बागलुङ बुर्तिवाङ बजारको स्वास्थ्य केन्द्रमा ५ शय्याको कोरोना अस्पताल

गलकोट । बागलुङ जिल्लाको पश्चिम क्षेत्र बुर्तिवाङमा पाँच श्ययाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । बिहीबारदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच श्ययाको अस्थायी कोरोना अस्पताल सञ्चालनमा आएको हो ।

अहिले स्थापना भएको अस्थायी कोरोना अस्पताललाई कोरोना महामारीपछि स्थानीय तहको अस्पतालमा परिणत गरिने बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा मिलन मल्लले बताउनुभयो । स्वास्थ्य केन्द्रलाई देशकै नमूना बनाउने उद्देश्यले उपकरण तथा सेवा सुविधा थप्दै गएको उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रका रुपमा भए पनि तत्कालै सरकारले अनुमति दिएमा १५ श्ययाको नगर अस्पताल बनाउनका लागि पूर्वाधार, जनशक्ति तथा उपकरण तयार रहेको छ ।

स्वास्थ्य केन्द्रमा हिमालय आँखा अस्पताल पोखराको प्राविधिक र उपकरण सहयोगमा आँखा जाँच सेवा र ढोरपाटन नगरपालिकाको सहयोगमा दन्त सेवासमेत शुरु गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । पश्चिम क्षेत्रका जनताले उपचारका नाममा धेरै समस्या भोगिरहेको समयमा नगरपालिकाले नगर अस्पताल बनाउने योजनाका साथ उपकरण तथा जनशक्ति थप गर्दै सेवा विस्तार गरिरहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिनुभयो । अस्पतालमा हाल तीनजना मेडिकल अधिकृतसहित स्वास्थ्यकर्मी रहेका छन् । पछिल्लो समय अस्पतालले शल्यक्रियाबाटै प्रसूतिसमेत गराउन थालेको छ ।

स्थापना गरिएको कोरोना अस्पतालका लागि एक मेडिकल अधिकृत, दुई नर्स र एकजना कार्यालय सहयोगी राखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा मल्लले जानकारी दिनुभयो । अस्थायी कोरोना अस्पतालका लागि नेपाल सरकारले रु पाँच लाख बराबरको औषधि तथा उपकरण र अस्पतालमा आवश्यक थप स्वास्थ्य सामग्रीका लागि पाँच लाख बजेट थप भएर आउन थालेको मल्लको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा थपिएपछि जनतालाई थप राहत मिल्ने अपेक्षा लिइएको छ । आँखाको उपचार र दन्त सेवा प्रवाहका लागि एक/एकजना प्राविधिकको व्यवस्था गरिएको छ । केन्द्रमा बिहीबारदेखि नै २४ घण्टे ल्याब तथा एक्स-रे सेवा दिन थालिएको छ । केन्द्रको आइसोलेसनबाट हाल ५६ जना सङ्क्रमितले स्वास्थ्य लाभ गरी घर फर्कनुभएको छ ।

अस्पतालमा हाल प्रसूति, शल्यक्रिया, इमेरजेन्सी सेवा, स्वास्थ्य बीमा कार्यक्रम, उपचार तथा औषधि वितरण, ल्याब सेवासहित ओपिडी सेवा, भिडियो एक्स-रे तथा एक्स-रे सेवा, शवपरीक्षण लगायतका सेवा प्रदान गरिँदै आएको छ । यसअघि लक्षण देखिएका सङ्क्रमितलाई धौलागिरि अस्पतालमा पठाउने गरिएको थियो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button