म्याग्दीको एउटा पर्यटकीय सम्पदा बेलढुङ्गा नासियो

गलेश्वर । धौलागिरि क्षेत्रको प्रकृति दर्शनका लागि उत्कृष्ट स्थल मानिएको बेलढुङ्गाको चट्टान फुटेर छियाछिया भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बनेको थियो । शनिबार राति बेलढुङ्गाको चट्टान फुटेर पहिरो गएपछि पर्यटकीयस्थलको सौन्दर्य गुमेको हो । “चट्टान फुटेर काम नलाग्ने भएको छ, बेल ढुङ्गाको प्राकृतिक सौन्दर्य गुम्यो”, स्वर्गाआश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रत्नबहादुर जिसीले भन्नुभयो ।

विस २०७२ वैशाखको विनाशकारी भूकम्पबाटसमेत जोगिएको चट्टानलाई केन्द्रित गरी भकिम्ली र बागलुङको धम्जाबीच बेलढुङ्गामा विकासका पूर्वाधार निर्माण गर्न होडबाजी नै चलेको थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुने गरेको अवस्थामा सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने गरेको थियो ।

समुद्री सतहदेखि दुई हजार ६१८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँहरु, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ ।

बेलढुङ्गा प्राकृतिक सौन्दर्यावलोकनका लागि मात्रै होइन आध्यात्मिक चिन्तनका लागि पनि उपयुक्त स्थान मानिन्छ । भकिम्लीको स्वर्गाश्रमबाट करिब एक घण्टाको उकालो छिचोलेपछि बेलढुङ्गा पुग्ने मार्ग समेत निकै आर्कषक बनिरहेको छ । बेलढुङ्गाबाट धौलागिरी क्षेत्रका सम्पूर्ण तीर्थस्थल, बाघ, भालु, चितुवालगायतका वन्यजन्तु, डाँफे, मुनाल, वनकुखुरोलगायतका पक्षी र चैत वैशाखमा राताम्यै फूलेका लालिगुराँसले यहाँ पुग्ने जोसुकैको मनलाई आकर्षित गर्नसक्ने भएकाले पछिल्लो समय विशेष गरी म्याग्दी र बागलुङका आन्तरिक पर्यटक दिनहुँ आउने गरेका स्वर्गाश्रम विकास समितिका अध्यक्ष रत्न जिसीले जानकारी दिनुभयो ।

चारैतिर घना जङ्गल, जङ्गलको बिचमा चेप्टो बेल आकृतिको विशाल ढुङ्गा रहेकोले यस स्थानलाई बेलढुङ्गा नामाकरण गरिएको छिमेकी जिल्ला बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका वडाध्यक्ष यामबहादुर श्रीषले बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button