यसरी हुँदैछ पोखराबाट देशभर सार्वजनिक यातायात सञ्चालनको तयारी

प्रभु अधिकारी / पोखरा न्यूज । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रा.लि. ले असोज १ गतदेखि पोखरा लगायत देशैभर सवारीसाधन सञ्चालनमा ल्याउनको लागि अन्तिम तयारी गरेको छ  ।

कम्पनीको पोखरा स्थित कार्यालय भवन अघि गुडाउनका लागि तयार राखेका गाडीहरुमा निसंक्रमण गरेर देखाउदै कम्पनीका अध्यक्ष योगेन्द्र बहादुर केसीले आफुहरु १ गतेबाट देशभर सवारीसाधन संचालनको अन्तिम तयारीमा जुटेको बताउनुभयो ।

अध्यक्ष केसीले सवारीसाधनमा यात्रु चढ्नु अघि पूर्ण रुपमा निसंक्रमित गरेर मात्र यात्रु चढाउने र यात्रु झरेपछि पनि निसंक्रमित गर्ने बताउदै सुरक्षाका सम्पूर्ण मापदण्ड पुरा गरेर नै सवारीसाधन संचालनमा ल्याइने जानकारी दिनुभयो । “हामीहरूले नेपाल सरकारले जारी गरेको कोभिड १९ सार्वजनिक यातायात सञ्चालन कार्यविधि निर्देशिका भित्र रहेर उच्च सुरक्षा र सावधानी अपनाउँदै प्रति २ सिटमा १ जना राखेर सवारीसाधन सञ्चालन गर्छौ । “उहाँले भन्नुभयो “निसंक्रमित अथवा स्यानीटाइज गर्ने कार्य हामीले गर्छौ, यात्रुहरुले आनिवार्य रुपमा मास्क लगाउनुपर्ने हुन्छ ।“

निजी सवारीसाधनलाई थुनछेक बिना सुरक्षाका मापदण्ड नअपनाई ५ /७ हजार चर्को भाडा उठाएर यात्रु ओसार्न दिने तर सुरक्षा अपनाएर सार्वजनिक सवारीसाधन सञ्चालन गर्छौ भन्दा सरकारले चाँसो  नदिएको भन्दै अध्यक्ष केसीले गुनासो समेत व्यक्त गर्नुभयो ।

यातायात व्यवसायी र मजदुरलाई कोरोनाले भन्दा पनि भोकले मर्न नदिनका लागि सवारीसाधन सञ्चालन गर्ने निष्कर्षमा पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष एवं कम्पनीका प्रमुख सल्लाहकार ऐन कुमार साईले बताउनुभयो ।

“झन्डै ६ महिनादेखि यातायात व्यवसायीहरू आफ्ना साधनहरू घर ग्यारेजमा थन्क्याएर राख्दा समेत कोरोना संक्रमण घट्नु भन्दा झन् बढेको छ”, साईले भन्नुभयो, “कोरोनाका कारण भन्दापनि भोकका कारण  यातायातका मजदुर र स्वरोजगार व्यक्ति मर्ने अवस्थामा नहोस भनेर देशभर यातायात संचालन गर्न लागेका हौँ।“

महासंघले देशका सातवटा प्रदेशभर असोज १ गतेबाट सार्वजनिक सवारी संचालन गर्ने निर्देशन गरिसकेको बताउदै साईले यदि सरकारले १ गतेबाट सवारीसाधन संचालन गर्न नदिने हो भने यातायात व्यवसायी र आश्रित मजदुरलाई राहात प्याकेज ल्याउनुपर्ने बताउनुभयो । सरकारले मजदुर र मजदुरमा आश्रित परिवारलाई बाच्ने आधार सरकारले तयार गर्नुपर्ने उहाँको भनाई  छ । पोखरामा गण्डकी इको टेक्नोलोजी प्रा.लि ले कम्पनीका सवारीसाधनमा सेनिटाइजेसन मार्फत निसंक्रमितको प्रक्रिया प्रदर्शन गरेर देखाएको थियो ।

पृथ्वी राजमार्ग बस व्यवसायी कम्पनीले देशभर १४ सय सवारी सञ्चालन गर्दै आएको छ । “नेपालमा करिब ४ लाख यातायात व्यवसायीहरू रहेको र ती ४ लाख व्यवसायीले १२ लाख जनालाई प्रत्यक्ष रोजगार दिएको बताउदै कम्पनिले  १२ लाख मजदुरका घर परिवार गरी ४० देखि ४२ लाख मानिस कोरोनाका कारण मारमा परेको बताउदै आएको छ ।

कास्कीमा भने प्रशासनले भदौ २७ गते राती १२ बजेदेखि सार्वजनिक सवारी संचालन गर्न भनिसकेको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button