बागलुङमा जडीबुटी र फलफूलको नर्सरी

गलेश्वर । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे । तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लाग्नुभयो । त्यो काम थियो श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना ।

जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीमा १९ वर्षसम्म नर्सरी रेखदेखको काम गनुभएका घिमिरेले गत चैतमा आफ्नै घरको आगनमा श्रीखण्ड, बेलपत्र, तुलसीका साथै टिम्मुर, अरिजाउलो, पखनवेत लगायतका जडिबुटी र सुन्तला, कागती, अम्बालगायत फलफूलका बिरुवा जमाउनुभयो । त्यसरी शुरु गरेको नर्सरीमा अहिले बिरुवा हर्लक्कै बढेका छन् ।

दुई लाख लगानीमा शुरु गरेको नर्सरी व्यवसायबाट घिमिरेले शुरुआती अवस्थामा नै ७० हजार आम्दानी गरिसक्नुभएको छ । जिल्लामा नै पहिलो पटक श्रीखण्ड, बेलपत्र र तुलसीजस्ता बिरुवाको नर्सरी स्थापना गर्नुभएका घिमिरेले पैसा कमाउनभन्दा पनि यस्ता औषधीय गुणलेयुक्त अमूल्य जडीबुटीको संरक्षण र प्रचारप्रसारका लागि नर्सरी स्थापना गरेको बताउनुभयो ।

उक्त नर्सरी अहिले धेरैको आकर्षण बनेको छ । कोरोना त्रासमा पनि पोखरा, पर्वत, बागलुङ, बेनीलगायत विभिन्न ठाउँबाट बिरुवाको माग हुन थालेपछि घिमिरे उत्साहित बन्नुभएको छ । “यति छिट्टै यसरी माग होला भनेर मैले सोचेको थिइन, घिमिरेले भन्नुभयो, “विशेष गरेर श्रीखण्ड, जडीबुटी र टिम्मुरका बिरुवाको माग बढिरहेको छ ।”

घिमिरेको नर्सरीमा अहिले श्रीखण्डका २००, बेलपत्रका ५०, टिम्मुरका ६०, कागतीका ३५, बिरुवा बाँकी छन् । अरु सबै बिरुवा बिक्री भैसकेको घिमिरेले बताउनुभयो । घरको आगनमा स्थापना गरिएको नर्सरीले एकातिर आम्दानी दिएको छ भने अर्कोतिर घरको सुन्दरता बढाएको छ । परीक्षणका रुपमा स्थापना गरिएको नर्सरी व्यावसायिक रुपमा नै सफल हुने देखिएपछि घिमिरेले नर्सरीमा बिरुवा वृद्धि गर्ने सोच बनाएको बताउनुभयो । हुर्केका बिरुवा बिक्री गर्नुका साथै घिमिरेले सार्वजनिकस्थल, सडक र पार्कमा लगाउने गर्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button