रेडियो क्रेज घटेको हैन, घटाउन खोजियो

पोखरा न्यूज  । कोरोना कहर हुनुभन्दा अगाडिनै पोखराका एकजना एफएम रेडियो सञ्चालकले भन्दै हुनुहुन्थ्यो –‘अहिले एफएम रेडियो कसैले सुन्दैनन् । विज्ञापन आएन । पहिला श्रोताका फोन आएर हैरान हुन्थ्यो, अहिले श्रोताका फोन आउनै छोडे । कहिलेकाही बन्द हुँदा पनि कसैले चासो देखाएनन् के भएको होला ।

’अनि उहाँसगै रहनुभएका अर्का साथीले भन्नुभयो – ‘तपाईको रेडियो किन सुन्ने ? श्रोताको लागि सुन्नुनैपर्ने कार्यक्रम के छ ? धेरै समय गीत मात्र बज्छ । अनलाइनमा आइसकेका सामग्री जस्ताको तस्तै पढिन्छ । गीत सुन्न युट्युब छ । अन्य उपाय छन् । अनलाइनको समाचार रेडियोले पढ्नुभन्दा अगाडिनै पढिसकेका हुन्छन् ।’

अनि उहाँले सर्मथन जनाउदै भन्नुभयो ‘हो हुन त ।’

अहिले अवस्था झनै जटिल बनेको छ । कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव छ । व्यवसाय ठप्प छन् । भएका विज्ञापन धमाधम काटिदैछन् । कहीले अवस्था सामान्य होला भन्न सक्ने अवस्था छैन । यो अवस्थासँग जुध्न रेडियोलाई फलामको चिउरा चपाउनु सरह हुन लागिसक्यो । धेरैजना रेडियोबाट विस्थापित भइसके । कार्यरत रहेका आम्दानीमा सन्तुष्ट नहुँदा विकल्प खोज्दैछन् ।

एफएम रेडियोको आम्दानी तथा क्रेज घट्नुका कारण ती एफएम रेडियो आफै हुन् । पोखराको कुराकानी गर्नुपर्दा २०५७ चैत्र ७ गतेबाट डेढ महिनाको अवधिमा पोखरामा चारवटा एफएफ सञ्चालनमा आए । यसले कास्की अनि यस आसपासका रेडियो तर्फको क्रेजलाई ह्वात्तै बढाइदिएको थियो । त्यतिबेला कास्कीको छिमेकी जिल्लामा एफएम रेडियो सञ्चालनमा थिएनन् ।

यसरी खुलेका सबै रेडियोले आफ्नो क्रेजलाई उचाईमा पु¥याउन जोड तोडका साथ मेहनत गरे । कसरी अरु भन्दा फरक बन्दै श्रोताको मनमा बस्न सकिन्छ भन्ने ध्याउन्नमा रेडियो थिए । कार्यक्रम, समाचार तथा विज्ञापन तयार पार्दा र प्रसारण गर्दासम्म निकै मेहनत गरिन्थ्यो । त्यसका लागि उपयुक्त पात्र अनुसार कार्य विभाजन हुन्थ्यो । यसरी गरेको परिश्रमको प्रतिफल राम्रो आउथ्यो ।

चारवटा मात्र रेडियो भएपनि रेडियोबिचमा तिव्र प्रतिष्पर्धा थियो । प्रतिष्पर्धाका कारण प्रसारण गरिने सामग्री श्रोताले अपेक्षा गरे अनुरुपका हुन्थे । प्रस्तोता मात्र हैन श्रोता समेत उत्तिनै सचेत थिए । चारवटै रेडियोमा प्रसारण हुने सामग्री, बोल्ने प्रस्तोता, समाचार बाचक सबैलाई आवाजको माध्यमबाट श्रोताले चिन्ने गर्दथे । कार्यक्रम मात्रै हैन विज्ञापनमा बजेको आवाजलाई श्रोताले छुट्याइहाल्थे । रेडियोहरुले समाचार, अन्र्तवार्ता, श्रोता सहभागीताका कार्यक्रम, महत्वपूर्ण सूचना, रिपोर्ट, भक्सपप मात्र नभएर सामाजिक कार्यमा क्रियाशिलता देखाउदै आफूलाई अब्बल राख्ने प्रयास गर्थे । विज्ञापन दाताले फोन गरेरै बोलाएर विज्ञापन दिन्थे । श्रोता टाढा–टाढाबाट भेट्न आउथे । रेडियोमा काम गर्ने सेलिब्रेटि बनेका थिए ।

२०६२–२०६३ सालको आन्दोलनमा आठौँ दलको रुपमा रेडियोले आफ्नो उपस्थिती देखाए । व्यवस्था परिवर्तन गर्न जनतालाई जागरुक गराउने उपयुक्त सञ्चार माध्यमको रुपमा रेडियो देखियो । यसले रेडियोको क्रेज र महत्वमा बढावा दियो । विस्तारै रेडियोको संख्या थपिदै गयो । रेडियो छोड्ने अनि आफै रेडियो सञ्चालन गर्ने चलन देखिन थाल्यो । त्यसले विस्तारै बजारमा प्रभाव प¥यो । बजारको तात्कालिक अवस्थाको मुल्याकंन गरेर अगाडि बढ्न खोजिएन । भएजती सबै फ्रिक्वेन्सी वितरण गरियो । पोखराको कुराकानी गर्नुपर्दा अहिले लाइसेन्स प्राप्त ३ दर्जनको हाराहारीमा रेडियो छन् । केही रेडियो बन्द छन् । केही जसोतसो चलिरहेका छन् । तर अवस्था सुखद देखिदैन ।

अहिले अधिकांश रेडियोले फेसबुक मार्फत लाइभ गर्दै सामाग्री प्रसारण गर्छन् । यसले रेडियो प्रतिको आर्कषण बढाउदैन । रेडियोमा काम गर्ने तर आफ्नो अनुहार देखाउने हुटहुटी देखिन्छ । नमिलेको स्टुडियो, किरमिर किरमिर क्यामेरा, दर्शकको अपेक्षा विपरितको प्रस्तोताको हाउभाउले प्रसारण सामग्रीलाई खल्लो बनाइदिएको छ । अनुहार देखाउन रहर हुनेको लागि टेलिभिजन, सामाजिक सञ्जाल छदैछ । तर रेडियोका कार्यक्रमहरु भिडियो सहित लाइभ गर्ने चलन बढ्दै गएको छ । यसले श्रोतालाई रेडियो सुनेको अनुभुती गराउदैन । रेडियो प्रतिको आर्कषण बढाउन श्रोताको माग र आवश्यकता अनुसारका सामग्री प्रसारण गर्न सकेको देखिदैन । आवाज मात्र सुन्दाको अनुभव र भिडियो सहित सुन्दाको अनुभव फरक हुन्छ । हात–हातमा मोबाइल हुनु भनेको हात–हातमा रेडियो हुनु हो । श्रोतालाई सुन्न ‘कन्टेन’ आर्कषक हुनुपर्छ । आवाजविहिनहरुको आवाज रेडियोले दिनसक्नुपर्छ । प्रसारित सामाग्रीमा मेहनत गर्दे पर्याप्त जानकारी दिनसक्नुपर्छ । नत्र गीत सुन्नका लागि अन्य विकल्प छन् । कन्टेन आर्कषक हुने हो भने रेडियो प्रतिको आर्कषण बढ्दै जानेछ । धेरै रेडियो गीतहरु मात्र बजाएर खाली समय पुरा गरिरहेका छन् । केहीले रिले प्रसारण गरी खाली समय पुरा गरिरहेका छन् । यसले रेडियोको क्रेज बढाउदैन ।

रेडियोमा आवश्यकता अनुसारको जनशक्तिको अभाव देखिन्छ । काम गरे बापतको पारिश्रमीकले जीवन धान्न नसकेको कारण रहरै रहरमा रेडियोमा आउने र सबै कुरा बुझेपछि पलायन हुने गरेको समेत देखिन्छ । पुराना अनुभवी र मिडिया सम्बन्धी अध्ययन गरेका जनशक्ति भविष्य नदेखर रेडियोबाट पलायन हुँदैछन् । यो सुखद पक्ष हैन । कतिले कामदार बन्नुभन्दा आफैले रेडियो स्थापना गरेर मालिक हुने बाटो रोजे । तर बजारले धान्न नसक्ने तथा श्रोतामाझ आफ्नो पकड कायम गर्न नसक्दा आर्थिक रुपमा समस्या हुन थालेको छ । यो अवस्था सामान्य होला नहोला भन्न सक्ने अवस्था देखिदैन ।

झनै अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ ले एफएम रेडियो टिकाउन समस्या भएको छ । रेडियोको क्रेज घटाउनमा सरकारको समेत हात छ । सर्वेक्षण नगरी पहुँचका आधारमा विना योजना लाइसन्स वितरण गर्दा समेत खुलेका रेडियोको टिकाउपनामा समस्या आएको छ । श्रोता सर्वेक्षण विनानै हाम्रो रेडियो अब्बल हो भन्दै फलाक्न सञ्चालमा रहेको रेडियोले कुनै संकोच मान्दैनन् । आफैले आफैलाई उत्कृष्ट भन्ने होडबाजी क्रेज घटाउन खोज्नुको अर्को कारण हो । रेडियोले नयाँ पुस्तालाई आर्कषण गर्न सो खालका सामग्री प्रसारण गर्न सकेको देखिदैन ।

भर्खरै पोखराको एक एफएमा स्थापनाकालदेखि कार्यरत ५ जनाले राजीनामा दिएपश्चात यसले तरगं ल्याएको छ । भित्रभित्र छोडेका कति छन् छन् । त्यसको लेखाजोखा छैन । कती तोकेको पारिश्रमीक नपाउदा निरास छन् । त्यसोत आफ्नो रहर पुरा गर्नका लागि विना पारिश्रमीक कायम गर्न खोज्नेहरु समेत हुँदा व्यवसायिक रुपमा अगाडि बढ्न खोज्नेलाई समस्या पारेको छ ।

रेडियोको क्रेज तथा सञ्चालनमा रहेका रेडियोको आर्थिक अवस्था मजबुत नहुनुका केही कारण छन् । प्रविधिसँग अपडेट भएका सञ्चारकर्मीको कमी, सैद्धान्तिक ज्ञान नभएका तर कार्य अनुभवमात्र भएका सञ्चारकर्मी, सिमित साधन र प्रविधी (रेकर्डिङ स्टुडियो, रेकर्डर, सम्पादन प्रविधी आदि), खोज अनुसन्धानका लागि आर्थिक स्रोत र दक्ष पत्रकारको कमी, पत्रकारहरुको राजनीतिक आस्था, अन्य व्यक्तीगत चासोले प्रसारण सामग्रीमा प्रभाव, रेडियोका पत्रकार भएपनि कैयनमा रेडियो पत्रकारिताका विशेष ज्ञानको अभाव, संस्थाको आफ्नै समाचार लेखन वा बाचन शैलिको निर्देशिका अभाव, करिअरकै रुपमा भन्दापनि सोखका रुपमा संलग्नता आदी कारण रेडियोको क्रेज तथा यसप्रति विज्ञापनदाताको आर्कषण घट्दै छ ।

नेपालमा २००७ साल चैत्र २० गते रेडियो नेपालको औपचारिक आरम्भ भए पश्चात रेडियो नेपालले विद्युतिय सञ्चार क्षेत्रमा आफ्नो पकड कायम ग¥यो । २०५२ सालबाट एफएम रेडियोको प्रसारण सुरु भयो । २०५२ साल माघ २८ गते इजाजत प्राप्त गरेको यो सरकारद्धारा सञ्चालित एफएम रेडियो थियो । गैरसरकारी तवरबाट एफ एम रेडियोको सुरुवाता २०५४ सालबाट भएको हो । नेपाल पत्रकार पत्रकार समुहले २०५४ साल जेठ ५ गतेबाट सामुदायिक रेडियो रेडियो सगरमाथा सञ्चालन गरेपछि निजी क्षेत्रमा एफ एम रेडियो स्थापना हुने क्रम सुरु भएको थियो । नेपालको पहिलो व्यवसायिक रेडियो कान्तिपुर हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २०७४ साउन ९ गते अपडेट गरिएको विवरण अनुसार नेपालमा ७ सय ४० वटा एफ एम रेडियो सञ्चालनमा रहेका छन् ।

विद्युतिय सञ्चारको सशक्त माध्यम रेडियो हो । अब रेडियोको क्रेज कायम राख्नका निमित्त उपयुक्त कदम चाल्नुपर्ने अवस्था आएको छ । यसको लागि संख्यात्मक भन्दा गुणात्मक रुपमा अपग्रेड गर्दै रेडियो सञ्चालनमा आउनुपर्छ । रेडियोको विकल्म मात्र रेडियो हुने खालको स्थिती ल्याउन मेहनत गर्नुपर्ने देखिन्छ । रेडियोको क्रेज घट्ने स्थिती रेडियोकर्मी, जथाभावी लाइसेन्स वितरण गर्ने सञ्चारमन्त्रालय, सञ्चालन गर्न खोज्ने रेडियोका सञ्चालक र रहरै रहरमा काम गर्न खोज्ने रेडियोकर्मी हुन् । यसको क्रेज बढाउदै महत्व घट्न नदिन सोच्नुपर्ने देखिन्छ । केही रेडियोले क्रेज बढाउनका लागि केही प्रयास गरेका छन् । यस्तो प्रयासलाई श्रोताले साथ दिएका छन् । तर पूर्ण सन्तुष्ट हुने अवस्था छैन । अब रेडियोको क्रेज बढाउन रेडियोकर्मी, रेडियोका सञ्चालकले सोच्नुपर्नेबेला आएको छ । समयमानै सोचेर आवश्यक कदम चाल्न नसके रेडियोको क्रेज साच्चिकै घट्नेछ व्युँतिन नसक्ने गरी, सोच्ने की ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button