यही संविधानको जगमा टेकेर समाजवादको लक्ष्यमाः पूर्वप्रम नेपाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यही संविधानको जगमा टेकेर समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताउनुभएको छ ।

छैटौ संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यही संविधानको जगमा टेकेर आर्थिक, सामाजिक रूपान्तरण, विकास, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्दै समाजवाद निर्माणको लक्ष्यमा अगाडि बढेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले केन्द्रीकृत शासन व्यवस्थाको स्थानमा सङ्घीय शासन प्रणालीको व्यवस्था गर्नु यस संविधानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै संविधान कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा पनि पछिल्लो पाँच वर्षमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो ।

ठूलो बलिदानी र संघर्षबाट प्राप्त यो संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबैलाई आह्वान गर्दै उहाँले सन्देशमा भन्नुभएको छ, “ यस दिनले हामीलाई शान्त, समुन्नत र समृद्ध नेपाल निर्माणमा लाग्न थप प्रेरणा दिने मेरो विश्वास छ ।”

पूर्वप्रधानमन्त्री नेपालले जनप्रतिनिधिबाट तर्जुमा भएको संविधानबाट शासित हुने जनताको सात दशक लामो चाहना यही संविधानमार्फत पूरा भएको उल्लेख गर्दै सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी कामना गर्नुभयो ।

“नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमात्र संस्थागत गरेको छैन, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, कानूनी राज्य जस्ता लोकतन्त्रका आधारभूत मूल्यमान्यताको जगमा सुशासन र समृद्धि हासिल गर्नका लागि मार्ग प्रशस्त गरेको छ”, सन्देशमा उहाँले भन्नुभएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button