कोरोनापछि फेरियो मनाङ जिल्लाकै परिचय

नवीन लामिछाने, मनाङ। हिमाल पारिको जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालन मात्र नभई अहिले तरकारी खेतीतर्फ समेत स्थानीय वासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँ मात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।

मौसमी र बेमौसमी तरकारी खेती गरेर अहिले यहाँका किसानले राम्रो आम्दानीको बाटो पहिल्याएका छन् । ङिस्याङ गाउँपालिका–५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेंडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ । पहिले आलु र फापर मात्रै हुने यस ठाउँमा अहिले तरकारी राम्रोसँग उत्पादन भएको देख्दा यहाँका किसान मख्ख छन् । वडाध्यक्ष तथा पर्यटन व्यवसायी कर्मछिरिङ गुरुङको बारीमा लगाइएको बन्दा र काउली एउटै करिब पाँचदेखि सात किलोग्रामसम्म र एउटै गाजर पनि करिब एक केजी बराबरको फलेका छन् ।

अध्यक्ष गुरुङ भने “मैले आफूलाई पुग्ने मात्र होइन, केही बेच्ने गरी तरकारी लगाएको थिएँ तर सडक अवरुद्ध भएकाले गर्दा बजार पु¥याउन सकिएन, तरकारी भने राम्रो उत्पादन भएको छ ।” आफ्नो बारीमा पूर्ण रुपमा जैविक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकारीका नाममा आलु मात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको जानकारी दिए ।

समुद्र सतहबाट तीन हजार ४८० मिटरमा उचाइमा रहेको भ्राकामा फलफूलका रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेंसीशहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नुपर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।

त्यस्तै मनाङ गाउँका पर्यटन व्यवसायी विनोद गुरुङ पनि देशैभरि कोरोना महामारीका कारण आफ्नो व्यवसाय धरापमा परेपछि खेतीपातीमा लागेएका छन । अहिले उनको बारीमा फलेका तरकारी जिल्लाकै नमूना बनेका छन् । काउली, बन्दा, गाजर र प्याजमा उत्तिकै राम्रा फल लागेका छन् । झन्डै १० किलोका काउली र बन्दा रहरलाग्दा देखिन्छन् ।

हुन त यहाँका सबै मानिस होटल व्यवसायसँगै खेतीपातीमा पनि संलग्न छन् । आफूले खान आफ्नै उत्पादनबाट नै पु¥याउने गरेको व्यवसायी गुरुङले बताए । माछा, मासु र चामल बाहिरबाट ल्याउने गरिए पनि तरकारी आफ्नै उत्पादनबाट पुग्ने गरेको उनको भनाइ छ । पहिले बेंसीशहर, डुम्रेबाट हप्तौंँ लगाई बोकाएर लगेको तरकारी खान बाध्य यहाँका बाासिन्दा अहिले आफ्नै बारीको ताजा र जैविक तरकारी खान पाउँदा खुशी छन् ।

पहिले आलु मात्र खेती गरेको र अहिले आलुसँगै काउली, बन्दा, गाजरलगायत तरकारी उत्पादन गर्दा होटल व्यवसायमा सहयोग पुगेको उनको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्षसमेत रहएका उनी जिल्लालाई कृषि पर्यटनका रुपमा पनि विकास गर्न सकिने बताए “बन्दाबन्दीले पर्यटकको आगमन नभए पनि फुर्सदको समयमा तरकारी खेती गर्न सक्षम भएका छौंँ, अब पर्यटकहरुलाई पनि स्थानीय तरकारी खुवाउन सकिनेछ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button