कतारबाट २९७ नेपाली स्वदेश फर्किए , उद्धार टिकटमा ६ जना उडे

पोखरा न्यूज । कतारको दोहाबाट आज बिहान नेपाल तथा हिमालयन एयरलाइन्सले ३१औँ तथा ३२ औँ सहजीकरण चार्टर उडान गरेका छन् । उक्त उडान मार्फत २९७ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

गत डिसेम्बरमा सोलुखुम्बुबाट वैदेशिक रोजगारीको सिलसिलामा कतार आएकी रञ्जितता भुजेल मार्चबाटै काम तथा तलब विहीन बनिन । उनीसङै इलामकी दानमाया राई तामाङ, सोलुखुम्बुकै पेमा शेर्पा पीडित बने । नुवाकोटकी मुना लामा ११ महिनाबाट कतारमा कार्यरत रहे पनि मार्च १० बाट नै जागिर तथा खाना विहीन बनिन । खोटाङका डिक बहादुर बुढाथोकी ४ वर्ष देखी कतारमा कार्यरत थिए तर किस्मतको रोटी डढ्यो र जागिर तथा खाना विहीन बने । सर्लाहीका राजेश सहानी २ वर्षबाट कतारमा रहे पनि मार्चबाटै पीडित बने।

उनीहरू जागिर तथा खाना विहीन बनेसङै नेपाल फर्कन ठुलो समस्या बन्यो । पैसाको रङ्ग कस्तो हुन्छ भन्ने समेत भुलेका उनीहरूको दुखमा म्यानपावरले समेत कोरोनाको कारण देखाउँदै फिर्ती टिकट दिन अस्वीकार गरेपछि उनीहरूको दुख झन् पहाड बन्यो । कतारमा कोरोनाका कारण अति नै समस्यामा परेका श्रमिकहरूलाई उद्धार गर्ने हेतुले नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाली व्यवसायी सङ्घ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट निःशुल्क उपलब्ध गराउने नीति बमोजिम उनीहरूको नेपाल जाने सपना साकार पार्दै दुखको पहाड चिरिएको हो ।

कतारमा दुख जिलो गरेर टिकटको जोहो गरेका म्याग्दीकी मिना कुमारी छन्त्याल, झापाकी विष्णुमाया माझी र उदयपुरकी मिना खत्रीलाई स्वदेश फिर्तीका लागि आर्थिक सहयोग तथा उद्धार समितिले काठमाण्डौबाट घर सम्म पुग्नका लागी सवारी भाडा समेत उपलब्ध गराएको छ । कोरोना कारण अलपत्र परेर नेपाल जान नपाएका पीडित नेपालीहरू दैनिक बढ्दै गइरहे पनि सरकारले चार्टर उडानका लागी पनि नियमित जहाज पठाउन नसकेको प्रति यात्रुहरू रुष्ट थिए ।

नेपाल प्रस्थान गर्ने यात्रीहरूको यात्रा सहजीकरणको तथा बिदाइका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली नियोगका दित्तीय सचिव प्रवीण भट्टराई, एनआरएनए आइसिसी सदस्य रमेश भट्ट, प्रवासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल, आवासीय नेपाली सङ्घ कतारका अध्यक्ष मोहम्मद मुक्तदा लगायतका व्यक्तिहरू एयरपोर्ट पुगेका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button