गण्डकी बहुप्राविधिकमा पढ्ने विद्यार्थीलाई वडा कार्यालयको छात्रवृत्ति

पोखरा । पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा सिभिल तथा अटो मोबाइल इन्जिनियरिङ अध्ययनका लागि वडा कार्यालहरुले समेत छात्रवृत्ति दिने भएका छन् ।

वडा नम्बर १३ का वडा अध्यक्ष लेखबहादुर तामाङ ‘दर्शन लामा’ ले फेसबुकमा स्टाटर्स लेख्दै छात्रवृत्ति सम्बन्धी सूचना सार्वजनिक गरेका छन् । उक्त सूचनामा भनिएको छ, ‘पोखरा महानगरद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयद्वारा आह्वान गरिएको सिभिल र अटो मोबाइल विषयमा छनोट भएका विद्यार्थी मध्ये वडा नम्बर १३ स्थायी निवासी एक विपन्न तथा जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको तर्फबाट तीन वर्षे कोर्ष छात्रवृत्ति प्रदान गरिने छ । ’

वडा नम्बर १९ का अध्यक्ष तथा सचेतक शोभामोहन पौडेलले फेसबुक स्टाटर्समा लेखेर छात्रवृत्तिको समन्वय गरिदिन वडा कार्यालयहरुलाई आह्वान गरेका छन् । वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले वडामा बसोबास गर्ने अति विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राथमिकता दिएर छात्रवृत्ति उपलब्ध गराउने बताए । वडा नम्बर २८ का अध्यक्ष निर्मल दियाली सुनारले आफ्नो वडाका २ जनालाई निशुल्क पढाउने बताए ।

वडा नम्बर ५, ७, १३,१८,२०,२१,२४,२६,२७, २८,२९,३०,३१ का वडा अध्यक्षहरुले प्रवेश परीक्षामा उत्तीर्ण हुने एक जना आफ्नो वडामा स्थायी बसोबास भएकाहरुलाई छात्रवृत्ति उपलब्ध गराउने पोखरा महानगरपालिका शिक्षा महाशाखाले बताएको छ । वडा नम्बर १,१६,१७,१९,२२,३२,३३ लगायतका वडाहरुले पनि एक जनालाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा वडा कार्यालयमा छलफल भइरहेको बताएका छन् ।

यो बाहेक गण्डकी बहुप्राविधिक शिक्षालयले सिटिइभिटीबाट छनोट भएर आएका प्रति संकाय ४ जना, प्रवेश परीक्षा उत्कृष्ट हुने प्रति शंकाय एक जना, महानगर छात्रवृत्ति प्रति संकाय ५ जना तथा महानगर सहुलियत कोटामा ६ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षालय सञ्चालक समितिका सदस्य एव वडा नम्बर २९ का अध्यक्ष चेतबहादुर गुरुङले बताए । शिक्षालयले एक सूचना जारी गरेर असोज १५ गतेसम्म भर्नाका लागि आवदेन दिन सकिने बताएको छ ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button