म्याग्दीका बाढीपहिरो पीडितलाई ३४ लाख सहयोग

गलेश्वर । म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब साढे ३४ लाख सहयोग गरेका छन् ।

म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई रु ३४ लाख ४५ हजार सहयोग प्रदान गरेको हो । गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरि, मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कले स्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरिमा मृतकका परिवार, घाइते र चार जना सुत्केरीलाई २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई ११ लाख सहयोग गरेको छ । त्यस्तै मालिका गाउँपालिकामा मृतकका परिवार र घाइतेलाई ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई १३ लाख २५ हजार, मङ्गला गाउँपालिकामा १५ घरधुरीलाई ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई ३० हजार तथा उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई रु ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका १९ परिवारलाई दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो ।

पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई रु २५ हजार, प्रतिमृतक परिवारलाई रु १० हजार, प्रतिघाइते व्यक्तिलाई रु १० हजार र प्रति सुत्केरी महिलालाई रु १० हजारको दरले सहयोग गरिएको उहाँको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यान गुमाएकालाई रु १५ हजार, तीन जनालाई रु २० हजार र चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button