पर्वत फलेवासका ७ वटा बस्ती सार्न सिफारिस

पर्वत । यसवर्ष अत्याधिक वर्षा भयो, असोज महिना लाग्दा पनि वर्षा र पहिरोले धनजनको क्षति गरिरहेको छ ।

भाद्रको अन्तिम सातामा समेत सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लाका अधिकाशं पहाडी भागमा पहिरोकै खस्दा मानवीय र भौतिक क्षति देशले भोग्नु परेको छ । यसैक्रममा लगातारको वर्षासँगै पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार बस्ने गर्छन । बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं ४ मुडिकुवाको चुरी, वडा नंं १० कुर्घाको फल्ला, वडा नं २ थापाठानाको दरदरे, वडा नं ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको नगरप्रमुख शर्माले जानकारी दिनुभयो । अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् । सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् ।

सङ्घ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताउनुभयो । त्यस्तै बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ ।

अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमबार वडा नं ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो । सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button