिल्लो तथ्यांक अनुसार जापानमा साढे ५५ हजार जनामा कोरोना पुष्टि हुँदा ११ सय कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button