सञ्चार क्षेत्रमा तोडिँदै छ राजधानी र मोफसलको भेद

पोखरा न्यूज । समय परिवर्तनशील छ । हिजो जस्तो आज छैन । आज जस्तो भोलि पक्कै हुँदैन । सूचना र प्रविधिको क्षेत्रमा भएको विकासले विश्वलाई नै सानो घर बनाइदिएको छ । विश्वका जुनसुकै कुनामा भएका गतिविधि तुरुन्त थाहा पाउने स्थिति अहिले बनेको छ ।

नेपालको कुराकानी गर्दा पनि सूचना र प्रविधिको क्षेत्रमा आएको परिवर्तनका जीवनशैलीमा परिवर्तन भएको छ । हात–हातमा मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याब यस्तै धेरै सूचना प्रविधिका सामाग्री छन् । इन्टरनेटको पहुँच बढ्दो छ । जे काम गर्न पनि राजधानी जानुपर्ने, सदरमुकाम जानुपर्ने बाध्यता बिस्तारै हट्दै छ ।सञ्चारका साधनको कुरा गर्दा झनै धेरै परिवर्तन देखिएको छ । हिजोको जस्तो सरकारी सञ्चार माध्यममा मात्र भर पर्नुपर्ने । जनताका कुरा । कुना कन्दराका कुरा । भर्खरै बामे सर्दै गरेका राजधानी बाहिरका सामाग्रीले खासै स्थान पाउँदैनथ्यो ।

२०४९ सालमा राष्ट्रिय सञ्चार नीति र राष्ट्रिय प्रसारण ऐन बनेपछि निजी लगानीमा विद्युतीय सञ्चार स्थापनाका निमित्त कानुनी बाटो खुल्ला भयो । अनि निजी लगानीका सञ्चार माध्यमको स्थापना हुने क्रम सुरु भयो ।  निजी लगानीका सञ्चार माध्यमले सरकारी सञ्चार माध्यमको एकाधिपत्य लाई तोड्दै आफ्नो पहुँच बढाए । आफ्ना कुराले स्थान नपाउँदा निराश बनेका जनतामा आशाको किरण छायो । निजी सञ्चारमाध्यमको स्थापना राजधानीमा मात्र सीमित रहेन । बिस्तारै राजधानी बाहिर फैलँदै गयो । ठुला लगानीका मिडिया राजधानीमै थिए । पैसा, पहुँच र प्रभावको कारण समेत ती लोकप्रिय थिए । अझै कहिले यसलाई कायम राखेकै छन् । तर राजधानी बाहिरका मिडियाले जतिसुकै मेहनत गर्दा पनि टिकाउन धौ–धौ थिए । बन्द हुने तथा खुल्ने क्रम भने जारी नै थियो । केहीले स्थानीय स्तरमा राम्रै प्रभाव छाडे । तर केन्द्रको नजरमा परेर सेवा सुविधा पाउन गाह्रो भयो ।

जब अनलाइन सञ्चार माध्यममा व्यापक विकास भयो तब सञ्चार क्षेत्रमा नयाँ हलचल ल्याइदिएको छ । हुन त अनलाइन सञ्चार माध्यम नेपालमा शुरु भएको दुई दशक नाघिसक्यो । अनलाइन सञ्चार माध्यमसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता आएपछि अधिकांश रेडियो, टेलिभिजन, पत्रिकाले आफ्नै अनलाइन सञ्चालन गर्न थाले । आफूलाई प्रविधिसँग अपडेट गर्न खोजे । अपडेट गरे पनि, केही पत्रपत्रिका बन्द भए । केही भने प्रिन्ट संस्करण छोडेर अनलाइन तर्फ मोडिए । केहीले सर्कुलेसन घटाए । पेज घटाए । जुन कुरा अहिले घाम जतिकै छर्लङ्ग छ ।फलस्वरूप हिजोको जस्तो मोफसल र राजधानी भन्ने भेदमा परिवर्तन आउन खोजेको छ । देश सङ्घीय संरचनामा गएकोले राजधानीकै सङ्ख्या बढेको छ । सङ्घीय र प्रदेश गरेर ।

अहिले अनलाइन मिडिया खुल्ने क्रममा व्यापकता आएको छ । २०७७ साल साउन ८ गतेसम्म प्रेस काउन्सिलमा सूचीकरण हुनका लागि आवेदन दिएका अनलाइनको सङ्ख्या २ हजार १ सय ४८ रहेको प्रेस काउन्सिल नेपालको अफिसियल वेभ साइटमा देखिन्छ । केही अनलाइन व्यवस्थित रूपले अगाडि बढ्न खोज्दै छन् । अझ केही भने अझै व्यवस्थित हुन सकेका छैनन् । केही रहरले आएका छन् स्पष्ट भिजन छैन । पछिल्लो क्रममा विकास भएको अनलाइन सञ्चार माध्यमकै कारण अहिले सञ्चार क्षेत्रमा राजधानी र मोफसलको भेद मेटिँदै छ । अनलाइन सञ्चार माध्यममा राखिएका सामग्रीको पहुँच इन्टरनेटको सुविधा भएका सबै ठाउँमा पुग्न सक्ने अवस्था अहिले बनेको छ । अनलाइन मिडियामा आएका सामाग्री भाइरल हुन समय लाग्दैन ।

दक्ष तथा मिडिया क्षेत्र सम्बन्धी अध्ययन गरेका दक्ष जनशक्तिको अभावमा प्रकाशन र प्रसारण भइरहेका सामाग्रीको गुणस्तर र विश्वसनीयतामा प्रश्न उठ्ने गरेको छ । यसतर्फ सन्तुष्ट हुन सक्ने अवस्था पटक्कै छैन । अझ बढी राजधानी बाहिरका अनलाइन सञ्चार माध्यमले यसमा ध्यान दिन जरुरी छ । किनकि धेरैको मानसपटलमा जरा गडेको राजधानी प्रतिको मोहलाई तोड्न सजिलो भने पक्कै छैन । त्यसैले राजधानी बाहिरबाट सञ्चालित अनलाइन सञ्चार माध्यम प्रतिको आकर्षण बढाउन केही मेहनत भने पक्कै गर्नुपर्ने देखिन्छ ।

एउटा प्रसङ्ग अहिले सेयर गर्न मन लाग्यो । एक जना राम्रै नाम चलेका पोखराका कलाकार । जसको बारेमा मैले पटक पटक समाचार लेखेको छु । उनीसँग मेरो सामिप्यता नभएको पनि हैन तर हालै उनले मलाई दिएको एउटा जवाफले भने मलाई झस्काइरहन्छ । कुरा के भने मैले फरक एंगलमा एउटा सामाग्री तयार पार्न खोजे र उनलाई प्रश्न गरे । उनको जवाफ मैले अपेक्षा गरेको भन्दा फरक आयो । उनको जवाफ यस्तो थियो – ‘ काठमाण्डौ बाट १५, १६ जनाले सोधिसके । केहीको आइसक्यो, केही आउन बाँकी छ ।’ अपेक्षा विपरीतको उनको उत्तरले म झस्किए । यहाँ काठमाण्डौ भन्ने शब्द नभई १५,१६ जनाले सोधिसके भनेको भए अथवा पोखराबाट समेत सोधे भनेको भए मैले चित्त बुझाउँथे । उनी पनि पोखरामा बस्ने र मेरो कर्म क्षेत्र पोखरा भएकोले सो विषयलाई गहिरो गरी लेख्ने मेरो धोको पुरा हुन पाएन । उनलाई मैले फेरि भने ‘मैले तपाईँलाई प्रश्न गर्दा मोफसलमा छु भन्ने बिर्सेछु ।’ उनले पुनः भने ‘मेरो तात्पर्य त्यसो होइन’ ।केही महिना अगाडि पनि एउटा प्रश्नमा उनले उत्तर दिन खोजेनन् । विचार राख्न सामाजिक सञ्जाल उपयुक्त लाग्छ भन्ने जवाफ दिएका थिए तर म उनको गोपनीयता खोल्दिन । किनकि म उनको प्रशंसक पनि हुँ । उनका बारेमा समाचार लेख्ने काम निरन्तर जारी राख्छु । किनकि उनले कर्म छोडेका छैनन् । हो उनी जस्तै केही व्यक्तिलाई अझै पनि पुरानै धङधङी छ । समय अनुसार अपडेट छैनन् । पुरानै अवस्था सम्झिरहेका छन् ।

अर्को एक जना कलाकार जो राजधानीमा बस्छन् । उनको पहुँच राजधानीका मिडियासँग मात्र हैन देशका प्रतिष्ठित व्यक्तिसँग पनि राम्रै छ । एक दिन उनी आफैले मलाई सम्पर्क गरी आफ्नो सामग्री प्रसारण गर्न अनुरोध गरे । कुराकानी गरे । उनी बारेका सामग्री प्रकाशन र प्रसारण भए ।यसरी हेर्दा सङ्घीय राजधानीमा भएका कलाकार त्यहाँ भन्दा बाहिर आफ्नो पहुँच बढाउँदै छन् । तर यहीँ रहेका कलाकार ‘नजिकको तीर्थ हेला’ भनेझैँ केन्द्रमा मेरो पहुँच छ भन्ने घमन्ड देखाउँदै छन् ।

अनलाइन माध्यमलाई यसअघि अलि हेयको दृष्टिले हेर्ने केही अग्रज तथा उनका सञ्चार माध्यमले समेत यसलाई प्राथमिकतापूर्वक अङ्गालेको देख्दा खुसी लाग्छ । तर घरघरै अनलाइन सञ्चार माध्यम स्थापना हुने क्रम बढेकोले यसले गलत छाप पार्न सक्ने हुँदा सचेत हुनुपर्ने छ । शैली पुस्तिका र सबै पूर्वाधारले सम्पन्न समाचार कक्षको टड्कारो आवश्यकता छ । विश्व भरी महामारीको रूपमा फैलिएको कोभिड १९ को कारण पनि अनलाइन मिडियातर्फको आकर्षण बढाएको छ । विद्युतीय तथा छापा माध्यमबाट रोजगारी गुमाएका धेरै पत्रकारिता क्षेत्रका हस्तिहरूको आगमन अनलाइन मिडियामा भएको छ । जसका कारण अहिले अनलाइन सञ्चार माध्यम खोल्ने क्रम समेत बढेको छ ।

केही समय अगाडि दर्ता नभएको अनलाइनको उद्घाटन गर्न पत्रकार महासंघ कास्कीका अध्यक्ष पुगेपछि आलोचना भएको थियो । हुन त अहिले विगतको जस्तो अवस्था छैन । पाठक पनि सचेत भइसकेका छन् । यदि पत्रकारिताको मूल्य मान्यता, आचारसंहिता तथा पाठकको आवश्यकतालाई ख्याल गर्दै सामाग्री निरन्तर प्रकाशन गर्न सकेको खण्डमा जुनसुकै ठाउँमा बसेर पनि आफ्नो सञ्चार माध्यमलाई अब्बल सञ्चार माध्यमको रूपमा स्थापित गर्न सकिन्छ । बस् मेहनत, लगन, परिश्रम र प्रविधिसँग परिचित हुनुपर्छ । अब पुरानो धङधङी तथा राजधानी र मोफसलको भेद तोड्दै सबै समान रूपले प्रतिस्पर्धामा उत्रन प्रयास गरौँ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button