जस्ले नयाँ बाटो पहिल्याउँछ उही अगाडि बढ्छ : निर्देशक लामिछाने

पोखरा न्यूज ।यतिबेला कोरोना महामारीका कारण सबै क्षेत्रमा प्रभाव परेको छ । यसले धेरैजनाको जनजीवनलाई नराम्ररी प्रभाव पारेको छ । यसबाट नेपाली चलचित्र क्षेत्र समेत अछुतो रहने कुरै भएन । जसका कारण चलचित्रकर्मीलाई चिन्ता थपेको छ । यसरी प्रभावित बनेको नेपाली चलचित्र पुरानै अबस्थामा फर्कन अझै केही समय लाग्ने देखिन्छ । अवस्था सामान्य भएपछि नेपाली चलचित्रको अबस्था विगतको भन्दा झनै झाङिएर जाने युवा निर्देशक घनश्याम लामिछानेको विश्वास छ ।

उहाँ भन्नुहुन्छ–“नेपाली चलचित्रमा नयाँबजार आजको आबश्यकता बनेको छ । अब थुप्रै डिजिटल प्लेटफर्म आउने छन् । एउटै धार र उही बाटो हिड्ने दिनसकिएका छन् । जस्ले नयाँ बाटो पहिल्याउँछ उही अगाडि बढ्ने सम्भावना देखेको छु । केही समय पश्चात नेपाली चलचित्र क्षेत्रले सफलता हात पार्दै कोरोनाले सिर्जना गरको घाउ बिर्साउने छ । तर त्यो दिनको प्रतीक्षा सबैले गर्नुपर्ने देखिन्छ ।”

पोखरा स्थायी घर भएका लामिछाने विगत ३ वर्षदेखि कामको सिलसिलमा काठमाडौ बस्दै आउनुभएको छ । लकडाउनको बेला पोखरामा रहनुभएका लामिछानेले सुरुका दिन नितान्त घर परिवारसँगै बिताउनुभयो । यहिबेला केही भिडियोहरु खिचेर सोसल मिडिया र अनलाइन मार्फत पस्कनुभयो । लकडाउनका सुरुका दिनमा करिब २ महिना पछि काठमाण्डौबाट सिरियलको सुटिङ गनुपर्ने भयो भनेर प्रदीप भारद्धाजको फोन आयो । अनि काठमाण्डौँमा पुगी सिरियलको काममा लामिछाने व्यस्त हुनुभयो ।

‘अहिलेको अबस्था काम नगरी नहुने र काम गर्दा कोरोनाको संक्रमणमा परिने खतरापूर्ण स्थिति छ । मैले काम गर्न रोक्दा मसँग सम्बन्धित अरु ३०–३५ जनाको गाँस रोकिने अबस्था देखे, त्यसैले अब उच्च सतर्कता अपनाउदै सानो प्राबिधिक टिम लिएर काम अगाडि बढाउन खोज्दैै छु’ उहाँले भन्नुभयो ।

सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर आफ्नो काममा फर्कनुको विकल्प नदेखेको उहाँ बताउनुहुन्छ । ‘सम्भव हुन्छ भने अति आवश्यक काममा बाहेक बाहिरी सम्पर्क गर्दै नगरम् । हुनत अझै २–४ महिना लकडाउन भएपनि बाच्न सकिएला तर यो कोरोना २–४ वर्षसम्म रह्यो भने के गर्ने ? कुनैपनि विकल्प छैन त्यसैले आत्मबल उच्च राख्दै सतर्कता साथ अघि बढ्नुको विकल्प छैन’ उहाँको तर्क छ ।

यतिबेला उहाँ भने टेली सिरियल निर्देशनमा व्यस्त हुनुहुन्छ । उहाँको निर्देशनमा ‘आधा खुशी’ टेली सिरियल निर्माण भइरहेको हो । कोरोना महामारीका कारण चलचित्र बजार बन्द जस्तै भएको अबस्थामा टेलिभिजनतर्फ दर्शकको आर्कषण बढेको ठानेर सिरियल सुरु गरेको निर्देशक लामिछाने बताउनुहुन्छ । स्थापित बनीसक्नुभएकी निर्माता प्रज्ञा जोशीको सक्रियतामा अहिलेका व्यस्त तथा व्यवसायिक चलचित्र लेखक प्रदीप भारद्वाजको सहयोगमा यो सिरियल गर्न थालेको उहाँको भनाई छ ।
यो पारिवारिक प्रेम कथामा आधारित सिरियल हो । जसमा नेपाली चलचित्र क्षेत्रका हस्तिहरुको उपस्थिति रहनेछ ।

हाल निर्माण भइरहेका सिरियल भन्दा निकै माथी उठेर ‘आधा खुशी’ निर्माण हुने निर्देशक लामिछानेको दावी छ ।महिनामा १२ भाग आउने सिरियलमा नयाँ पुस्ताले चाहेको स्वाद र शैली पाउनेछन् । सिरियलमा हरि घले लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, बिकास चौधरीको संगीत, प्रबिसा अधिकारीको स्वर, जुमिन गहतराजको रङ संयोजन रहनेछ ।

प्रज्ञा फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेकोे सिरियलमा अभिनेता सरोज खनाल, प्रज्ञा जोशी, रिस्ता बस्नेत, लय संग्रौला, लव शर्मा, भाबु लम्साल,सुष्मा कार्की, तेज गिरी, पुष्प, दिपेश लामिछाने, निभा अधिकारी, विष्णु गौतम, संगीता बस्याल, राजेन्द्र थापा, राजकुमार फ्युयाल आदिको अभिनय हेर्न पाइनेछ । सिरियलको १२ भागको छायांकन सकिएको निर्देशक लामिछानेले बताउनुभयो ।

आफुलाई चलचित्रकर्मी भन्न रुचाउने लामिछाने निर्देशन पेशामा बिगत दुई दशकदेखि सक्रिय हुनुहुन्छ । लामिछानेले वि.स.२०५७ सालमा पोखराबाट ‘प्रेम मिलन’ चलचित्रको लेखन निर्देशन गरी नेपाली चलचित्रको क्षेत्रमा आफ्नो अस्तित्व खोज्न संघर्ष सुरु गर्नुभएको थियो । यो बीचमा आफ्नो छुट्टै पहिचान बनाउन उहाँ सफल हुनुभएको छ ।

उहाँले २०५८ सालमा ‘प्रेम पागल’ चलचित्रको लेखन निर्देशन गर्नुभयो । २०५९ सालमा गुरुङ फिल्म ‘रोधी’ को पटकथा संवाद र निर्देशन गर्ने मौका उहाँले पाउनुभयो । २०६० सालमा गुरुङ संस्कृतिमा आधारित नेपाली फिल्म ‘च्यागी’ को निर्देशन गर्नुभयो भने ‘कर्मधि’ चलचित्र लेख्नुभयो । उहाँले निर्देशन गरेका नेपाली चलचित्र धौली, पन्चेबाजा र अग्नीदहन दर्शकले रुचाए ।
२०६० सालमा ‘सिङ्गम साक्ष मनाङ’ र २०६५ सालमा ‘लभ्ली पोखरा’ वृत्तचित्र मार्फत चिनिनुभएका उहाँलाई ‘आई एम खगेन्द«’ वृत्तचित्रले समेत धेरै माझ चिनायो । उहाँ रगंमञ्चमा समेत उतिकै सक्रिय हुनुभएको छ । हालसम्म एक दर्जन स्टेज नाटक लेखन, अभिनय र निर्देशन गरी रंगमञ्चतर्फ समेत उहाँले बेग्लै छाप छोड्नु भएको छ । यो बीचमा उहाँ म्युजिक भिडियो निर्देशनमा समेत उतिकै व्यस्त हुनुभयो ।

‘यो दुई दशकमा मैले पाएको ठूलो उपलब्धि भनेको मेरो आत्मसन्तुष्टि हो । यो बाहेक २०५१ सालमा ‘मूर्ख मान्छेको’ नाटकबाट आज ‘आधा खुशी’सम्म आइपुग्दा विभिन्न संघ सस्थाबाट सम्मानीत हुने सौभाग्य पनि मिलेको छ’ उहाँले भन्नुभयो ।
२०७४ सालमा उहाँले निर्देशन गरेको चलचित्र अग्निदहनलाई चलचित्र विकास बोर्डले विशेष चलचित्र अवार्डले सम्मानीत गरेको थियो । आठौं डि–सिने अवार्डमा चलचित्र धौलीका लागि मौलिक चलचित्र निर्देशन सम्मान २०७३ उहाँले प्राप्त गरिसक्नु भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालद्वारा सम्मानित भइसकेका उहाँले सम्पदा उत्कृष्ट निर्देशक अवार्ड २०७६ हात पार्नुभयो ।

यसका अलावा उहाँ सम्मिलित केही छोटा चलचित्र र बृत्तचित्रहरुले समेत विभिन्न अवार्ड पाइसकेका छन् । निरन्तर चलचित्र क्षेत्रमा अगाडि बढ्दै दर्शकलाई नयाँपनको आभाष गराउन लागि पर्ने उहाँको भनाई छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button