पहिराका कारण १० घरघुरी उच्च जोखिममा

गलेश्वर । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामको राम्कुलीबोटमा पहिरो जाँदा १० घरधुरी उच्च जोखिममा परेका छन् ।

बस्ती माथिबाट खसेको पहिरोका कारण बस्ती नै जोखिम परेको हो । सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासीको भनाइ छ । “गाउँको सिरानमा पहिरो आएकाले बस्ती नै जोखिममा परेको छ”, स्थानीयवासी कृष्ण गुर्बजाले भन्नुभयो, “बस्ती नै जोखिममा परेपछि सबै जना त्रसित भएका छन् ।”

भिरालो जमिन, कमजोर भूबनोट र बलैटे माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत पुरेको छ । पहिरोका कारण कृष्ण गुर्बजा, लालप्रसाद गर्बुजा, शिव गर्बुजा, डम्बर गर्बुजा, खड्क गर्बुजा, खविर तिलिजा, चन्द्र शेरपुञ्जा, केआइसिङ गर्बुजा र रनबहादुर गर्बुजाको घर उच्च जोखिममा परेको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो । “उनीहरुको घर चर्किएको छ, बस्ती नजिकैको जमिन पनि चिरा चिरा परेको छ”, उहाँले भन्नुभयो, “पहिरो नियन्त्रणका लागि तत्काल आवश्यक पहल नगरे कुनै पनि बेला थप क्षति हुन सक्छ ।”

पहिरोले दर्मिजा लैजोनमा विद्युत्का आठ वटा पोलमा क्षति पुगेको छ भने दग्नाम गाउँको २ वटा पोलमा असर गरेको छ । पहिरोले देउमान गर्बुजाको गोठमा ढुङ्गामाटो थुप्रिएको छ । त्यस्तै यामकुमार गर्बुजा, कृष्ण गर्बुजा, पविन गर्बुजा, टिका गर्बुजालगायत स्थानीयवासीको खेतबारी समेत पुरेको छ । पहिरो नियन्त्रण तथा क्षतिको विवरण सङ्कलन गरिने रघुगङ्गा गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button