पोखरा २२ स्थित घरमा भुवाङ पर्दा विक परिवारको बिचल्ली, सहयोगका लागि अपिल

प्रभु अधिकारी / पोखरा न्यूज । पोखरा महानगरपालिका २२ पिपलडाली स्थित पाँच बोटेका धानिराम विक को घरकै मुनि एक्कासि भुवाङ पर्दा घरपरिवार बिचल्लीमा परेका छन् ।

सोमबार दिउसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो आवाज निस्किएर भुवाङ परेकोमा मङ्गलवार बिहान सम्म भुवाङ बढेर ठुलो रूप लिएपछि घर छाडेर हिँड्नुपरेको विक ले बताउनुभयो । बाबुबाजेको पालादेखि बस्दै आएको थाक थलोमा एक्कासि भुवाङ परेपछि आफूहरू बिचल्लीमा परेको भन्दै उहाँले सहयोगका लागि अपिल समेत गर्नुभयो। “म उमेरले ५६ वर्षको भए , यही जन्मे हुर्के मेरा छोरा नाति पनि यही ठाउँमा हुर्के तर आज नसोचेको यसरी आँखा अघि नै घरमुनि भुवाङ पर्‍यो, अव कहाँ जाने जाने ठाउँ छैन,” विक ले भन्नुभयो । आफ्ना बाबुबाजेको पालादेखि बस्दै आएको ठाउँमा यस अघि भुवाङ पर्ने खाडल पर्ने जस्ता केही पनि समस्या नरहेकोले छोराहरूले पनि सोही ठाउँमा घर बनाएको उहाँले बताउनुभयो ।

आफ्नो कान्छो छोराले पुर्खौली घरकै आडमा ऋण गरेर बनाएको घरमा ८ महिना नपुग्दै भुवाङ परेको र जेठो छोराको परिवार र आफूहरू बसेको घरमा समेत चिरा परेपछि १२ जनाको परिवार घर छाड्न बाध्य भएको धनिराम की श्रीमती राधिका विक ले बताउनुभयो । “कान्छो छोराले ऋण गरेर ८ महिना अघि मात्र १४ लाख खर्च गरेर घर बनायो, ठुलो छोराको घर र बुढ्यौली घर सबै चर्कियो”, राधिकाले रुँदै भन्नुभयो, “अव हामीलाई कसले हेर्छ ?” पुस्तौँदेखि बस्दै आएको ठाउँमा भुवाङ परेपछि हेर्न आएका वडा सदस्य मात्रिका बरालले अहिले छाप्रो बनाएर बस्नु हामी सहयोगको पहल गर्छौ भनेर फर्किएको राधिकाले बताउनुभयो । आफ्नो परिवार दैनिक ज्याला मजदुरी गरेर खाने परिवार भएको र कोरोनाले गर्दा थलिएर बसेको अवस्थामा आफूहरूमाथि अर्को बज्रपात परेको भन्दै उहाँले सबैलाई सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।

पोखरा २२ का वडा सदस्य मात्रिका बरालले आफुँले विक को परिवारलाई भेटेर सुरक्षित स्थानमा सर्न भनेको बताउनुभयो । “वडा प्रहरी प्रमुखसहित हामी घटनास्थलमा पुगेका थियौ, उहाँहरूलाई तत्काल सुरक्षित स्थानमा सर्न भनेका छौ,” सहयोग के गर्ने भन्ने बारेमा हामी छलफल गर्नेछौ ।“

यता पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले आफुँले घटनाको बारेमा थाहा नपाएको भन्दै यदि पीडितलाई गाँसबासको समस्या भएको भए तत्काल अस्थायी बसोबासका लागि प्रबन्ध मिलाउने तथा थप पहल गर्ने बताउनुभयो ।
“यस्तो कुरा वडाबाट हामीलाई जानकारी हुनुपर्थ्यो, वडाले जानकारी किन गराएन?” उहाँले प्रश्न गर्दै भन्नुभयो, “ तपाइहरूले जानकारी गराउनुभयो हामी केही पहल गर्छौ ।“

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button