पोखराको एकीकृत कृषि फार्ममा फस्टाउँदै कालिज, डेढ करोड लगानीमा कुनो फेर्दै युवा

पोखरा न्यूज । पोखराको गुँदेतालस्थित कुनो एकीकृत कृषि फार्ममा युवा दाजुभाईले व्यावसायिक रूपमा कालिज पालन शुरु गरेका छन् । पोखरा–४ गैह्रापाटनका ३५ वर्षका युवा प्रकाश कोइरालाले आफ्ना ठूलो बुबाका छोरा कविन्द्र कोइरालाई साथ लिएर  पोखरा–२६ लेखनाथस्थित आफ्नो पुर्ख्यौली थलोमा व्यावसायिक कालिज पालन शुरु गरेका हुन् । उनले ‘कोइरालाको कुनो’ नामले परिचित पुर्ख्यौली थलोको २२ रोपनी जग्गा मध्ये ८ रोपनी जग्गालाई सम्माएर करिब एक वर्षदेखि कालिज पालन गर्दै आएका छन् ।

एक वर्ष अघि ५ सय चल्लाबाट कालिज पाल्न शुरु गरेका उनले अहिले आफैँले कालिजको चल्लासमेत बिक्री गर्न थालेका छन् । उनले यस अवधिमा पोखरासहित देशका विभिन्न कालिज फार्मलाई ५  हजार भन्दा बढी चल्ला बिक्री वितरण गरेका छन् । हाल फार्ममा २ हजार ५ सय देखि ३ हजार कालिज रहेको बताएका कोइरालाले एक वर्षको अवधिमा उनले १ हजार ५ सय कालिज समेत बिक्री गरेका छन् । कोइरालाले प्रतिचल्लाको रु १ हजार ५ सयका दरले र मासुका लागि प्रयोग हुने भाले माउ रु ४ हजारमा बिक्री गर्दै आएका छन् । भाले कालिज जिउँदो करिब दुई केजी हुने र पोथी कालिज भने चल्ला उत्पादनको लागि अण्डाको लागि पाल्ने गरेको कोइरालाले बताए । पोथी कालिजबाट उत्पादन भएको अण्डाहरू सङ्कलन गरेर हरेक साता जसो ह्याचिङ मेसिनमा हालिने उनले बताए । उनले नेपाल सरकारले लागु गरेका मापदण्ड र नियम कानुनको पालना गरेर कालिज पालन तथा बिक्री वितरण गर्दै आएको बताउँछन् ।

कोभिड -१९ को सङ्क्रमण पश्चात् सिर्जना भएको लकडाउन र हाल जारी रहेको निषेधाज्ञाको समयमा समेत उनी फार्ममा सक्रिय रूपमा लागिरहेका छन् । कोइरालाले फार्म रहेकै स्थानमा रेस्टुरेन्ट समेत सञ्चालन गरेका छन्। उनले त्यहाँ पुग्ने ग्राहकहरूलाई प्रति कालिज ४ हजार रुपैयाँ मै रेस्टुरेन्टमा मासुका परिकार  तयार पारेर खुवाउने गरेका छन् । कोइरालाले आफ्नो उत्पादनलाई उपभोक्तालाई पकाएर पस्कने हिसाबले सोही ठाउँमा रेस्टुरेन्ट पनि सञ्चालन गरेका छन् । कालिजको मासु स्वादिष्ट हुनाका साथै स्वास्थ्यका हिसाबले पनि फाइदाजनक भएकाले माग दिनानुदिन बढ्दै गएको अधिकारीले बताए । “कालिजको मासु चाम्रो र मिठो हुने र रातो मासु भए पनि स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेकाले अहिले ग्राहकको माग बढेको छ” , उनले भने – “ धेरै ग्राहक रेस्टुरेन्ट मै बसेर कालिज खानको लागि आउने गर्नुभएको छ।“

“कोइरालाको कुनो”मा करिव डेढ करोड लगानी गरेका उनले अहिले रेस्टुरेन्ट सँगै लज र हल समेत सञ्चालन गर्ने तयारी गरेका छन् । कालिजको मासु खान चाहने पारखीलाई राति बास बसेर खान समेत सहज होस् भनेर अहिले ५ वटा रुमहरू तयार पार्न लागेको कोइराला बताउँछन् । एकीकृत कृषि फार्म मार्फत कृषिका धेरै कार्यहरू गर्ने सोच बनाएका उनले पाँच रोपनी क्षेत्रफलमा माछा पालनको तयारी समेत गरिरहेका छन् । उनले फार्ममा आकर्षणका लागि ३ वटा अस्ट्रिज समेत पालेका छन् । पुर्खाले समतल भू- भागलाई बेचेर नबिकेर छाडेको ठाउँ “कोइरालाको कुनो” को परिचय र मुहार फेर्न युवा व्यवसायी समेत रहेका कोइराला दिनरात लागिपरेका छन् । कोइरालाले पोखरामा पोखरा वाराही ज्वेलर्स, फेवा डेण्टल क्लिनिक, मुनाल ड्राइभिङ इन्स्टिच्युट सञ्चालन गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button