केरा खेतीमा खपटे घुन र गबारोको प्रकोप- किसान चिन्तित

गलेश्वर । म्याग्दीमा गरिएको व्यावसायिक केरा खेतीमा खपटे घुन र गवाँरो रोगको प्रकोप देखिएको छ ।

जिल्लाको बेनी नगरपालिका २ खबरा, बगरफाँटका साथै मङ्गला र मालिका गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केराखेतीमा रोगको प्रकोप देखिएपछि किसानहरु चिन्तित भएका छन् ।

केरा गाउँको रुपमा परिचय बनाएको बेनी नगरपालिका २ खबरा गाउँमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाएको केराका बोट सुक्न थालेका छन् । केरा खेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका खबराका सोवित शर्मा केराका बोट नपसाउँदै सुक्न थालेपछि चिन्तित हुनुहुन्छ । उँहाले सात रोपनीमा केरा खेती गर्नुभएको छ ।

खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेशा सङ्कटमा परेको शर्माले बताउनुभयो । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । शुरुआतमा सामान्य देखिएपनि केही समय पछि भने खेतीमा ठुलो क्षति पु¥याएको उहाँको भनाइ छ ।

हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको छ । उँहाले भन्नुभयो, “झ्याङ भएको केरामा किरा र रोग लागेपछि शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरी काँटछाँट, सफाई गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कदै आएको कृषक शर्माले जानकारी दिनुभयो ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका अर्का कृषक हिरा कुवँरले गुनासो गर्नुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन शुरू गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उहाँले भन्नुभयो । बेनी नगरपालिकासँगै जिल्लाका मालिका, अन्नपुर्ण, रघुगङ्गा र मङ्गला गाउँपालिकाका किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button